एटा संवाददाता
लन्डन । नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीको बेलायतमा विशेष प्रदर्शन भएको छ ।
पीपल मोर्गेजेज एण्ड स्टेट एजेन्टको स्कुल प्रोजेक्ट सहयोगार्थ चलचित्रको विशेष प्रदर्शन गरिएको हो । चलचित्रको गत २९ सेप्टेम्बर २०१९ का दिन अल्डरसटस्थित प्रिन्सेस हलमा दुई शो गरिएको थियो । त्यस्तै, १२ अक्टोबरका दिन स्वीन्डनमा, १३ अक्टोबरका दिन ह्यारोमा, १८ अक्टोबरका दिन फोक्स्टोनमा प्रदर्शन गर्ने निश्चित भएको छ । थप प्रदर्शनबारे पीपल गु्रुपले जानकारी गराउने छ ।
रामबाबु गुरुङद्वारा निर्देशित चलचित्रमा दयाहाङ्ग राई, रिश्मा गुरुङ, उपसना सिंह ठकुरी, माओत्से गुरुङ, पुस्कर गुरुङ, कर्म शाक्य, लोनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, अरुणा पोखरेल लगायतको जोडदार अभिनय छ । निर्देशक गुरुङद्वारा निर्देशित कबड्डी र कबड्डी कबड्डीलाई दर्शकहरुले असाध्यै रुचाइदिए भने कबड्डी कबड्डी कबड्डीले नेपालभरका हलहरुमा भीडका साथ चलिरहेको छ ।
पछिल्लो समय प्रविधि विकास सँगसँगै नेपाली चलचित्रको धार फेरिए पछि चलचित्र बजार बढ्दै गएको चलचित्रकर्मीहरु बताउँछन् । उनीहरुका अनुसार दर्शकहरुका चाहना बुझेर बनाएका धेरैजसो चलचित्रहरुले सफलता पाएका छन् । सफल चलचित्रमध्येको कबड्डीको सिरिज पनि एक हो । मुस्ताङको रमणीय दृश्य सँगसँगै यसपटक ग्रामीण पर्यटकीय स्थलको रुपमा परिचित गाउँ घान्द्रुकको रमणीय दृश्यलाई समेटेको छ । चलचित्रमा यसअघि कबड्डी र कबड्डी कबड्डीमा सफल अभिनय गरेकी रिश्मा गुरुङ अर्थात् मायालाई समेत कतै–कतै देखाइएको छ ।
पीपल ग्रुपले यसअघि नै नेपालको ग्रामीण क्षेत्रका विद्यालय निर्माण गर्ने योजना सार्वजनिक गरिसकेको छ । पीपलका अनुसार सन् २०२१ भित्र च्यारिटीमार्फत १० हजार पाउन्ड संकलन गर्ने योजना तय भएअनुरुप ‘प्रोजेक्ट स्कुल’ को सहयोगार्थ चलचित्र प्रदर्शन गरिएको हो ।
‘शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसको प्रयोगबाट संसारलाई परिवर्तन गर्न सकिन्छ’ भन्ने नेल्सन मण्डेलाको भनाइलाई उद्धृत गर्दै पीपल ग्रुपले सो चलचित्र प्रदर्शनबाट बचत रकम ‘प्रोजेक्ट स्कुल’ मा लगानी गर्ने जनाए ।
यसअघि पनि पीपल ग्रुपले गत फेब्रुअरीमा सम्पन्न आफ्नो तेश्रो वार्षिकोत्सवमा आयोजित च्यारिटी डिनर नाईटबाट संकलित १ हजार ६८३ पाउन्ड रकम ‘आशा नेपाल’ नामक परोपकारी संस्थालाई सहयोग गरेको छ । त्यस्तै, २०१८ को मार्चमा सम्पन्न पीपलको दोस्रो वार्षिकोत्सवको अवसरमा संकलित रकम २ हजार ३०० पाउन्ड गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग गरेर परोपकारी कामको थालनी गरिसकेको छ ।
फार्नबोरोको नर्थक्याम्पमा प्रधान कार्यालय, स्वीन्डन, आस्फोर्ड, एनडोभर र हालै लन्डनको हन्स्लोमा शाखा कार्यालय स्थापना गरेको पीपल ग्रुपले करिब २० जनालाई प्रत्यक्ष रोजगारसमेत दिन सफल भएको छ । पीपलले सेल्स, लेटिङ्ग, प्रोटेक्सन, मोर्गेजेज, होम इन्स्योरेन्स, कन्भीन्सीङ्ग, विल्स लगायतका सेवा प्रदान गर्दै आएको छ ।






