काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच काठमाडौंमा समाज रुपान्तरण, कम्युनिस्ट अनुशासन र विकास तथा समृृद्धिका एजेण्डामा दुई दिन छलफल हुने भएको छ ।

दुवै देशका कम्युनिस्ट पार्टीहरु आयोजक बनेर काठमाडौंमा गर्न लागिएको कार्यक्रमको नाम ‘नेपाल-चाइना फ्रेण्डसीप सिम्फोजियम’ राखिएको छ । कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ तावको नेतृत्वमा उच्चस्तरीय टोली सोमबार काठमाडौं आइपुग्नेछ ।
नेपाल आउन लागेका सोङ ताव चीनका वरिष्ठ कुटनीतिज्ञ पनि हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका ५० जनाको टोली नेता बनेर आउन लागेका तावले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसँगै सोमबार साँझ दुवै देशका छानिएका कम्युनिस्ट नेता-कार्यकर्तालाई सम्बोधन गर्नेछन् ।
सिम्फोजियमको सोमबार साँझ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सो उदघाटन सत्रमा चिनियाँ नेता ताव ‘कि नोट स्पिकर’ (प्रमुख वक्ता) छन् ।






