लन्डन । एनआरएनए यूके अध्यक्षका उम्मेदवार पुनम गुरुङले मतदाता, सहयोगी सबैलाई धन्यवादसहित चोटिलो फेसबुक स्टाटस लेखिकी छन् । अल्डरसट केन्द्रमा मतदान गरेकी उम्मेदवार गुरुङले विशेषगरी मतदातालाई आभारसहित धन्यवाद दिँदै आफ्नो टिम विजयी हुने विश्वास व्यक्त गरेकी छन् । अध्यक्षमा पुनमसँगको प्रतिद्वन्द्वीको रुपमा शेरबहादुर सुनार छन् ।
पुनम गुरुङको फेसबुक स्टाटस जस्ताको तस्तै
आदरणीय बेलायतवासी आमाबुबा, दाज्युभाई, दिदीबहिनीहरु, यहाँहरु सबैमा विनम्रपुर्वक सादर नमस्कार गर्न चाहन्छु । आज सेप्टेम्बर १४, एनआरएन युकेको निर्वाचनको मतदानको दिन । हामीहरु उत्साहपुर्वक यस मतदानमा सरिक भईराखेका छौं । “हाम्रो एनआरएन–राम्रो एनआरएन” बनाउने महाअभियानमा यहाँहरुको साथ, सहयोग, माया र ममता हामीले निरन्तर पाईरहेका छौं । आज बेलुकी आठ वजेसम्म मतदानको समय छ ।
केही कष्ठ उठाएर भएपनि हाम्रो यस अभियानलाई सहयोग गरिदिनुहुने छ भनी पुनः विनम्र अनुरोध गर्न चाहन्छु । निर्वाचनको यस महाअभियानमा अहोरात्र खटेर हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण अभियन्त मान्यजनहरुमा कृतज्ञतापुर्वक धन्यवाद दिन चाहन्छु । निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्नुहुने निर्वाचन समितिका संयोजकज्यू सहित सम्पूर्ण टीमलाई हामी धन्यवाद दिन चाहन्छौ । हाम्रा कुराहरु जनमानससम्म पुर्याउन सहयोग गर्नु हुने मिडियाका सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ।
आफ्नो अमुल्य मत दिएर हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण मतदाताज्यूहरुमा हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छौं । यहाँहरुको अपार माया र सहयोगले हामी विजयी हुनेमा पूर्ण–विश्वस्त छौं र विजयको घडिको प्रतिक्षामा छौं । धन्यवाद ।