एटा संवाददाता
लन्डन । गैरआवासीय नेपाली संघको महासचिवमा डा. हेमराज शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गत बिहीबार १९ सेप्टेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा एक पत्रकार सम्मेलन गरी उम्मेदवारीको घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका सहप्राध्यापक रहेका डा. शर्मा एनआरएनए विधान समिति संयोजक छन् ।
उनले पत्रकार सम्मेलनमा आफ्नो ७ निर्देशक सिद्धान्त (मन्त्र) प्रस्तुत गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । उनको सो मन्त्रमा सबैको एनआरएनए, सवल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सिप, ज्ञान र नवप्रवद्र्धनका लागि एनआरएनए र उत्तरदायी र पारदर्शी एनआरएनए रहेका छन् ।
अग्रजहरुको सल्लाहपछि कार्यसमितिको पदाधिकारीमा रहेर काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको बताए । गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आउंदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुँदैछ ।






