देबेन्द्र खेरेश
लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा अभिव्यक्ति श्रृंखला भाग–१२ सम्पन्न भएको छ ।
१४ सेप्टेम्बरमा नर्थ लन्डनको हाइवेकममा सम्पन्न कार्यक्रममा यसपटक गीतकार तथा कवि जानु काम्बाङलाई मञ्च प्रदान गरिएको थियो । अध्यक्ष दिपा लिम्बू राई र विशेष अतिथि डा. रूपक श्रेष्ठले अभिव्यक्ति श्रृंखला भाग–१२ का स्रष्टा जानु काम्बाङलाई दोसल्ला र ताम्रपत्रद्धारा सम्मान गरेका थिए । स्रष्टा जानु काम्बाङको सिर्जनाहरू दुई भागमा विभाजन गरेर प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सुरूमा उत्कृष्ट सात कविताहरू वाचन भएका थिए भने दोस्रो खण्डमा ११ थान गीतहरू स्रष्टा जानुले वाचन गरेकी थिइन् । तारा लक्समकै स्वर र संगीतमा रहेको स्रष्टा जानु काम्बाङको एक लोकप्रिय गीत, गायक तारा लक्समले बीचमा गिटारसँग गाएर मनोरन्जन दिलाएका थिए । १ उत्कृष्ट गीत र १ उत्कृष्ट गजलको म्युजिक भिडियोसमेत कार्यक्रममा प्रदर्शन गरिएको थियो । स्रष्टा जानु काम्बाङको गीत र कविता लेखनको बारेमा विशेष अतिथि डा. रूपक श्रेष्ठले संक्षिप्त भनाई राखेका थिए । समारोहमा जानु काम्बाङको पछिल्लो कृति गीतिसङ्ग्रह आँसुको लयको पनि लोकार्पण गरिएको थियो ।
गीतकार तथा कवि जानु काम्बाङ बेलायतका सक्रिय स्रष्टा हुन् । गीत, कविताबाहेक कथा, नियात्रा, मुक्तक र गजल विधामा सशक्त कलम चलाउँदै आएकी काम्बाङको कवितासङ्ग्रह ‘शिविरमा ईश्वर’ (सन् २०१६), गीतिएल्बम ‘अनुभव’ (सन् २०१६), ‘जानु’ (सन् २०१८), कथासङ्ग्रह ‘नउघ्रेको जून’ (सन् २०१८) र आँसुको लय (सन् २०१९), प्रकाशित छ । यसैगरी, नियात्रा र उपन्यासजस्ता महत्वपूर्ण कृतिहरू प्रकाशोन्मुख रहेका छन् ।
काम्बाङ गीतिलेखनको क्षेत्रमा एक सशक्त हस्ताक्षर हुन् । उनको गीतहरू सयभन्दा धेरै संख्यामा रेकर्ड भइसकेका छन् । ‘बेचीदिन्थे यो जवानी’(चलचित्र मट्टिमाला), ‘कयौं प्यासी रातहरू’, ‘तिमी भित्रभित्रै, ‘यस्तो एउटा संसार खोज्न’ जस्ता गीत निकै लोकप्रिय छ । उनका गीतहरूमा गायक राजेश पायल राई, मेलिना राई, सञ्जीवनी, आनन्द कार्की, प्रबिषा अधिकारी, प्रमोद खरेलदेखि नेपाल आइडल र भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, श्रेयसी चेम्जोङ, सुनिता थेगिम, बबिना किराती, सुजन तिगेला र मीना निरौला लगायत थुप्रै लोकप्रिय कलाकारहरूले स्वर भरिसकेका छन् ।
सन् २००७ सालबाट सुरू गरिएको अभिव्यक्ति श्रृंखला कार्यक्रममा सहभागी स्रष्टाहरू सन् २००७ संगीतकार चोक गुरुङ, सन् २००८ साहित्यकार दयाकृष्ण राई, सन् २००९ साहित्यकार टंक वनेम, सन् २०११ संगीतविज्ञ किशोर गुरुङ, सन् २०१२ साहित्यकार अञ्जु अञ्जली, सन् २०१३ पपगायक नोर्देन तेन्जिङ भुटिया, सन् २०१४ नाट्यकर्मी शशी थापा सुब्बा, सन् २०१५ साहित्यकार रक्ष राई र सन् २०१६ कवि तथा गीतकार निर्मला ‘परिवेश’ राई हुन् । सन् २०१७ कवि तथा मुक्तकार डा. रूपक श्रेष्ठ, सन् २०१८ साहित्यकार गणेश राई र सन् २०१९ मा गीतकार तथा कवि काम्बाङलाई मञ्च प्रदान गरिएको हो ।
स्रष्टा जानु काम्बाङको प्रस्तुति सकिएपछि, त्यहाँ उपस्थित अन्य साहित्यकारहरूलाई पनि आफ्ना सिर्जनावाचन गर्न दिइएको थियो । सो अवसरमा कवि तथा बाँसुरीबादक सेमन्त राईले रोचक मुक्तक र मीठो बाँसुरीको धुन प्रस्तुत गरेका थिए । कार्यक्रममा नानु राना, लाहाङ चेम्जोङ, अमीत थेवे, टंक राई लगायतका कविले कविता वाचन गरेका थिए ।
अध्यक्ष दिपा लिम्बू राईको सभापतित्वमा सम्पन्न समारोहमा रिटायर्ड मेजर भवानी पन्धाक, बेलायत भ्रमणमा रहेका मेरो अनलाइन टिभीका निर्देशक तथा सक्रिय पत्रकार विश्वराज सामेखाम, ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, अक्सफोर्ड नेपाली समाजका अध्यक्ष पुष्पा राई, याक्थुम माङगेना चुम्लुङ यूकेका अध्यक्ष कमला लिम्बू, लिङदेन समाज यूकेका अध्यक्ष कृष्ण लिङदेन, किरात राई यायोक्खा यूकेका उपाध्यक्ष प्रेम राई, किरात राई कलाकार संघ यूकेका उपाध्यक्ष निर्मला मादेन, लिम्बूवान नागरिक समाज यूकेका महासचिव लाहाङ चेम्जोङ र लोकप्रिय गायकहरू तारा लक्सम, बिसी राई अनि गायिका पुष्पा राई आदि अतिथि रहेका थिए । सचिव नरेश नातिले पहिलो चरणको कार्यक्रम सञ्चालन गरेको थियो भने सहसचिव अञ्जु अञ्जलीले दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेकी थिइन् । त्यसैगरी उपाध्यक्ष गणेश राईले स्वागत मन्तव्य, र चोक गुरुङले सुरक्क्षाको जानकारी दिएका थिए ।






