एटा संवाददाता
लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको साधारणसभा सम्पन्न भएको छ ।
गत आइतबार १ सेप्टेम्बरका दिन फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत अध्यक्ष जंग सुनुवारको प्रमुख आतिथ्यमा फोनिजको साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा नेफिन यूके अध्यक्ष सुनुवारले फोनिजले गर्दै आएको रचनात्मक कार्यको प्रशंसा गर्दै साधारणसभाको सफलताको शुभकामना दिएका थिए । त्यस्तै, विशेष अतिथि एवं फोनिज केन्द्रीय वरिष्ठ उपाध्यक्ष गजुरधन राईले फोनिज यूकेले डायस्पोरामा रहेर पनि थुप्रै काम गर्दै आएको भन्दै प्रशंसा गरे । साथै, उनले पत्रकारितालाई तालिममार्फत सीपयुक्त, क्षमतावान बनाउनुपर्नेमा जोड दिए । साथै, मेरो अनलाइन टिभी प्रस्तोता विश्व लिम्बुले समेत साधारणसभा सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा सचिव भिमल राईले कार्यसमितिको र कोषाध्यक्ष गोमा रानाले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । उनीहरुले प्रस्तुत् गरेको प्रतिवेदनमाथि व्यापक छलफल गरिएको थियो । छलफलपश्चात दुवै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।
साधारणसभामा फोनिज सल्लाहकार मेजर सोनाम शेर्पाले फोनिजद्वारा हालै प्रकाशित ‘द जर्नालिस्ट’ को प्रधान सम्पादकको हैसियतले सो प्रकाशनबारे जानकारी गराएका थिए । त्यस्तै, पत्रकारिता पुरस्कारका लागि स्थापना गर्न लागिएको पाँच लाख रुपैयाँ अक्षय कोष, बैंक तथा खाता सञ्चालनबारे समेत छलफल गरिएको थियो ।
कार्यक्रममा फोनिज अध्यक्ष प्रमिला लाबुङ राईले प्रमुख अतिथि सुनुवार, नेपालबाट आएका पत्रकारद्वय राई र लिम्बु लगायत उपस्थित सबैलाई धन्यवाद दिँदै फोनिजले गर्दै आएका विभिन्न कार्यहरुको जानकारी दिएका थिए ।
त्यस्तै, फोनिजको अर्को साधारणसभा आउँदो १२ सेप्टेम्बरका दिन आयोजना गर्ने समेत निर्णय गरेको छ । त्यस्तै, फोनिजले प्रत्येक वर्ष प्रदान गर्दै आएको यस वर्षको पत्रकारिता पुरस्कार प्रदानका लागि फोनिज अध्यक्ष प्रमिला लाबृुङ्ग राई र सल्लाहकार मेजर सोनाम शेर्पा स्वयं नेपाल गई प्रदान गर्ने जनाइएको छ ।
फोनिज अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले स्वागत मन्तव्य दिएका थिए भने सचिव भिमल राईले कार्यक्रम सञ्चालन गरेका थिए ।






