शिवशरण गुरुङ
लन्डन । नारीहरुको महान् पर्व तीजको अवसरमा विगतका वर्षहरुझैं गत ३१ अगस्ट २०१९ शनिबारका दिन तमु समाज यूके आमा समूहले लन्डनको वेम्बली बरहाम पार्कस्थित आफ्नै तमु समाज यूके नेपलीज कम्युनिटी सेन्टरमा लेडिज नाईट तथा हरितालिका तीज कार्यक्रम भव्यताका साथ मनाएको छ ।
तमु समाज यूके आमा समूहका अध्यक्ष बिन्दु घलेको अध्यक्षतामा तमु समाज यूकेका संस्कृतिक सचिव सरु गुरुङ रानाले सञ्चालन गरेको लेडिज नाइट तथा हरितालिका तीज २०१९ कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे आमा समूहका सचिव बिबादेवी गरुङले जानकारी गराइन् ।
आमा समूहका अध्यक्ष बिन्दु घले, जेष्ठ नागरिक टुल्की गुरुङ र आमा समूहका निवर्तमान अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरी लेडिज नाईट तथा तीज विशेष कार्यक्रम समुद्घाटन गरेका थिए । दिप प्रज्वलनपछि कार्यक्रम आरम्भमा नेपालको राष्ट्रिय गीत बजाइएको थियो ।
कार्यक्रममा तमु समाज यूकेका आमा, दिदीबहिनीहरु, तमु प्ये ल्हु संघ यूके आमा समूहका दिदीबहिनीहरु र लन्डन वरिपरिका अन्य संघ संस्थाका महिला अतिथिगण, प्रतिनिधिहरु तथा नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो । समुद्घाटनपछि कार्यक्रममा तमु समाज यूके आमा समूहका उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तव्य, अध्यक्ष बिन्दु घलेले धन्यवाद मन्तव्य राखेका थिए ।
यसैगरी तमु प्हे ल्हु संघ यूके आमा समूहका अध्यक्ष बिष्णु टु क्ल्हेप्री तमुले लेडिज नाइट तथा तीज कार्यक्रममा अतिथिको रुपमा सहभागी हुन पाउँदा अत्यन्त खुसी र गर्वानुभूत गर्दै आयोजक समिति तथा उपस्थित सबैलाई हरितालिका तीजको शुभकामनासहित हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमपछि तमु समाज यूकेको सांस्कृतिक सचिव सरु गुरुङ रानाको कोरियोग्राफीमा तमु समाज यूके आमा समूहको एक सामूहिक तीज नृत्य र सुबिना गुरुङको एकल नृत्यबाट आराम्भ गरिएको लेडिज नाइट तथा तिज बिशेष नृत्य कार्यक्रमको अन्तिम चरणमा यस वर्ष पुरस्कृत भएका तीन जना उत्कृष्ट नृत्याङ्गनाहरुको सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आकर्षक पुरस्कारहरुको राफल ड्र, तिजको विशेष खाना दरखाने पिउने र सँगसँगै विशाल लामाको तीज विशेष डिजेमा अपराह्नदेखि राति अबेरसम्म सबैले छमछमी तीज नृत्य नाचेर भरपुर मनोरञ्जन गरेका थिए ।
तीज नृत्यमा आठजना उत्कृष्ट नृत्याङ्गनाहरु पुरस्कृत पनि भएका थिए । उत्कष्ट नाचेर पुरस्कृत हुनेहरुमा ज्योति राई प्रथम, मनकुमारी गुङ द्वितीय, निरु कोइराला तृतीय, मिना तामाङ चौथो, हेमा पुन पाँचौं, शिक्षा राना छैटौं, रामकुमारी सापकोटा सातौं र निर्मला गुरुङ आठौं स्थानमा रहेका थिए ।
कार्यक्रमको अन्तमा तमु समाज यूकेका अध्यक्ष बिन्दु घलेले यस वर्षको प्रथम उत्कृष्ट नृत्याङ्गना ज्योति राईलाई ताज, नटराजको प्रतिमा, प्रमाण पत्र र तमु समाज यूके आमा समूहले प्रायोजन गरेका प्रथम पुरस्कार दिएका थिए । यसैगरी, अन्य पुरस्कृत भएका नृत्याङ्गनाहरुलाई विभिन्न सदस्य तथा अतिथि महानुभावहरुले प्रायोजन गरेका पुरस्कारहरु दिएका थिए ।
कार्यक्रममा मनोरञ्जनका निम्ती लन्डन साउथ ह्यारोस्थित जय श्री कृष्ण ज्वेलर्सका प्रोपाईटर प्रकाश बिकले प्रायोजन गरेका आधा तोला सुनको बेरुवा औंठी प्रथम पुरस्कार रहेको राफल ड्र पनि आयोजना गरेको थियो । राफल ड्रको अन्य पुरस्कारहरु विभिन्न सदस्य महानुभावहरुले स्वतस्फुर्तरुपमा प्रायोजन गरेका थिए । राफल ड्रको प्रथम पुरस्कार कुमारी खत्रीले जितेका थिए ।
कार्यक्रममा तमु समाज यूकेका खेलकुद सचिव तथा खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा, कार्यसमितिका भोलिन्टियर सदस्यहरु, सल्लाहकारहरु तथा सदस्यहरुको सहयोगबाट तयार पारेका तीज बिशेष खानामा आमा समूहका विभिन्न महानुभावहरुले पनि सेलरोटी, मिनेरल वाटर, अन्य पेय पदार्थ तथा आर्थिक प्रायोजन गरी सहयोग गरेका थिए ।
कार्यक्रमको फोटोग्राफी टेकबहादुर गुरुङले गरेका थिए । दिउँसो ३ बजे सुरु भएको लेडिज नाइट तथा तीजका सम्पूर्ण कार्यक्रम बेलुका ११:३० मा अन्त भएको थियो ।






