शिबकुमार गुरुङ
(२३ जुन २०२६)
समयले कति ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरा मैले ३३ वर्षपछि हङकङको भूमिमा पुनः पाइला टेक्दा प्रत्यक्ष अनुभूति गरेँ। तीन दशकभन्दा लामो अन्तरालपछि फर्किँदा मैले एउटा सहर मात्र देखिनँ आफ्नो युवावस्था, सैनिक जीवन, परिवार र असंख्य सम्झनाहरूलाई फेरि एकपटक नजिकबाट भेट्ने अवसर पाएँ। यो यात्रा मेरा लागि केवल पर्यटन थिएन, आफ्नै विगतसँग गरिएको एउटा आत्मीय संवाद थियो।
मेरो भ्रमणको पहिलो गन्तव्य थियो—तत्कालीन क्विन्स गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (QGTR) को मुख्यालय रहेको गन क्लब हिल ब्यारेक। यहीँबाट मेरो सैनिक जीवनका अनेक अध्यायहरू सुरु भएका थिए। गेटअगाडि उभिँदा लाग्यो, मानौँ समय एकछिनका लागि रोकिएको छ, तर वरिपरि सबै कुरा परिवर्तन भइसकेको छ।

एक समय यही परिसरमा क्विन्स गोर्खा ट्रान्सपोर्ट रेजिमेन्टका विभिन्न स्क्वाड्रन, क्विन्स गोर्खा सिग्नल रेजिमेन्टका सैनिक, परिवारका लागि निर्माण गरिएका आवास तथा गोर्खा चिल्ड्रेन स्कुलको चहलपहलले वातावरण सधैँ जीवन्त रहन्थ्यो। गार्डरूममा खटिएका सैनिकहरूको अनुशासन, बिहानको परेड, सवारीसाधनको आवतजावत र ड्युटीसकेपछि अस्टिन रोड हुँदै नाथान रोडसम्म पुग्ने दैनिकी आज पनि स्मृतिमा उस्तै ताजै छ।
तर आज त्यो परिचित स्थान चीनको जनमुक्ति सेनाको नियन्त्रणमा रहेको सैन्य क्षेत्र बनेको छ। प्रवेशद्वारमा लेखिएको “Military Property” भन्ने शब्दले समयको परिवर्तनको मौन साक्षी दिइरहेको थियो। पहिलेको आफ्नोपन हराइसकेको थियो। आफ्नै कर्मथलोमा पाहुनाजस्तै उभिनुपर्दा मनमा एउटा अव्यक्त पीडा जाग्यो। भवनहरू उस्तै देखिए पनि त्यहाँका आवाज, अनुहार र आत्मीयता भने इतिहासका पानामा सीमित भइसकेका रहेछन् । त्यसपछि म नाथान रोड हुँदै चुङकिङ मेन्सन पुगेँ। दशकौँ बितिसक्दा पनि त्यहाँ नेपाली, भारतीय तथा अन्य दक्षिण एसियाली समुदायको उपस्थितिले पुरानै वातावरणको झल्को दिइरहेको थियो। कतै नेपाली भाषा सुनिन्थ्यो, कतै परिचित अनुहार भेटिन्थे। परदेशमा आफ्ना मानिसहरू भेटिनु आफैँमा एउटा अनुपम आनन्द हो।
भिक्टोरिया हार्बरको किनारमा पुगेर मैले फेरि एकपटक आधुनिक हङकङलाई नियालेँ। समुद्रपारि उभिएका गगनचुम्बी भवनहरू, समुद्री हावाको शीतल स्पर्श र व्यवस्थित हार्बरफ्रन्टले हङकङ किन विश्वका उत्कृष्ट महानगरहरूमध्ये गनिन्छ भन्ने सहजै अनुभूति गरायो। त्यसपछि हामी स्टार फेरी चढेर समुद्र पार गर्यौँ। छोटो भए पनि त्यो यात्राले दशकौँ पुराना सम्झनाहरूलाई पुनः जीवन्त बनाइदियो। फेरीबाट देखिएको पूर्व ब्रिटिश सैन्य मुख्यालय HMS Tamar अहिले नयाँ राजनीतिक युगको मौन प्रतीकझैँ देखिन्थ्यो।
काउलोनमा अवस्थित इन्टरनेशनल कमर्स सेन्टर (ICC)को शिखरतर्फ हेर्दा आधुनिक इन्जिनियरिङको अद्भूत क्षमताप्रति सम्मान जाग्यो। ४८४ मिटर अग्लो यो भवन केवल कङ्क्रिट र स्टिलको संरचना मात्र होइन, हङकङको आर्थिक समृद्धि, दूरदृष्टि र आत्मविश्वासको प्रतीक पनि हो। त्यसको शिखरबाट देखिने दृश्यले विगत र वर्तमानलाई एउटै फ्रेममा समेटिदिएको अनुभूति भयो।
यसै क्रममा मेरा मामा श्याम गुरुङले मलाई वेस्ट काउलून हाई–स्पिड रेल स्टेशन घुमाउनुभयो। यस परियोजनाको निर्माणमा उहाँको पनि योगदान रहेको थाहा पाउँदा मन गर्वले भरियो। भूमिगत यति विशाल र अत्याधुनिक संरचना निर्माण गर्नु मानव सिर्जनशीलताको अनुपम उदाहरण रहेछ। हङकङले तीन दशकमा हासिल गरेको विकासको एउटा जीवन्त प्रमाण यही स्टेशन हो।

जोर्डन क्षेत्रमा पुगेपछि नेपाली समुदायको बाक्लो उपस्थिति देख्दा बेलायतको अल्डरसट सम्झिएँ। पूर्व गोर्खा सैनिकहरूले सञ्चालन गरेका नेपाली रेस्टुरेन्टमा आफ्नै स्वादको भोजन गर्दै पुराना साथीभाइसँग भेटघाट गर्दा लाग्यो—देश टाढा हुन सक्छ, तर सम्बन्धहरू समयभन्दा पनि बलिया हुन्छन्।
यात्राको सुन्दरता केवल गन्तव्यले होइन, सहयात्रीहरूले पनि निर्धारण गर्छन्। यस यात्रामा मेरा प्रिय नम्बरि इन्द्र गुरुङले आफ्नै सवारीसाधनमा काउलोन र न्यु टेरिटोरिजका अनेक स्थानहरू घुमाउँदै तीन दशकअघिका मेरा सम्झनाहरूलाई फेरि जीवन्त बनाइदिनुभयो। उहाँसँगै सुकमाया आजीको मातृस्नेह र रोस गुरुङको आत्मीय साथले यो यात्रा केवल घुमफिरमा सीमित रहेन यो त आफ्नै परिवारसँग बिताएको एउटा अमूल्य समय बन्यो। उहाँहरूको माया, समय र निस्वार्थ सहयोगप्रति म सदैव कृतज्ञ रहनेछु।
त्यसपछि हामी क्वाई चुङ हुँदै ताइ लाम सुरुङ (Tai Lam Tunnel) पार गरेर काम टिन पुग्यौँ। आधुनिक सुरुङमार्ग र द्रुत राजमार्गले यात्रालाई यति सहज बनाइदिएका छन् कि पहिले घण्टौँ लाग्ने दूरी अहिले केही मिनेटमै पार गर्न सकिन्छ। त्यहाँ पुगेर मैले सन् १९८२ मा सैनिक तालिम लिएको ‘मलाया लाइन’ र त्यसपछि लामो समय सेवा गरेको ३१ स्क्वाड्रन (बोर्नियो लाइन) लाई बाहिरैबाट पुनः अवलोकन गर्ने अवसर पाएँ, किनकि क्याम्पभित्र प्रवेश निषेधित थियो।

मेरा जेठा सन्तानको जन्म भएको पारिवारिक क्वाटर, कहिल्यै नबिर्सिने सहकर्मीहरू, दैनिक परेडका ती अनुशासित क्षणहरू र सैनिक जीवनका अनगिन्ती स्मृतिहरू चलचित्रझैँ आँखाअगाडि घुमिरहे।
आज ती भवनहरू समयको प्रभावले जीर्ण भइसकेका छन्, तर तिनै भित्ताहरूमा मेरा जीवनका सर्वाधिक महत्वपूर्ण वर्षहरू अझै सुरक्षित छन् जस्तो लाग्यो । संयोगवश हामी त्यहाँ पुग्दा कामतिन रोडस्थित पारिवारिक क्वाटरको ‘पी–बिल्डिङ’ मा रहेको मेरो पुरानो कोठामा मात्र बत्ती बलिरहेको थियो, जबकि अन्य सबै भवनहरू सुनसान र अँध्यारा थिए। त्यो दृश्यले हामी दुवै श्रीमान्–श्रीमतीलाई गहिरो रूपमा भावुक बनायो। क्षणभरका लागि लाग्यो, मानौँ त्यो उज्यालोले वर्षौँपछि फर्केका हामीलाई मौन स्वागत गरिरहेको हो।
त्यही क्षण मनमा एउटा विचार स्वतः जन्मियो—इतिहास केवल पुस्तकका पानामा मात्र लेखिँदैन कहिलेकाहीँ पुराना भवन, सुनसान कोठा र मौन भित्ताहरूले पनि आफ्ना इतिहास आफैँ बोलिरहेका हुन्छन्। त्यसपछि हामी सेक कङ, काम तिन, युएन लङ, लाइट रेल ट्रान्जिट (LRT), गोडनहर्ड र पेरोन ब्यारेक क्षेत्र हुँदै टिङ काउ पुल पार गर्यौँ। बाटोभरि आधुनिक सडक, सुरुङ, पुल र व्यवस्थित सहरी विकासले हङकङले पूर्वाधारमा गरेको दूरदर्शी लगानी स्पष्ट देखिन्थ्यो।
यस यात्राको सबैभन्दा भावुक क्षण भने पुरानो काई ताक विमानस्थल पुगेपछि आयो। यही विमानस्थलबाट मैले ३३ वर्षअघि हङकङलाई अन्तिमपटक विदाइ दिएको थिएँ। आज त्यही रनवेमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर, आधुनिक क्रुज टर्मिनल र सुन्दर आवासीय बस्ती निर्माण भइसकेका छन्। समयले इतिहासलाई नयाँ स्वरूप दिन सक्छ भन्ने उत्कृष्ट उदाहरण यही क्षेत्र रहेछ।
रात पर्दासम्म काउलोन सहर झिलिमिली बत्तीले सजिएको थियो। अग्ला भवनहरू, समुद्रमा टल्किएका प्रकाशका प्रतिबिम्ब र जीवनले भरिएको महानगरलाई नियाल्दै मैले मनमनै विगतसँग बिदाइ र वर्तमानलाई अभिवादन गरेँ।
यस यात्राका क्रममा सेन्ट्रल काउलून रुट जस्ता आधुनिक सुरुङमार्गले यातायात व्यवस्थापनमा ल्याएको क्रान्तिकारी परिवर्तनबारे पनि जानकारी पाएँ। सीमित भूगोलभित्र विश्वस्तरीय पूर्वाधार निर्माण गर्ने हङकङको दूरदर्शिताले मलाई अत्यन्त प्रभावित बनायो।
अन्तिम अनुभूति
३३ वर्षपछि हङकङ फर्किएर मैले केवल एउटा विकसित देस मात्र देखिनँ; आफ्नै जीवनको एउटा अमूल्य अध्याय फेरि एकपटक पढ्ने अवसर पाएँ। सैनिक जीवनमा बिताएका संघर्षका दिनहरू, सहकर्मीहरूसँग बाँडेका सुख–दुःख, परिवारसँग बिताएका अमूल्य क्षणहरू र आजको आधुनिक हङकङ—यी सबैले समयको यात्रा कति गहिरो र अर्थपूर्ण हुन्छ भन्ने अनुभूति गराए।
यो भ्रमणले मलाई एउटा गहिरो सत्य पनि सिकायो—समयले स्थानलाई परिवर्तन गर्न सक्छ, भवनहरू जीर्ण हुन सक्छन्, शासन व्यवस्था फेरिन सक्छ; तर मानिसले मनमा सँगालेका सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्।
हङकङबाट फर्कँदा मैले केवल केही तस्बिरहरू मात्र लिएर आएनँ मसँग फर्किए अमूल्य सम्झनाहरू, गर्वका क्षणहरू, केही मीठा पीडाहरू र जीवनले सिकाएको एउटा अमूल्य पाठ पनि। आज मलाई अझ दृढ विश्वास भएको छ—स्थान बदलिन्छन्, समय बदलिन्छ, पुस्ता बदलिन्छन् तर इमानदारीपूर्वक बाँचेका जीवनका अमिट सम्झनाहरू कहिल्यै मेटिँदैनन्।
यही अनुभूतिले मेरो यो यात्रा केवल एउटा भ्रमणमा सीमित रहेन यो त जीवनको अविस्मरणीय संस्मरण बनेर सदैव मेरो मनमा जीवित रहनेछ।







