सुधा गुरुङ
बेजिङ्गस्टोक । हिमाल आरोही निर्मल पुर्जालाई बेजिङ्गस्टोक नेप्लिज कम्युनिटी (बिएनसी) ले पाँच सय पाउन्ड सहयोग प्रदान गरेको छ ।
सो रकम बिएनसी लेडिज तीज रमझमबाट २ सय र बिएनसी मेन कमिटीबाट ३ सय गरी प्रदान गरिएको हो । बिएनसी गोर्खा ग्रोसरीका म्यानेजिङ्ग डाइरेक्टर बल थापाले पनि पुर्जालाई सय पाउन्ड सहयोग प्रदान गरे ।
सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु सात महिनामा आरोहण गर्ने प्रतिबद्धता जनाउँदै प्रोजेक्ट पसिबल मिसनमा निस्केका आरोही पुर्जाले ११ वटा हिमालहरुको सफल आरोहण गरिसकेका छन् । साथै बाँकी ३ वटा हिमालहरु यही अक्टोबर महिनाभित्र आरोहण गर्ने लक्ष्य लिएका छन् ।
यसभन्दा अगाडिसगरमाथा, ल्होत्से र मकालु हिमाल ५ दिनमा आरोहण गरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल पुर्जाले यसपटक तीनैवटा हिमाल केवल ४८ घण्टामा आरोहण गरी गिनिज बुकमा आफ्नै पुरानो रेकर्ड तोडेका छन् ।
पूर्वगोर्खा सैनिक पुर्जाले प्रोजेक्ट पसिबल मिसन पूरा गर्न आफ्नो घरसमेत धितो राखेर लागि परेको उनका ससुरा पूर्वगोर्खा सैनिक तेज गुरुङले बताए ।
११ वटा हिमाल सफल आरोहण गरेपश्चात् आफूलाई अत्यन्त आर्थिक अभाव भएका कारण उनी गत अगस्ट महिनामा बेलायत आएर विभिन्न समाचारमाध्यमबाट सहयोगका लागि अपील गरेका थिए ।
बेलायती टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा उनले थप हिमाल आरोहणका लागि आर्थिक कठिनाई परिरहेको पटक पटक उल्लेख गरेपछि पूर्वगोर्खा सैनिक एवम् पूर्व तमुधिं अध्यक्ष सुबासिङ्ग गुरुङले पुर्जाको सहयोगको लागि स्वेच्छाले पहल गरेको गुरुङले बताए । उनले बेलायतका विभिन्न नेपाली समाजहरु, तमुधिं, मगर समाज, पुन समाज, सहारा यूके, तमु समाज, तमु प्ये ल्हु संघ, बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी आदिसँग अनुरोध गरेबमोजिम लगभग १२ हजार पाउन्ड प्रोजेक्ट पसिबलका लागि सो समाजहरुले प्रदान गरेको गुरुङले बताए ।
अदम्य साहसी पूर्वगोर्खा सैनिक पुर्जाले प्रोजेक्ट पसिबल मिसन पूरा गरेपश्चात् वीर गोर्खालीको इतिहासमा नौलो आयाम कायम हुनेमा दुई मत छैन ।






