लन्डन । तमु फोरम यूकेले लेखन तथा प्रकाशन गर्न लागिएको गुरुङहरुको संस्कार र संस्कृति समेटिने त्रिभाषीय दस्तावेजको सामग्री संकलन अन्तिम चरणमा पुगेको छ । सो कुरा तमु फोरम निर्देशक क्या. राजु गुरुङले तमु फोरमका संरक्षक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई हालसम्म तयार पारिएको सामग्री प्रदान गर्दै सो जनाकारी गराएका हुन् ।

गत ७ अगस्टका दिन अल्डरसटस्थित दि प्यालेस रेस्टुरेन्टमा आयोजित संरक्षक डा. गुरुङलाई स्वागत तथा सम्मान गर्ने क्रममा सो सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा डा. गुरुङ हालै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा चयन भएकोमा बधाईसहित मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा डा. गुरुङले तमु फोरमको लेखनमा प्रकाशन हुन लागेको त्रिभाषीय पुस्तकको बारेमा बोल्दै यसले गुरुङहरुको संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा विभिन्न बिषयका लेखकहरुको समेत विशेष उपस्थिति रहेको थियो ।
तमु फोरम यूके निर्देशक क्या. राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई फोरमका सहनिर्देशक हरि गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






