एन्टिगुवा । विराट् कोहली भारतका लागि विदेशी भूमिमा धेरै जित दिलाउने कप्तान बनेका छन् । एन्टिगुवामा वेस्टइन्डिजलाई तीन सय १८ रनको फराकिलो अन्तरले पराजित गरेपछि कोहलीले कप्तानका रूपमा विदेशी भूमिमा भारतलाई सर्वाधिक सफलता दिलाउने रेकर्ड बनाएका हुन् । कोहलीको कप्तानीमा भारतले घरबाहिर १२औँ जित निकालेको छ । यससँगै कोहली सौरभ गांगुलीको नाममा रहेको ११ टेस्ट जितको कीर्तिमान आफ्नो नाममा बनाउन सफल रहे ।
सन् २०१४ मा कप्तानको जिम्मेवारी पाएका कोहलीले अहिलेसम्म घरबाहिर २७ टेस्ट खेले । उनले पूर्वकप्तान गांगुलीको भन्दा एक टेस्ट कम खेल्दै यो सफलता चुमे । गांगुलीले २८ टेस्टमा विदेशी भूमिमा भारतलाई ११ जित दिलाएका थिए । अब कोहलीको लक्ष्य महेन्द्रसिंह धोनीको रेकर्ड तोड्नु हुनेछ । धोनीले आफ्नो कप्तानीमा भारतलाई समग्रमा २७ टेस्टमा जित दिलाएका थिए । सन् २०१४ को सिड्नी टेस्टअघि धोनीले एक्कासि कप्तानबाट राजीनामा दिँदै टेस्ट क्रिकेटबाट अप्रत्याशित रूपमा सन्न्यास लिएका थिए ।
धोनी विदेशी भूमिमा धेरै कप्तानी गर्ने खेलाडी हुन् । उनको कप्तानीमा भारतले विदेशी भूमिमा ३० टेस्ट खेल्यो, जसमा केवल ६ खेलमा मात्र जित दिलाउन धोनी सफल भए । यसैगरी, राहुल द्रविडको कप्तानीमा भारतले १७ टेस्टमा पाँच जित हात पार्यो ।
भारतले टेस्ट इतिहासमा दोस्रो ठूलो जित निकालेको छ । भारतले पाँचौँ दिन वेस्टइन्डिजलाई चार सय १९ रनको लक्ष्य दिएको थियो । वेस्टइन्डिज २६.५ ओभरमा सय रनमै अलआउट हुँदा भारतले तीन सय १८ रनको जित निकाल्यो । टेस्ट इतिहासमा दोस्रोपटक भारतले विशाल अन्तरको जित निकालेको हो । यसअघि सन् २०१५÷०१६ को सिजनमा भारतले नयाँदिल्लीमा दक्षिण अफ्रिकालाई तीन सय ३७ रनको अन्तरले हराएको थियो । यो भारतको अहिलेसम्मको फराकिलो रनअन्तरको जित हो ।
पहिलो टेस्टमा भारतले सानदार जित निकाल्नेक्रममा घातक बलिङ गरेका जस्प्रित बुमराहले व्यक्तिगत रेकर्डसमेत बनाए । उनले दोस्रो इनिङमा वेस्टइन्डिजको ब्याटिङ ध्वस्त पार्ने क्रममा केवल आठ ओभरमा सात रन खर्चेर पाँच विकेट लिए । यस क्रममा उनले चारपटक मेडन ओभर फ्याँके । पाँच विकेट लिएसँगै बुमराहले टेस्ट खेलमा आफ्नो ५० विकेटसमेत पूरा गरेका छन् । बुमराहले केवल ११ टेस्टमा यो सफलता हात पारेका हुन् । भारतका लागि टेस्टमा छिटो ५० विकेट लिने उनी तेस्रो बलर बने । टेस्ट खेलमा भारतका लागि रविचन्द्रन आश्विनले नौ टेस्टमा ५० तथा अनिल कुम्बलेले १० टेस्टमा ५० विकेटको रेकर्ड राखेका छन् । गत वर्ष बुमराहले दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । डेब्यु गरेकै वर्ष उनले ४८ विकेट हात पारेका थिए । अस्ट्रेलियाविरुद्धको सिरिजमा उनले चार टेस्टमा २१ विकेट लिएका थिए ।






