एटा संवाददाता ।
लण्डन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लण्डन उत्रेका छन् । उनी शुक्रबार २३ अगष्ट साँझ लण्डनस्थित हिथ्रो एयरपोर्टमा उत्रेका हुन् । उनी तमु धिं युकेको आयोजना र नेपाली राजदूतावास लण्डनको सहकार्यमा सम्पन्न हुन लागेको ११ औं नेपाली मेलामा सहभागी हुन धर्मपत्नी कुमारीमुनी गुरुङसंग बेलायत आएका हुन् । सम्भबत: उनि बेलायत भ्रमण गर्ने नेपालका पहिलो मुख्यमन्त्री पनि हुन् ।
उनको स्वागतार्थ तमु धिं युके अध्यक्ष नन्दजङ्ग गुरुङ, नेपाली राजदूतावास लण्डनका उप नियोग प्रमुख शरदराज आरण, थर्ड सेक्रितारी तिजेन्द्र रेग्मी, मन्त्रीका सहपाठी एवं पूर्व प्रअ एकेन्द्र गुरुङ, एनआरएनए आईसिसि उपाध्यक्ष कुल आचार्य, तमु धिं युके पूर्व अध्यक्ष मेजर डमर घले एमबीइ, रामचन्द्र (सुर्जे) गुरुङ, निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष एवं नेपाली मेला संयोजक जुमकाजी गुरुङ, सल्लाहकार, आजीवन सदस्य, तमु फोरम युकेका निर्देशक क्या राजु गुरुङ लमजुंग समाज युके अध्यक्ष विश्वजंग गुरुङ, आफन्तजनहरु लगायत हिथ्रो एयरपोर्ट पुगेका थिए ।
नेपाली मेला नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने मूल उद्देश्यका साथ आउँदो आइतबार २५ अगष्टका दिन लण्डनस्थित क्याम्पटन पार्कमा आयोजना हुदैछ । सन् २००९ साल देखि प्रत्येक बर्ष आयोजना हुदै आएको नेपाली मेलाले बेलायतमा नेपालीपनलाई जीवन्त राख्न, नेपालको पर्यटन बिकासमा सघाउ पु¥याउन, स्थानीय वासिन्दाहरुसंग इन्टीग्रेशन गर्न, युवा पुस्तामा नेपाली कला र संस्कृति हस्तान्तरण गर्न नेपाली मेलाले बिशेष भूमिका खेल्दै आएको धेरैको बुझाई छ ।
करीब एकहप्ता बेलायतमा रहने मुख्यमन्त्री गुरुङले बेलायतस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनेछन् । त्यस्तै, उनले गण्डकी प्रदेशमा लगानीको संभावना, नेपालको पर्यटन बिकास, नेपालको वर्तमान राजनैतिक परिस्थिति बारे जानकारी गराउन सक्ने धेरैको विश्वास छ ।








