काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बिबिएल)को नयाँ सिजन मेलबर्न स्टार्सबाटै खेल्ने भएका छन् । मेलबर्नले बिबिएलको नयाँ सिजनका लागि सन्दीपलाई अनुबन्ध गरेको आइतबार जनाएको हो । बिबिएलको २०१९/२० को सिजन डिसेम्बर १७ देखि फेब्रुअरी ८ सम्म सञ्चालन हुँदै छ । सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले मेलबर्नसँगको उनको अनुबन्ध पुष्टि गरेका छन् ।
‘मेलबर्नबाटै खेल्नेबारे यसअघि नै छलफल भएको थियो । क्लबले आज मात्रै त्यसबारे निश्चित गरेको छ,’ सिवाकोटीले नयाँ पत्रिकासँग भने । सन्दीपलाई अनुबन्ध गरेपछि मेलबर्नले यसबारे सांकेतिक ट्विट गरेको छ । नेपाली समर्थक रहेको फुटेजसहित मेलबर्नले लेखेको छ, ‘अनुमान गर्नुहोस्, कसको पुनरागमन भएको छ ।’
सन्दीपले गत वर्ष पनि मेलबर्नबाटै बिबिएल खेलेका थिए । उनलाई मेलबर्नले गत वर्ष ६० हजार डलरमा अनुबन्ध गरेको थियो । यसपटकको अनुबन्ध रकम भने खुलाइएको छैन । गत सिजनमा सन्दीपले आठ खेलबाट ११ विकेट लिएका थिए । अघिल्लो सिजनमा बिग बास बीचमै छाडेर सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न गएका थिए ।






