जानु काम्बाङ्ग लिम्बु
पैराने जेठा तुम्बाको बरखी सकेर पाहुनाहरू हिँडिसकेकोले ईखाबुको सिन्सेबुङ्ग टोल सुनसान बन्न थालेको थियो । साइँला काका र काकी लिङ्गिखमबाट आइपुगेका थिएनन् । बिहानको खाना जिते दाजुको घरमा खाएर फेम्बू मावल जाने सल्लाह थियो । मेरो बाल्यकाल बितेको गाउँ, धेरै वर्षपछि आउँदा रित्तो देखेर एकदम नौलो र अनौठो लागिरहेको थियो । म खेल्दै हुर्केको माराम्म (मूलबाटो) साँघुरिएको हो कि भन्ने भान हुन्थ्यो, माराम्मको भित्तामा माहंग्बा खोल्सादेखि माङ्गयक खेतसम्म ल्याइने कुलोको डोबले एकजमानामा यहाँ पानी कुद्थ्यो भन्ने संकेत मात्र दिइरहेथ्यो । सानो छँदा दिनभर उही कुलोमा खेलेर हुर्केकी म, उही सुकेको कुलोजस्तै मन भित्रभित्रै सुकिरहेका मेरा बाल्यकालका कथाहरू एक, एक गर्दै मनबाट उर्लिन थाले । कुलो सुक्नुको कारण खेत मासेर घरैघर बन्नु थियो भने मेरो बाल्यकालका याद सुक्नु समय र परिस्थितिको खेल थियो । लाग्थ्यो त्यो कुलो र म एकै उमेरका दमाले थियौं, सँगसँगै खेल्दै हुर्कियौं र सँगसँगै हरायौँ गाउँबाट ।
उहिल्यैको एउटा मीठो स्मरण । माघको महिना थियो, घरमा बाजेबोजु र म थियौं । गाउँका सबैले ओलाङचुङगोला, चेने, घुन्सा आदि ठाउँमा पुगेर कोदोले आलु बिऊ साटी ल्याउन्थे । ढाकरमा कोदो बोकेर त्यहाँसम्म पुग्नलाई लाठे चाहिन्थ्यो, आलु रोप्ने समय बित्दै गएपछि बाजे निक्कै चिन्तामा डुब्नु भो, गाउँभरि लाठे खेताला खोज्दा पनि कामको मारामारमा कोही पाउनुभएन । गाउँबाट बटुलेर ल्याएको निरासाको पोका साँझ बोजुसँग पोख्दै गर्दा म बस्तु लिएर चरणबाट आइपुगें । कता–कता सुनेकी थिएँ तल्लो घरका दिदीहरू पनि बाबा दाजुहरूसँग आलु साट्न चेने जाँदैछन् रे भनेर ।
बस्तु थलामा बाँधी सकेर भित्र पस्नेबित्तिकै पुवा र किनिमाको अचार बनाएको छ खा है, बोजुले भन्नु भो, तर म खाजा नखाई तल्लो घरतिर दौडिएँ, कान्छीदिदी मुलाबारीमा साग टिप्दै थिइन् । साथी न थियो मलाई देखेर खुसी हुँदै साग बोकेर आइन् । मनमनै म, आलु साट्न जान तयार भइसकेकी थिएँ । ‘दिदी तिमीहरू भोलि बिहान आलु साट्न चेने जाने रे हो ?’ सोधी हालें, ‘हो त’ किन ? उसले सोध्न नभ्याउँदै मैले भने ‘दि…मलाई पनि लानु न म पनि जान्छु’ मैले भने, हुः ! ऊ छक्क परिन् । ‘प्लिज तुम्बालाई भन्नुस् न म पनि जान्छु,’ यति भनि राखेर माथि खेचाने तुम्बाको घर पुगेर सानो चिटिक्कको ढाकर मागेर ल्याएँ । त्यो घरको तुम्बाले मज्जा मज्जाको ढाकर र डोको बुन्नुहुन्थ्यो । घरमा ढाकर लिएर आउँदा साँझ झमक्क परेको थियो । ढाकर बिसाउँदै ‘बोजु म आलु साट्न जान्छु भोलि तल्लो घरको दिदी र तुम्बाहरूसँग’ मैले भनें । तरकारी पकाउँदै गरेको बोजु एकाएक स्तप्ध भइन् । होइन, यसले के भन्छ ? त्यत्रो कोदो बोकेर ४, ५ दिनको बाटो हिउँ टेक्दै पुगेर भोटेहरूबाट आलु साटेर ल्याउनु खेलाँची सम्झिस् कि के हो ? रेला नगर है बेसी भन्दै बोजु उल्टै कराउनु भो ।
बाजे कता बाहिरतिर हुनुहुन्थ्यो कुन्नी ? एकछिनपछि आइपुग्नु भो, बोजुसँग जे कुरो भएथ्यो तिनै कुरोको बेलीबिस्तार लाएँ बाजेसँग पनि । एकछिन सोचेर बाजेले भन्नुभो साँच्ची जान्छेस् त ? सास आयो जान्छु, म सक्छु एक्कासी कराएँ, लु तेसो भए तीन पाथी कोदो भारी हालिदिन्छु अनि भोलिको लागि माना चामल तयार गर्दै गर, म पैराने कान्छालाई भनेर आउँछु, बाटोमा केही भए हेरचार गर्छ ।
बाजे तल्लोघर हिँडेपछि बोजुले गुनगुन गर्दै मकै भुटेर सातु बनाउन थाल्नु भो, मैले आउलतिर खाने मकैको चामल र लेकमा मकैको चामल नपाक्ने हुनाले अलिकति धानको चामल भारी हालें । तल्लोघरबाट माया र तेजी दिदीहरू पनि म जाने खबर सुनेर खुसी हुँदै आइपुगे, तीनैजना मिलेर मेरो भारी ढाकरमा चिरिच्याट्ट पारेर तयार गर्यौं ।
अनि म बोजुको दुई खुट्टाभित्र आफ्नो खुट्टा घुसारेर सुतें । दिनभर बस्तु वनतिर लगारेर खोलामा पौडी खेल्दाखेल्दा थाकेकोले होला, निद्रा मज्जैले लाग्यो ।
बिहान सबेरै बोजु उठेर मलाई घिउमा मेथी पड्काएर जाउलो पकाइदिनुभो, तात्तातो जाउलो खाएर जिन्दगीमा पहिलोपल्ट ढाकर बोकेर बाटो लागेँ । बाजे बोजु मलाई बिदा गर्न माराम्मसम्म (बाटोसम्म) निस्केर तोक्माक टेकाउन सिकाउनु है कान्छा भतिजीलाई भन्दै तुम्बालाई कराई पठाउनु भो । हुन्छ, काका भन्दै तुम्बाले कहिल्यै नमाझेको पहेँलो दाँत देखाएर घ्यार्र…गर्दै हाँस्नु भो । तुम्बा हाँस्दा बूढो भाले बाँसेझैं उहाँको घोक्रो क्यांर्र गरेर कराउन्थ्यो । ऊ जमानाको सिंगापुरे लाहुरे थियो, हाम्रो गाउँमा अरुभन्दा धेरै रकम पेन्सन थाप्ने मान्छेमा गनिथ्यो ऊ ।
हिँड्नेबित्तिकै जोसले होला भारी नबिसाई छिरुवा पुगेँ । छिरुवानिमा एकछिन भारी बिसाएर सबैजना बस्यौं । छिरुवाको दोकानहरू खुलेका थिएनन्, बाटो माथिको लुङ्गथुङ्गेनी बडीआमा उठेर आँगन बढार्दै थिइन् । बडीआमा काली कता छ ? मैले सोधें काली उनको जेठी छोरी थिइन्, उनी राईनी भइकन पनि लिम्बू भाषा बोल्थिन् हामी सँगसँगै धान नाच्थिन् । तेसो त उनको जातका केटाहरू भेट्दा उसलाई जुवारी खेल्न पनि सघाउँथ्यौ । छिरुवामा त्यो बेला जम्मा २ घर थियो, बाटोमाथि कालिको घर र बाटोमुनि छेउघरे कल्चुँडीको घर थियो । उनीहरू म भन्दा ठूला थिए तर हाटबजार अनि मेलापात गर्दा सारै मिलेर हिँड्थ्यौं ।
सुर्ती खानेहरूले सुर्ती र खैनी खानेले खैनी माडेर च्यापे मुखमा । ३ पाथी कोदो हलुकै थियो, छिरुवाबाट तापेथक पुगुन्जेल मैले भारी बिसाइन् । तर, दिदी दाजुहरूले भने ठाउँ ठाउँमा मोटो लौरो (तक्माक्क) पछाडि टेकाएर ढाकर मज्जाले बिसाउँथे, म सँग भने तक्माक्क भएर पनि टेकाउन जान्दिन थिएँ । तापेथोक काटेर उभो लागेपछि भने म बिस्तारै थाक्न थालें, मेरो मावली फेम्बू देखिन थालेपछि जाउँ जाउँ लाग्यो । घरभन्दा मावला प्यारो लाग्थ्यो मलाई, सारै याद आयो बाजे बोजु र लुङ्गवाहरूको (मामाका छोराछोरीहरू) बाऊ तप्मवामा खाना खानु पर्ला कि ! अलिकति भोक, तिर्खा र थकान मिश्रित प्रश्न गरिन् कान्छी दिदीले । ख्याक …ख्याक खोक्दै लामो सुस्केरा तानेर ढाकर टेकौंदै हुन्छ, राम्रो ठाउँ भेटे खाउँला नत्र माथि याङ्गिसङ्गबुङ्ग उक्लिनु पर्ला माथि राम्रो चुला छ तुम्बाले भन्नुभो । हामीले बिहान सबेरै खाजा खाएर हिँडेकोले खाना अबेला खाने सल्लाह गरेका थियौं । हामी ताप्म्वा अघिको ठूलो जंगलमा हिँड्दै थियौं । ऊ बेला ताप्म्वा गाउँमा मेरो आमाको माइती पर्ने २ घर फेम्बूहरू बस्थे । अहिले थाहा छैन कस्तो भएको छ त्यो ठाउँ ?
मैले अलिअलि तक्माक्क टेक्न जनिसकेकी थिएँ । सबैको लाममा उभिएर पालाम सुसेल्दै..लामो सास तानेर तक्माकमाथि ढाकर टेकाएँ । मैले तापेथोक पुग्नुअघि सिसांवा पुल काटेर, अरुले ढाकर टेकाउँदा मैले चाँहि ड्याम्मै भूइँमा बिसाएकी थिएँ । तुम्बाको परिवारमा काइँली माया दिदी अलि छुच्ची स्वभावकी थिइन् । भारी टेकाउने सबैले सजिलै टेक्वा उठाएर टेक्दै बाटो लागे, म भने भारी उठाउन नसकेर रुनै लागिसकेकी थिएँ । म अतालेको देखेर माया दिदीले झन् मेरो अनुहार माथि नै छुई पकँदी….भन्दै गन्हाउने खुट्टा घुमाइदियो । मलाई सारै चित्त दुखेर आयो अन्त्यमा कान्छी तेजी दिदीले आएर भारी उठाइदियो ।
यो एउटा बाल्यकालको अमित याद थियो, सिसांवा खोला तमोर भेट्न हतारिँदै बगिरह्यो ।
हामी बाटो काट्न हिँडिरह्यौं, खोला उँधैउँधो बग्थ्यो, हामी उभैउँभो गयौं । दुवै यात्रा कष्टकर नै थिए सायद !
सोंच्थे यी निरन्तर बग्ने खोलाहरू कहाँ पुग्छन् होला ? यही प्रश्न आमालाई गर्दा भन्नुहुन्थ्यो, पृथ्वी गोलो छ आज बगेर गएको पानी फेरि घुम्दै अर्कै बाटोबाट जमिनभित्र बिलाउँछ र फेरि माथि खोलाको सिर पुगेर मुहानमा मिसिन्छ र फेरि मुहानबाट यही बाटो भई बग्दै आउँछ । मेरो आमाको दर्सानिक कुरो सही थियो, या थिएन तर मलाई भने आमाको सबै कुरो सही लाग्थ्यो । आहा, कति रमाइलो बाल्यकाल हगि ?
तप्म्वामा चुला भए पनि खोलाको बगरमा दाउरा नपाइनाले माथि यान्सिङ्गबुङ्ग नै चढ्यौं । यान्सिङ्गबुङ्ग पुगेर चौतारोमा सबैले भारी बिसायौं अनि कसैले दाउरा खोज्यौं, कसैले पानी भरेर ल्यायौं, पानी भर्नको लागि मैले दुई ओटा खाली जर्किन ढाकरको छेउछेउमा झुण्डाएर बोकेकी थिएँ । तुम्बा र काइँली दिदीले खाना पकाए हामीले प्याज काट्न सघाइदियौं ।
एक घण्टापछि खाना पाक्यो सिपाहीहरू जंगलमा ट्रनिंग गरे जसरी सबैले आ–आफ्नो थाल थापेर खाना खाइवरी फेरि थाल पखालेर आ–आफ्नै ढाकरमा लोड गर्यौं । दाइहरूले फोहोर टिपेर एकठाउँ पार्नु भो । अबेला खाना खाएकोले घाम अस्ताउन लागिसकेको थियो । ताप्म्वा खोला वरिपरि बिरक्तै लाग्ने गरी न्याउली रोएको सुनिन्थ्यो । पारि लेप्चुन र फेम्बूको बीचमा पर्ने रमाइलो माने डाँडामा वस्तुहरू चर्दै थिए, सेर्जुङ्गको राईनी कान्छी छेमाहरू बारीमा काम गरिरहेका देखिन्थे, गोठालाहरु गीत गइरहेको पनि वरसम्म सुनिन्थ्यो, मलाई मेरो मावली बाजेको बिछट्टै याद आयो ।
म मावला हुँदा बाजेसँग तिनै वनपाखामा वस्तु चराउन जाने गर्थें । दिनभर बाजेलाई सुकेको बाख्राको कानजस्तो पात बटुलेर झुल्ला माडी दिन्थें, त्यही माडेर बनाएको अलिकति झुल्ला एउटा सेतो सानो ढुंगाबीच च्यापेर फलामको सानो कर्दजस्तो चक्माले रगटेर आगो पार्दै खसेलाले बेरेको सुर्ती तान्नुहुन्थ्यो । आगो नभएको ठाउँमा ढुंगा र फलामको घर्सनबाट आगो बालेर काम चलाउने मेरो बाजे ओर्गानिक वैज्ञानिक थिए भन्दा फरक नपर्ला ।
खाना खाएर बाटो लागेपछि, एकै चोटी लुङ्गथुङ्गको थाक्पू खोलामा मात्र भारी बिसाएर पानी पियौं, दाजू दिदीहरूले सुर्ती ताने । हामीले हेल्लोक र मर्गेमको बीचको पूल तरेर तमोर पार गर्यौं । अघि हामी हेल्लोकपट्टि हुँदा लेलेप, फेम्बू र लेप्चुङ्ग पारि देखिन्थ्यो, अहिले हामीले खाना खाएको ठाउँ यान्सिङ्गबुङ्ग, मर्गेम र हेल्लोक पारि देखिँदै थिए । भोटे बस्ती सेखाथुमको त हामी ठीक वारिपट्टि तल किनारामा थियौं । थाक्पुखोला आफ्नै गतिमा सुसाइरहेको थियो । उहिले, उहिले महिनाको एकपल्ट यहाँ हाट लाग्दा फेम्बुको ठूलो घरको तामाङ्गिन बोजु यहाँ सेलरोटी बेच्न आउँथिन्, म सानोमा मावलामा हुँदा बाजेले मेरो नातिनीलाई रोटी लगिदिनुस् है सम्धिनी भन्दै दिएको १ रुपैयाँले सुकेको भर्लाको पातमा नरम न नरम मीठो न मीठो पाँच ओटा सेलरोटी ल्याइदिएको सम्झेर आज पनि मुख रसायो ।
थाक्पू खोला पछिका ठाउँहरूसँग थाकनका कारण खासै परिचय हुन सकेन, जति जति माथि गयो उति उति चिसो लाग्न थाल्यो । सँधैं प्यारो लाग्ने तमोर खोला पनि जाडोले दूश्मनजस्तै लाग्यो । क्रमशः






