सांसद हितबहादुर तामाङद्वारा नुवाकोटका विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएकोबारे सरकारको ध्यानाकर्षण [भिडियोसहित]

SHARE:

काठमाडौं । सत्तारुढ नेकपाका सांसद्‌ एवं पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले वर्षात्‌पछिको बाढीले नुवाकोटका विभिन्न ठाउँमा क्षति पुर्‍याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तामाङले बाढीले करोडौंको धनमाल र सयौं रोपनी धानबालीमा क्षति पुर्‍याएकोले राहत र क्षतिपूर्ति दिलाउन कृषि तथा पशुपन्छी विकास, उर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग जोडदार माग गरे ।

उनले जिल्लामा तीनै तहका जनप्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको संयुक्त बैठकपश्चात् स्थलगत निरीक्षण गरी राहतको लागि पहल गरिसकिएको बताए । ‘हामी ३ तहका जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुख, प्रजिअ र सिँचाई कार्यालय प्रमुखहरु गएर निरीक्षण र अवलोकन गर्यौं, त्यहीं जनप्रतिनिधि, सिडीओ लगायतको एउटा बस्यौं’, उनले भने, ‘क्षति न्यूनिकरण गर्न, राहत दिन आग्रह र निर्देशन दियौं ।’

यही भदौ १४ गतेको भीषण वर्षात्‌पछिको बाढीले जिल्लाका तादी गाउँपालिका २, ३ र ४ वडामा ठूलो मात्रामा धनमाल नस्ट गरेको थियो । सांसद तामाङका अनुसार त्यस क्षेत्रका दुई घरमा क्षति पुर्‍याएको थियो भने चार गाईगोरु, दुई राँगा, तीन खसी बाख्रा मरेका थिए । त्यस्तै सिम्ले भन्ने ठाउँमा कोसगाडे र सातबिसेमा करिब ३ सय रोपनी खेत क्षति पु‍र्‍याएको थियो भनर पुल भत्किएको छ ।

सोही दिनको भलबाढीले गर्दा ककनी-बालाजु खण्डको ओखरपौवामा सडकमा पहिरो गएर यातायातका साधन आवतजावतमा समस्या भएको छ । छहरे टोखा सडक खण्डमा पनि विभिन्न ठाउँमा पहिरो झरेकाले नुवाकोटका साथै रसुवा, उत्तरी धादिङका मानिसहरुलाई आवतजावतमा समस्या परेको भन्दै सांसद तामाङले चाँडो मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

यस्तै समाजवादी पार्टीका सांसद उमाशङ्कर अरगरियाले धनुषा जिल्लामा कमला नदी नियन्त्रण गरी सिँचाइको विकास गर्न उपभोक्ता समितिले करोडौं खर्च गरे पनि अझै जनतामा पानीको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सो क्षेत्रमा सिँचाइको अभाव भएर धेरै जमीन सुक्खा भएकाले बाँझै रहेकोसमेत बताए ।

नेकपाकै सांसद खेमप्रसाद लोहनीले आगामी दिनमा बनाउने सडक भू–क्षय वा बाढी पहिरोले नभत्काउने खालको बनाउनुपर्नेमा जोड दिए । उनले वर्षात्‌को समय विस्तारै सकिँदै जान लागेको हुँदा बेलैमा सजग अपनाएर सडक बनाउन आग्रह गरे । सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्ला महाकाली नगरपालिकाले सडक विस्तार गर्दा २० परिवार पहिरोमा परी विस्थापित भएको हुँदा पीडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउनुपर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!