धर्तीको पहिलो र अन्तिम घर

SHARE:

जयराम तामाङ
पृथ्वीको अन्तिम ठाउँ अथवा धर्ती कहाँ टुंगिएको छ भनेर सायद कसैलाई पनि थाहा नहोेला । किनभने पृथ्वी गोलो छ । गोलो आकारको कुनै पनि वस्तुहरुको अन्त हुने ठाउँ कमै मात्र भेटिन्छ । कुनै कुनै देशहरुले आफ्नो देशको एक भाग समुद्रसँग जोडिएर त्यो भन्दा पर आफ्नो देशको जमिन छैन भने जमिनको अन्त अथवा ल्यान्ड्स एन्ड भनेर पर्यटकहरुको आकर्षणको केन्द्र बनाउँछन् । पृथ्वीको अन्त भएको ठाउँ अर्थात् जमिनको अन्त भएको ठाउँमा जाने मौका मिलेकोले केही मेरो जिज्ञासाहरु प्रस्तुत गर्न गइरहेको छु ।

वैज्ञानिकहरुले सूर्यको एक टुक्रा उछिट्टिएर पृथ्वी बनेको हो र करोडौं वर्षमा बिस्तारै जीवजन्तुहरु विकसित हुँदै अहिलेको अवस्थामा आइपुगेको हो भनेका छन् । तर धर्मशास्त्र बाईबलले परमेश्वरले सिर्जना गरेको हो र पृथ्वीमा जति पनि भएका जीवजन्तुहरु परमेश्वरले नै सृष्टि गरेको हो भनी लेखेका छन् ।

सधैंजस्तै यो वर्ष पनि गृष्मऋतु छुट्टि मनाउन बच्चाहरुको साथमा कोर्नवाल जाने मौका मिल्यो । तीन चार महिना अगााडिदेखि काममा छुट्टि मिलाएर हामी १० जनाको समूह बनाएर प्लिमाउथ भन्ने ठाउँमा पाँच दिनका लागि घर बैना गरेका थियौं । खानेकुरा, लुगाहरु पोका पुन्तुरो बनाएर बिहानै खाजा खाएर दुईवटा गाडीमा हुइँकियौं । एम चार, एम पाँच अनि अठ्तीस नम्बरको बाटो हुँदै गन्तव्य पुगियो । तर, जीपीएस भन्ने निर्जीव जन्तुको सहरमा गएकोले धेरै ठाउँमा झुक्याए पनि उसले आफ्नो धर्म नछाडीकन घुमाएर भए पनि ठाउँमा नै पुर्‍याइछाड्यो ।

 

हाम्रो देशका सजीव जन्तुहरुले एउटा देश भनी अर्को देशमा लगेर अलपत्र पारी करोडौ रुपैयाँ ठगी गर्नेभन्दा त निर्जीव वस्तुले पनि आफ्नो गन्तब्यमा पुर्याएको देख्दा ती दलालहरुको अमानवीय व्यवहारप्रति घिन लागेर आएको थियो । बरु ती दानवरुपी नरपिचासहरुका साथ लागेर बिचल्लीमा परेर सास्ती भोग्नुभन्दा त त्यही निर्जीव जीपीएसको साथ लाग्यो भने ठीक ठाउँमा त पुर्याउने रहेछ भन्ने मेरो मष्तिकमा कुरा खेल्न थालेको थियो । जब हामी बस्ने घरमा पुगेका थियौं घर वालाहरुले हाम्रो लागि ३ बोतल विभिन्न परिकारका रक्सीहरु स्वागतका लागि राखेका थिए । तर हामी कसैले नपिउने भएकोले आफैले लगेका पानी र जुस पिएर तिर्खा मेटायौं ।

हामीसँग समय अझै तीन÷चार घण्टा समय बाँकी रहेकोले त्यही नजीकको समुन्द्रतिर घुम्न जाने निर्णय लियौं । समुद्रमा खेल्न जाने भनेपछि केटाकेटीहरु सोहन, सञ्जिता, अरियाना अनि आदेश खुसीले गदगद हुँदै हाप कट्टु लगाएर तयार भए । केटाकेटीहरुमध्ये प्रेम गुरुङ भाइ र अम्बिका बहिनीको छोरा आदेश गुरुङचाहिँ सानो भएकोले घरी बोक्ने घरी हिँड्ने गर्नुपर्ने भएकाले बेलाबेलामा झगडा गरिरहन्थ्यो । हामी लोड्रेस दिदी, मेरी श्रीमती मन्जु, भान्जी निहा, लगायत सबैजना पैदल हिँडेर समुद्र किनारा सोध्दैखोज्दै गयौं तर जति हिँडे पनि पानी नदेखिएपछि सबै जनाको मुहारमा खिन्नता र थकानको भावले प्रस्ट देखिन्थ्यो । मैले यतै नजिकै होला हिँडेर जाउँ भनेर सबैजना हिँडेर गएकोले मलाई भने मैले किन हिँडेर जाउँ भन्यो होला भनेर पछुतो लागिरहेको थियो । अन्तमा समुद्र किनार भेटिए पनि जहाँ हिलो र फोहोर पानी मात्र थियो । केटाकेटीहरु निरास भएर रिसाउन थालेका थिए भने अरु पनि त्यही भावमा थिए । केटाकेटीहरुले समुद्रमा खेल्न भनेर बल पनि लगेका थिए तर खेल्न नपाएपछि तैँले बोक, मैले बोक गर्दै बल फालाफाल गर्दै थिए ।

प्रेम भाइ छोरालाई काँधमा बोकेर सास्ती खेप्दै उकालो लाग्दै थिए भने अरु पनि स्याँस्याँ र फ्याँफ्याँ गर्दै उकालो लाग्दै थिए । तर बल कसैको हातमा बल नदेखेपछि बल कहाँ पुग्यो ? भनेर खोजी गर्न थालियो । जाने बेलामा मेरो छोरा सोहनले बल बोकेकोले तैँले बल कहाँ फालिस् भनेर उसको कठालो समातेर बल खोज्न हिँड भनेर झड्काइदिए । बल भने निहा भान्जीले बोकेको झोलामा थियो । सोहन धेरै चित्त दुखाएर रुन थाल्यो । मलाई त्यसपछि सारै नमजा लाग्यो ।

हाम्रो होलीडेको पहिलो दिनमा नै नरमाइलो अनुभव महसुस भइरहेको थियो । केहीबेरमा प्रेम भाइ, लोड्रेस दिदी, निहा भान्जी अनि म खाने समानहरु किन्न दोकानतिर लाग्यौं । समान ल्याउँदा हामीले आईसक्रिम ल्याएका थियौं । घरमा आएपछि केटाकेटीहरुलाई आईसक्रिम दियौं, आईसक्रिम खान पाएपछि सबै पहिलेका कुराहरु बिर्सेर रमाउन थालेका थिए । घरमा मन्ज« र अम्बिका बहिनीले खाना तयार गरिसकेका थिए । म र प्रेम भाइले भोलि कहाँ जाने भनेर नक्साहरु र मौसम हेर्दै योजना तयार पार्‍यौं ।

घरमा घरवालाको बिरालो दिनभरि घुमेर बेलुका बास बस्न आउँछ भनेर पहिल्यै भनिसकेको थियो तर राति सुत्ने बेलामा एक्कासी बिरालो घरभित्र छिरेपछि केटाकेटीहरु डराएर चिच्याउँदै भागाभाग गर्न थाले । राति ट्वाइलेट जानेबेलामा अम्बिका बहिनी पनि बिरालो देखेर आत्तेर चिच्याएपछि सबै जना के भयो भनेर डरायौं । बिरालोले धेरै जनाको सात्तो खाइसकेको थियो ।

भोलिपल्ट बिहान उठेर आउँदा निहा भान्जीले चियापानी अनि खाजाहरु तयार गर्दै थिए । खाजा खाएर हामी अठ्तीस नम्बरको बाटो न्यूकितिर जाँदै थियौं, बाटोमा माथिबाट गाग्रोले पानी खन्याएजस्तै गरी आकाशबाट मूसलधारे पानीले बाटो पुरै अवरुद्ध बनायो । तैपनि अन्दाजको भरमा साँघुरो बाटोमा बिस माइल प्रतिघण्टाको दरले उही निर्जीव जन्तु जीपीएसको आदेश मान्दै अगाडि बढ्यौं ।

भाग्यबस हामी गन्तव्यमा पुग्दा घाम लागेर घमाइलो भइरहेको थियो । हावाले गर्दा समुद्र भने छिलिएर कहिल्यै भाङ नखाएको मान्छेले भाङ खाएर सेतो फिँज काढ्दै छादेजस्तै गरी सेतो फिँजसहित जमिनको भित्तासँग सिंगौरी खेल्दै थियो । न्यूकिमा आधा दिनको दृष्यावलोकनपछि भोकले रन्थनिएर सबैजना बेलायतको प्रसिद्ध खाना फिस एन्ड चिप्स अर्थात् तारेको आलु र तारेको माछा खाने ठाउँमा छिर्यौं । माछा र आलु खाएपछि हामीसँग अझै चार घण्टा जति समय भएकोले धर्तीको अन्त अर्थात् ल्यान्ड्स एन्डमा जाने निर्णय लियौं ।

एक घण्टाको हँकाईपछि धर्तीको अन्त भएको ठाउँमा पुग्नु आगवै छ पाउन्ड तिरेपछि मात्र छिर्न दिइयो । साँच्चै ठूलो ढोकामा ठूलो अक्षरमा ल्यान्ड्स एन्ड अर्थात् जमिनको अन्त भनेर लेखेको थियो । सबैले क्यामरामा तस्बिर कैद गरेपछि अगाडि बढ्यौं तर त्यो भन्दा अगाडि बढ्ने ठाउँ नै थिएन जमिनको अन्त भएको थियो । त्यो ठाउँमा पनि त्यही अघिको मातेको समुद्र लडीबडी खेल्दै थियो । जुन ठाउँबाट नेपाल चार हजार आठसय पैतीस माइलको दूरीमा थियो भने तीन हजार चार सय सात माइलको दूरीमा न्यूयोर्क थियो ।

छेउमै पहिलो र अन्तिम लेखेको घर थियो । मेरो अन्दाजमा त्यो घर जमिनको सुरुआत भएको ठाउँबाट गन्दा पहिलो नम्बरको घर हो भने जमिनको अन्तमा भएको घर पनि भएकोले पहिलो र अन्त घर भएको हुनु पर्छ । त्यस्तै गरी युरोपको अन्त पोर्तुगलको काबो द रोसामा भएको हो भन्दछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!