अच्चुत घिमिरेको उपस्थितिमा बेलायतको कोभेन्ट्रीमा गुञ्जियो नेपाली साहित्य

SHARE:

कोभेन्ट्री, बेलायत । विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा बेलायतद्वारा आयोजित नियमित काव्यिक शृङ्खला तथा साहित्यिक व्यक्तित्वसँगको साक्षात्कार कार्यक्रम शनिबार कोभेन्ट्रीमा भव्य एवं साहित्यिक वातावरणबीच सम्पन्न भएको छ।

महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठ “विवश”को सभापतित्व तथा नेपालबाट बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ रेडियोकर्मी, साहित्यकार एवं कर्णप्रिय आवाजका धनी अच्चुत घिमिरे को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक स्रष्टाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि अच्चुत घिमिरे, अध्यक्ष भरतकुमार श्रेष्ठ ‘”विवश “तथा विशिष्ट अतिथि एवं ज्येष्ठ व्यक्तित्वहरूद्वारा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। नेपाली राष्ट्रिय गानसँगै प्रारम्भ भएको कार्यक्रममा महासंघका सचिव डा. प्रदीप लामिछाने ले स्वागत मन्तव्य व्यक्त गर्दै आफ्नो सिर्जना वाचन गर्नुभएको थियो।

महासंघका उपाध्यक्ष बाबुराम भुसाल ‘शील’ द्वारा सञ्चालित कार्यक्रममा मोहन आचार्य ‘जलद’, लुनिभा श्रेष्ठ, कला पोखरेल, मनोज आचार्य, एलिना संग्रौला, सीता पौडेल, प्रकाश आचार्य लगायतका स्रष्टाहरूले कविता, गजल तथा विविध साहित्यिक रचनाहरू प्रस्तुत गरी कार्यक्रमलाई भावमय बनाएका थिए।

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि अच्चुत घिमिरेले विभिन्न साहित्यकारका सिर्जनाबाट चयनित अंशहरू सस्वर वाचन गर्नुभएको थियो। यस क्रममा उहाँले महासंघका केन्द्रीय उपाध्यक्ष विजय हितान द्वारा रचित कविता, अध्यक्ष भरतकुमार श्रेष्ठ ‘”विवश “को कृति ‘अपहरण’ अन्तर्गतको ‘पुत्रमोहका जिजीविषाहरू’ शीर्षकको अंश तथा डा. सुधा शाही का गजलहरू वाचन गर्नुभएको थियो। साथै बेलायतवासी साहित्यकारहरूका सिर्जनासमेत प्रस्तुत गर्दै उहाँले उपस्थित साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध बनाउनुभयो।

आफ्नो मन्तव्यमा अच्चुत घिमिरेले नेपाली साहित्यलाई आजको उचाइसम्म पुर्‍याउन सञ्चारमाध्यम, विशेषतः रेडियोको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिप्रति समर्पित सम्पूर्ण स्रष्टा तथा श्रोताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष भरतकुमार श्रेष्ठ “‘विवश “ले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महासंघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बेलायतभरिका प्रमुख पुस्तकालयहरूमा नेपाली पुस्तकहरू हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिँदै नयाँ पुस्तालाई नेपाली भाषासँग जोडिराख्न घर–घरमा नेपाली पुस्तक पढ्ने संस्कृतिको विकास आवश्यक रहेको धारणा राख्नुभयो।

देश, भाषा र मातृभूमिप्रतिको प्रेम झल्काउने कविता वाचनसँगै सम्पन्न उक्त कार्यक्रमले प्रवासी नेपाली समाजमा साहित्यिक चेतना, भाषिक गौरव र सांस्कृतिक उत्तरदायित्वलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!