एटा संवाददाता
लन्डन । नेपाली साहित्यमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीलाई साब्लाबुङ प्रकाशनद्वारा सेप्टेम्बर २ का दिन एक बिदाइ कार्यक्रम आयोजना गरी हङकङबाट बिदा गरिएको छ ।
भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङका लागि अगस्ट १७ तारिख हङकङ पुगेका भुमरी सबै कार्यक्रम सफल पारी सेप्टेम्बर ३ का दिन नेपाल फर्किसकेका छन् ।
मगर संघ हङकङको कार्यालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै भावेश भुमरीले हङकङेली नेपाली मान्यजन, दाजुभाइ, दिदीबहिनी र साथीहरूले दिएको मायालाई अन्तर्मनदेखि सम्झे । बाहिरबाट हेर्दा सुकिला देखिने हङकङेली नेपालीहरूको दैनिकीबाट आफू अत्यन्त प्रभावित भएको भन्दै गम्भीर बने र धरधरी रोए । आफूले विगतमा कल्पना गरेको भन्दा नितान्त फरक पाएको हङकङको गतिशील विकास र हङकङेली नेपालीले हङकङ निर्माणमा खेलेको भूमिकाको सन्दर्भ उठाए । यता नेपाली हङकङ निर्माणमा १४ घन्टा काममा खटिन्छन्, उता नेपाली दिनभरि चिया गफमा नेपाल निर्माणका फजुल कुरा गर्छन् । देश निर्माण चिया गफले होइन, योजना र काम गर्नुपर्ने कुरा हङकङले सिकाएको छ भन्दै भुमरीले हरेक दिन दक्ष जनशक्तिले विदेश निर्माणमा देश छाडिरहेको वास्तविकता कोट्याए ।
भुमरीले विदेशमा पसिनाका धारा बगाएर पैसा आर्जन गरेको वास्तविकता खोतल्दै हङकङेली नेपालीले पाँच छपटक आफ्नो शरीरको कपडाबाट पसिना निचोरेको वास्तविकताले आफूलाई द्रविभूत बनाएको कुरा राखे । त्यसरी कमाएको पैसा भए पनि नेपाल र नेपालीका दुखमा मन फुकाएर सहयोग गर्ने सहयोगी नेपाली वास्तविक भगवान् हुन् भन्दै भुमरीले अनावश्यक सहयोग र खर्च गर्नबाट पैसा बचाएर आफ्ना बालबच्चाको राम्रो शिक्षामा जोड दिन पनि अनुरोध गरे । आफूलाई हङकङसम्म ल्याएर बस्ने, खाने र घुम्नेसहित एकल कार्यक्रम आयोजनाको व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै साब्लाबुङ प्रकाशनका अध्यक्ष तथा साहित्यकार राजकुमार राईले भावेश भुमरीलाई हङकङमा निम्त्याएर कार्यक्रम गर्दा बौद्धिक तरङ्ग मात्र नआएर नेपालको पूर्व–पश्चिमलाई जोड्ने काम पनि भएको कुरा राखे । आफू पूर्व संखुवासभाको साहित्यकारले मध्यपश्चिम प्यूठानका साहित्यकार भावेशलाई हङकङमा बोलाएर कार्यक्रम गर्नुको उद्देश्य नै पूर्व र पश्चिमको सम्बन्धलाई फराकिलो बनाउनु हो भने । मध्यपश्चिम र पश्चिमबाट हङकङ आई बसोबास गर्दै आएका दाजुभाइ, दिदीबहिनीहरू बढीभन्दा बढी लोकदोहोरी र नाचमै रमाउँदा बौद्धिक गतिविधि हुन नसकेको भन्दै राईले अबका दिनमा बौद्धिक गतिविधिका कार्यक्रमहरू गर्न पनि सुझाव दिए । हामी मगर भवनभित्र पसेका थिएनौँ, भावेशकै कारण मगर भवनमा एउटै परिवारका सदस्यजस्ता भएका छौँ भन्दै राईले आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्न एकजुट हुनुपर्ने विचार राखे ।
एउटा साहित्यकार अर्थात् भावेश हङकङ आउँदा भावेशले हङकङेली नेपालीहरूका दैनिकी, दु:ख र वास्तविक जीवन देखेको र भित्रैदेखि अनुभूत गरेको कुराले आफ्नो लक्ष्यमा सफल भएको कुरा राख्दै राईले विगतमा कलाकारहरू ल्याउँदा बौद्धिक कार्यमा खासै केही हुन सकेन भने । उनले थपे, ‘एउटा कलाकार आएको भए हाम्रा सुखमात्र देख्थे, रमाइलो मात्र देख्थे, हामीलाई तिनै सुख र रमाइलोमा रमाएको मात्रै देख्थे र त्यहीअनुसारका व्यवहार गर्थे तर साहित्यकार भावेश आउँदा हाम्रा सुख कहीँ पनि देखेनन् । बिहान पाँच बजे कोठाबाट निस्केर राति नौ बजे कोठा पसेको समय देखे, निर्माण क्षेत्रमा चौध घन्टा पसिनाका धारा बगाएका, पसिनाले निथ्रुक्क भिजेका कपडा चार/पाँचचोटि निचोरेको वास्तविकता देखे ।’ चारपाँच घन्टा आफ्नो कोठामा सुतेर या बिताएर खाजा झोलामा राखी काममा कुदेका नेपालीले पसिना पुच्दै भुइँमा बसेर खाजा खाएका वास्तविक जीवनहरूलाई बुझे । तिनै बुझाइलाई आफ्नो सम्झे र आँसु बर्साए । साहित्यकारले हेर्ने दृष्टि र खोज्ने विषय फरक हुन्छन् । यी कुरा मैले भावेशमा पाएको छु । भावेशले हङकङेली नेपालीहरूको वास्तविक जीवनबोध गराउने छन् पाठकहरूलाई । यस्तै कारण अबका दिनमा भावेशजस्ता साहित्यकारहरूलाई ल्याउनुपर्छ र बौद्धिक विकासमा ध्यान दिनुपर्छ । राईले भावेश साब्लाबुङ पुस्तकालय अभियानका एक सक्रिय सदस्य भएकाले सामाजिक कार्यमा पनि भावेशको हङकङ यात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत राखे ।
बिदाइ कार्यक्रम साहित्यकार जीतकर्ण राईले सञ्चालन गरेका थिए भने साहित्यकार किराती जेबी राई, सुशिला राई, विशु सम, मगर संघ हङकङकी अध्यक्ष युगमाया राना, सोही संघका सचिव नन्द राना, महिला मगर संघ हङकङकी अध्यक्ष कुमारी थापा, पुनमगर समाज हङकङकी अध्यक्ष गोमा पुन, समाजसेवी मनोज सूर्यवंशी, शिला राना, झलक पल्ली, जगत् अम्बु, मातृदीप राई, विनोद सुनारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । भावेश राजकुमार राई, विशु सम, युगमाया राना, जीतकर्ण राई, जयप्रकाश गुरुङ, नेत्र पहराई, मेख आले आदिको आर्थिक प्रायोजनमा हङकङ पुगेका थिए ।
गत अगस्ट २४ का दिन साब्लाबुङ प्रकाशन हङकङको आयोजनामा भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङ आयोजना गरिएको थियो । सो कार्यक्रममा गत साल बेलायत भ्रमणका विषयवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको भिसाको रङ नियात्रासङ्ग्रहको विमोचन पनि गरिएको थियो । स्थायी रूपले नेपालमा बस्दै आएका भावेशको बेलायत भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु एउटा अनौठौ संयोगमात्र नभएर फरक रेकर्ड पनि हो । सो एकल साँझ अत्यन्त सफल र भव्य भएको थियो ।






