नियात्रा : बाह्र पाथी आलु

SHARE:

जानु काम्बाङ्ग लिम्बु
याङ्गिसबुङ्गमा खाना खाएर हिँडेको हामी निक्कै साँझ पर्दा मात्र घुन्सामा बास बस्न पुग्यौं । भोटेहरूको घरमा बास मागेर कोही बरन्डा त कोही सिखुवातिर सुत्यौं, चिसोले सुरुमा निदाउन गाह्रो भो तर जब दिनभरिको थाकानलाई तकिया लाएर निदाइयो । त्यसपछि त्यही चिसो पनि न्यानो सिरक र डस्नाझैं लाग्न थाल्यो । जब बिहान सबेरै उठियो, साँझमा देखेको घुन्सा त अर्कै भइसकेको थियो । आफ्नै मुखबाट निस्केको तातो बाफले हात माड्दै हामी दिदीबहिनी सुतेको बरन्डामा तुम्बा आइपुग्यो । म बाहिरको सेतै हिउँ देखेर छक्क परिरहेकी थिएँ । लु लु बाटो लाग्नु पर्छ उठ केटाकेटी हो, तुम्बाले हूटहूटी लाउनु भो, कान्छी दिदी खुट्टा सारै दुख्यो बाउ एकछिनमा जाउँ न ? भन्दै अल्छी मानीमानी बोल्यो । होइन, अहिले हिउँ परेको छ बाहिर न्यानो हुन्छ हिउँमा हिँड्न । भरे घाममा हिउँ बिल्न सुरु भएपछि सारै चिसो हुन्छ । हामीलाई बल्ल थाहा भो आधारात पछि न्यानो हुनुको कारण ।

बिहानको १० बजेतिर हामी एउटा अपरिचित वनमा खाना पकाई खान रोकियौं । त्यो एकलास जंगलमा खासै सुविधा थिएन, तैपनि तुम्बाको पल्टने जोसले खाना पाक्यो, हामी सबैसँग भएको किनिमाको तिहुन र धानको चामल विशेष त्यही जंगलमा पकाई खानलाई बोकेका थियौं, किनकि त्यहाँ मकैको चामल पाक्ने चान्स नै थिएन । धानकै चामल पनि हामीले खाँदाखाँदै आधा काँचो भइगएको तितो सत्य अझै ताजै छ मनमा । त्यो दिन साँझ बल्लतल्ल हामी चेने पुग्यौं । चेने भनेको याङ्गमाक खोलापट्टिको अन्तिम भोटे गाउँ पर्छ ।

त्यो भन्दा माथि गयो भने याङ्गमाक हिमाल आउँछ । हामीले तमोरलाई लेलेप र हेल्लोकको दोभानमा छाडेर उही याङ्गमाक खोलालाई पछ्याउँदै आएका थियौं ।

तमोरलाई पछ्याउँदै गयो भने ओलाङचुङगोला पुगिन्छ भन्नुहुन्थ्यो तुम्बाले, त्यही बेला मैले अर्को वर्ष अझ ठूली भएर धेरै कोदो बोकी आलुको बिऊ साट्न ओलाङचुङगोला जान्छु भन्दै मनसँग मनमनै प्रतिज्ञा गरें । हामी खोंच र अप्ठ्याराहरू छिचोल्दै खोलै खोला हिँड्यौं, खोला अप्ठ्यारा खोंचलाई छिचोल्दै फराकिलो ठाउँ पुग्न हामी आएको बाटो हुँदै उँधो हिँड्यो । खोला खरायोको तालमा ओरालो झरेको हेर्दै हामी कछुवाको तालमा ढाकर बोकेर उकालो हिँडिरह्यौं ।

चेनेमा सारै चिसो थियो, हिउँले पुरिएर बसेका काठैकाठका घरहरूबाट निस्किएको धुँवाबाहेक अरु न्यानो चिज केही थिएन त्यहाँ । चारैतिर रातै लालीगुराँस फूल फूलेको डाँडामाथि थियो चेनेगाउँ । म पहिलोपटक पुगेकोले होला हिउँ खेल्न सारै मज्जा आयो, धित नमरुञ्जेल खेलिरहें । हाम्रो ग्रुपमा सबैभन्दा सानो उमेरको पनि मै थिएँ । त्यहाँका बासिन्दाहरू मुखमा छुर्पी टोक्दै बकुलो बक्खु लगाएर काम गरिरहेका हुन्थे । याक, चौंरी र भेँडाका बथानहरू जताततै देखिन्थे । नानी केटाकेटीहरूको अनुहारले भने पानी नदेखेको वर्ष दिन भएजस्तो लाग्थ्यो । मान्छे हिउँजस्तै सेता तर गाला भने पटपट फुटेर रगत चुहिएला जस्ता थिए ।

बसेकै घरमा १ पाथी कोदोले ४ पाथी आलु साटेर सबेरै बाटो लाग्यौं । तुम्बाले पहिलेदेखि चिनेको भोटे ईष्ट भएकोले साँझ १, १ तोङ्गबा जाँडको मेजमान पनि खाइयो । जाँड सारै मीठो थियो, खाने कुराहरू पनि उत्तिकै मीठो । आउँदा बोकेको ३ पाथी कोदोले १२ पाथी आलु आएपछि भारी बोक्न मुस्किल मात्र होइन नामुम्किन जस्तै नै भो । तर, मेरो लोभी मनले जसरी पनि घर पु-याउने अठोट गरेर बाटो लागें । हिँड्ने बेला त्यो घरको बूढी मान्छेले मलाई सारै मायालु नजरले हेर्दै भनिन्, आमा…नि हिजो राति त अँध्यारोमा यादै भएन अहिले पो देख्छु त सारै सानीनानी पो रैछिन् नि ? बरा बिचरा कसरी पु-याउँन्छिन् नि यत्रा भारी ?

भनेर भनिन् । म त्यो बूढीआमालाई आफू ओझेल नपरुञ्जेल फर्कीफर्की हेर्थें ।

चेने छाडेपछि खोलासम्म ओरालो थियो, एकाबिहानै भर्खर निस्केको बिजुवाबराबर खुट्टा काप्यो मेरो । म हिँड्न सक्दिनँ भनौं भने, नसक्ने मान्छे किन रहर गरेर आउनु ? भन्दै सबैले मिलेर गाली गर्थे । त्यसैले चुपै लागेर हिँडीरहें । सबैको भारी गह्रौं भएर होला फिर्दा खासै बातचित हुन्थेन, कोही अघि कोही पछि गर्दै बाटो तताइरह्यौं । बिहानको खाना खान हामी चेने छेउको मालिङ्गो घारीसम्म मात्र पुग्यौं । फेरि धानको चामल र सुकेको किनामाको तिहुन हिउँ बिलाएको पानीले पकाई खायौं, त्यो जंगलमा लेकको पात्ले सिस्नो कम्ती थिएन । मैले टिपेर पकाउने कुरो गर्दा, तँ एक्लै सिस्नो पकाई खाँदै गर हामी पर्खन सक्दैनौं भनेर सातो जाने गरी गाली गरे दिदीहरूले । घुङ्गसाभन्दा माथिका बाटाहरू सारै अप्ठ्यारा थिए, हामी जाँदाजाँदै लिंग्खिमतिर बस्ने एक जना मान्छे ढाकरसँगै लडेर यान्ग्माक खोलामा झरेर खुट्टा भाँचिएको भन्दै साथीहरूले बोकेर झार्दै थिए । त्यसैगरी हरेक वर्ष यहाँ लडेर कति बटुवाहरूको ज्यानसमेत जाने गरेको कुरो सुनिथ्यो । भीरपहरामा जबर्जस्ती कोपिएर निकालिएका जस्ता बाटाहरू साँच्ची नै दर्दनाक थिए ।

त्यो दिन बल्लैले बास बस्न घुन्सा पुग्यौं । हामी निक्कै थाकेकोले चिया र सातु मात्र खाएर सुत्ने निर्णय गर्यौं । खाना खाएर हामी सुत्न लाग्दा थाहा भो पल्लो घरमा हामीजस्तै आलु साट्न सनग्साबुको केटाहरू आएर बसेका रैछन् । सनग्साबु दिदीहरूको मावला परेकोले लुङ्गवा साइनो छँदै थियो उनीहरूको । काइँली दिदीले कुनबेला भेटी मसँग धान नचाउने विधिविधान बनाइसकेकी रैछिन् । जाडोमा चाँडै सुत्नलाई म साइँलाकाकाले पल्टनबाट ल्याएको सिल्पिङ्ग ब्यागभित्र खुट्टा घुसार्दै थिएँ, दिदीले मलाई बिस्ताराबाटै अपहरण गरेझैं गरी तानेर लगिन् । केटाहरूलाई के थियो र ? भर्खर उकालो चढ्दै थिए ज-याकजुरुक उठेर लाम लागिहाले । उनीहरू ३ जना म एक्लै बीचमा उभ्याएर पालाम भन्न थाले । म थकित भरियालाई पालम र तन्नेरीभन्दा चिसो हिउँ प्यारो लाग्यो । उनीहरूले पनि मेरो थकान महसुस गरे होलान् चाँडै सके पालम गाएर, मेरो पालो आएपछि हात जोडेर पालामको पैंचो माघे मेलामा तिर्ने बिन्ती बिसाएँ । त्यसपछि हामी छुट्टियौं । उनीहरू मस्त जवान म सानी फुच्ची दिदीले जबर्जस्ती धान नचाइन् ।

बाटो अप्ठ्यारो भएकोले घुन्साबाट हिँडेको दिन हामी बल्लैले लुन्ग्थुंग र लेलेप बीचको जंगलसम्म मात्र पुग्यौं । लेलेप पुछारमा बस्ती थिएन माथि गाउँ चढ्ने हिम्मत भएन सल्लाह गरेर एउटा ओढारमा बास बस्यौं । मास्तिर खेत त थियो तर हिउँद भएकोले छेउछाउ कतै पानी देखेनौं । अँध्यारोले छोपिसकेकोले वरिपरि पानी खोज्न जाने कुरो पनि भएन । हामीले भुटेको मकै र चिउरा मात्र खाएर सुत्यौं । थकित शरीर, प्यासी मन, एकजोडी अनिँदो आँखा ओछ्याएर रातभरि तारा टुटेको हेर्दै पल्टिरहें ।

वनमा रुने स्यालहरू मेरै निम्ति रोएजस्तै लाग्थ्यो । दिदीहरू छेउमा घुरेको सुन्दा मलाई रुन मन लाग्यो, तल कता कता खोला सुसाएको सुन्दा अहिले गएर त्यो खोलै सुक्ने गरी पानी पिउँ लाग्थ्यो । जिन्दगीमा पहिलोपल्ट मलाई त्यो रात सारै लामो लाग्यो । पुरुषको अन्तिम जाडो त थियो नै तर हिउँ परेको ठाउँ छाडेर निक्कै तल आइपुगेकोले न्यानो महसुस भएर होला थाहै नपाई आधारातपछि कुन बेला फुस्स निदाएछु । एक्कासी बिहान कान्छा तुम्बा उठेर कराउँदा ब्युँझिए ।

उठेर हामी भारी मिलाउन थाल्यौं, माइला दाइ ग्यालिन बोकेर पानी खोज्न हिँड्यो । हामी थाक्पू खोलापछिको लुङ्गथुङ्ग उकालोमा थियौं । तुम्बाले भन्नुभो लु केटाकेटी हो अहिले सबेरै यो लुन्ग्थुंगको उकालो काट्नु पर्छ नत्र हामी तापेथोक पनि पुग्दैनौं है आज ? थुक्क…यही मास्तिर रैछ नि धारा बेकार रातभरि तिर्खाले छट्पटिनु प-यो भन्दै एक ग्यालिन पानी बोकेर आइपुग्यो दाजु । त्यो पानीलाई यस्तरी झम्टियौं कि त्यो जर्किन एक टुक्रा हड्डी अनि हामी थुप्रै कुकुरहरू…हामीलाई हेरेर कान्छा तुम्बा जोरले हाँस्नु भो, सबैले तिर्खा मेट्ने गरी पानी पिएर बाटो लाग्यौं । मलाई जिन्दगीमै सबैभन्दा मीठो लाग्यो त्यो पानी ।

छाडेर हिँड्ने बेला त्यो न्यानो ओढारको कम्तीमात्र माया लागेन । फर्कीफर्की हेर्दै हिँडे लेकको कोदो भर्खर टिपेर नल काटेर धानको पन्जाजस्तै सुकाएका बारीहरू थिए । कतै मकै र भटमास उम्ब्रिरहेका थिए, तुम्बा यत्रो बारीहरू भइकन पनि मान्छे बस्ने घरचाँहि किन नभएको ? मेरा यस्ता अबोध प्रश्नहरूले तुम्बाको मथिंगल हल्लाउने गर्दै आइरहेको बेला फेरि अर्को प्रश्न थपियो । धेरै टाढाबाट यहाँ खेती गर्न आउँछन् लाटी ! यहाँ वरिपरि घर बस्न लायक जमिन छैन सेपिलो छ ।

खोंच छ, बाढी पहिरोको जोखिम हुन्छ । तुम्बाको यस्तो उत्तरले मन नभरिए पनि थकानले लखतरान म अरु बढी प्रश्न गर्दिनँ थिएँ । हुन पनि बल्ल चैत्रदेखि ११ लाग्दै थिएँ म, थाप्लोमा नाम्ल्लो, कुममा लाप्ताक्क अनि ढाडमा १२ पाथी आलु सँगको ढाकर थियो । खुट्टाको एङ्ल एङ्ल दुखेको थियो शरीरको त झन् के कुरो ? मेरो बाजे र बोजु कति चिन्तित थिए त्यो सम्झिने फुर्सद पनि थिएन मलाई । लखरलखर पछ्याइरहें सबैलाई उनीहरूले टेत्वा लाउँदा म पनि लाउन्थे । टेकवा उठाएर बाटो लाग्दा म पनि लाग्थें मलाई धेरै हर्ष थियो मेरो बाजे बोजुलाई त्यो साल आलु रोपेर खुवाउन सकेकोमा । हिँड्ने बेला बाजेले भनेको थियो तेरो बाऊ काका नपुगेको ठाउँ पुग्ने भइस् ।

पारिपट्टि सेखाथुम र हेल्लोकका घरहरू धुँवा फुस्फुसाउँदै थिए । लाग्थ्यो मेरो बोजुले पनि अगेनामा केही पकाउँदै होलान् यो बेला ? घाममाथि लाबुजेन डाँडाबाट ओरालो झार्दै थियो त्यो एरियाको सबैभन्दा ढिलो घाम लाग्ने हेल्लोक गाउँ देखाउँदै तुम्बाले रेला गर्नु भो छोरी हो पछि फच्चा जाँदा (बिहे गरेर जाँदा) यो हेल्लोक ठाउँचाँहि नआउनु है ? सारै ढिलो घाम आउँछ मकै र भटमासबाहेक केही फल्दैन तिमीहरूलाई दुःख हुन्छ । मलाई हेर्दै तेजी दिदी मुसुमुसु हाँसिन् किनकि उनी हेल्लोककोहरूसँग धान नाच्थिन् । लाबुजेन भन्ने गाउँमा चेम्जोङ्ग थरका लिम्बूहरू बस्छन् ठाउँ लेक भए पनि रमाइलो छ भन्थे म पुगेको छुइनँ । सेखाथुममा २,३ घर भोटेहरू बस्छन् सानो तर सारै राम्रो ठाउँ छ (सेखाथुम) यो नाम कसरी रहन गयो थाहा छैन तर, सेखाथुम भनेको लिम्बू भाषामा ‘सारै बलियो पहलमान’ भान्ने अर्थ लाग्छ ।

हामी सबेरै लेलेप मुनिको पुल तरेर मर्गेम उकालो लाग्यौं जतिजति तल आयो उति उति न्यानो महसुस हुँदै गयो, बाटो पनि चाँडै काटियो । लेलेपसम्म निस्कनुमै दुई दिन बितिसकेको थियो । पुल तरेर उकालो उक्लने बेला चौतारोमा एकछिन बिसाएर बस्दै तुम्बाले उर्दी जारी ग-यो, आज अबेलै भए पनि खाना सिस्सांवा पुग्नु पर्छ है ? तुम्बाको कुरो सुनेर नौनारी गल्यो हाम्रो कारण सिस्सांवा धेरै टाढा थियो । क्रमश

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!