मञ्जुलको ‘सम्झनाका पाइलाहरू’

SHARE:


काठमाडौं । नेपाली साहित्यिक र सांगीतिक क्षेत्रमा अलग्गै स्थान लिएको राल्फा अभियानका अगुवामध्येका एक हुन्, र कवि, गीतकार तथा गायक मञ्जुल । उनले आइतबार गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरे । सम्झनाका पाइलाहरू कवि मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो । वि.सं. २०४४ मा पहिलोपल्ट प्रकाशित सो पुस्तकलाई पब्लिकेसन्स नेपालयले पुनः प्रकाशित गरेको हो ।
आइतबारको कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए । कार्यक्रममा राल्फाकाल र त्यस वरपरको समयको चर्चा भएको थियो । आइतबार पलेंटी कार्यक्रममा सहभागी थिए उनी । सुरुआत मञ्जुलको शब्दमा रामेशले धुन भरेको गीत ‘कार्यशील जिन्दगी, बगिरहने नदी हो’ बाट भएको थियो । सामूहिक स्वरमा सुहाउने यो गीतमा मञ्जुललाई पलेँटी टीमले साथ दिएको थियो । दोस्रो प्रस्तुतिमा पनि रामेशकै संगीतमा बाँधिएको ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ रहेको थियो ।

दोस्रो गीतको प्रस्तुतिसँगै मञ्जुल आफ्ना अतीतका दिनलाई खुलेर सम्झना गरिरहेका थिए । ‘त्योबेला म राष्ट्र बैँकमा जागिरे थिएँ । रामेश, रायन, अरिम रेडियोमा लोकगीतहरू गाउँथे । संजोगले उहाँहरूसँग परिचय भयो । गीत, संगीतमा मेरो पनि रुचि थियो । म पनि सँगै गाउन थालेँ । रेडियोमा गाएको पारिश्रमिक राष्ट्र बैँकमार्फत् लिनु पर्थ्यो । आफैँ कार्यरत बैँकबाट एकदिन पोल खुल्योस हाम्रो पारिश्रमिक त किर्ते गरेर रेडियोकै अन्य कोहीले खाँदा रहेछन् । त्यो फटाईँ विरुद्ध हामीले मुद्दा हाल्यौं । त्यो घटनाले हाम्रो रेडियो नेपाल जाने बाटो बन्द भयो । त्यसपछि गीत, संगीतमा लाग्ने अरु बाटो खोज्दा ‘राल्फा’ बन्यो । राल्फाले फरक खालका प्रयोगवादी रचनारू सिर्जना गर्न थाल्यो ।‘ मञ्जुलले विगतलाई सरसर्ति सम्झिए ।

कार्यक्रमको तेस्रो प्रस्तुति मञ्जुलले भनेझैँ साँच्चै नौलो प्रयोगको गीत थियो । मञ्जुल रामेशले जनतालाई गीत सुनाउने यात्राको प्रारम्भमा राल्फाका अमूर्त गीत पनि सुनाउथे । त्यस्ता गीतलाई त्यसबेलाका बामपन्थी युवाहरूले रुचाउदैनथे र खरो आलोचना गर्थे । त्यसपछि मञ्जुलले आफ्नो गीत लेखनको धारलाई जनपक्षीय बनाए । उनले लेखे, ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ पलेँटीको टीमले यो गीत गाउँदा दर्शकदीर्घाबाट राल्फाका अर्का गीतकार निरन पनि गुनगुनाइरहेका देखिन्थे । कार्यक्रममा राल्फाका अर्का सदस्य विमल राल्फाको पनि उपस्थिति थियो ।
तेस्रो प्रस्तुतिले नेपाली समाजमा संगीतको सेवा गरेर जीवन गुजार्ने गान्धर्व समुदायलाई सम्मान व्यक्त गरेको भान हुन्थ्यो । सरल लोकभाका शैलीमा बनेको गीतलाई दर्शहरू पनि गुनगुनाइरहेका सुनिन्थे, ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा’ । कुनै बेला गीतार हातमा लिएर गाउन रुचाउने मञ्जुल आइतबार भने बिनागिटार मग्न भावमा गाइरहेका देखिन्थे ।
चौथो गीत देशप्रेमलाई कलात्मक भावधारामा बहाउन सक्षम गीत थियो । विगतका पलेँटीमा यो गीतलाई मूल गायक कुमार सुब्बा र मीना निरौलाले संगीतकार कर्म योञ्जनले भरेको धुनमा सुनाएका थिए तर सो दिन रामेशकै संगीतमा गुञ्जिएको थियो । मेरो सानो मुरलीमा मेरो देश नअट्ला तर मेरो मुरलीले भका राखूँ भन्छ ।
कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलले केही पुराना कविताहरू वाचन गरेका थिए । उनले आफ्नो पुरानो कवितासंग्रह ‘गायक यात्री’ बाट त्यही शीर्षकको कविता लगायत ‘गीतार’ शीर्षकको कविता सुनाएका थिए । कवि मञ्जुलका पहिलो चरणका कविताले सामाजिक र राजनैतिक परिवर्तनको पक्षधरता लिएका पाइन्छन् ।

कविता वाचन पश्चात विगतमा उनीसँग नजिकबाट संगत गरेका तथा संगीत र साहित्यमा गहिरो अभिरुचि राख्ने राजनैतिक व्यक्तित्व रघु पन्तले मञ्जुलको व्यक्तित्व र कृतिमाथि आफ्नो मन्तव्य राखेका थिए । रघु पन्तले मञ्जुल र रामेशसँगको संगतको प्रसंग कोट्याउँदै विगतका क्षणहरूको व्याख्या गरे ।

‘मञ्जुल दाइ भावनात्मक भावधारा बोकेको रचनाकार हुनुहुन्छ । उहाँसँग संगत गर्दाको अनुभवबाट मलाई के लाग्छ भने उहाँको उर्जावान प्रेरणाले नयाँ पुस्ताका धेरै प्रतिभाहरूलाई सृजनशील बनाएको थियो, तिनमा अहिले सफलता प्राप्त गरेका कतिपय नाम पनि सामेल छन्, भन्ठान्छु’ रघु पन्तको धारणा थियो । मञ्जुलसँग आफूले भेटेको समय र राजनैतिक परिवेशको सम्झना गर्दै रघु पन्त अगाडि भन्दै हुन्छन्, ‘मञ्जुल दाइले एउटा उपन्यास लेख्नु भएको थियो, ‘छेकु डोल्मा’ त्यो कृति सयौं प्रति मञ्जुल दाइ र म सँगै बसेर आगोमा जलाएका थियौं । पुस्तक जलाउने क्रममा मलाई कताकता लाग्यो, एककपी रेकर्डको लागि राख्नु पर्छ तर मञ्जुल दाइले मैले के लेखेँ अब यसलाई निमिट्यान्नै पार्नुपर्छ भन्नुभएथ्यो ।’ सडकमा हिँड्दै गर्दा केही दिनअघि फुटपाथमा बेच्न राखिएको ‘छेकु डोल्मा’को प्रसंग जोड्दै रघु पन्तले त्यसबेलाको राजनैतिक सोचको सम्झना गरे ।

सम्झनाका पाइलाहरूको प्रसंग जोड्दै रघु पन्तले भने, ‘मञ्जुल दाइले रुपरेखा पत्रिकामा लेखेको संस्मरणको शृंखलामा रामेशले छुटेका कुराहरू थप्नेक्रम सुरु भयो र दुबैको छलफल र सहकार्यमा यो कृति तयार भयो । यो उहाँहरूले गरेको सांगीतिक यात्राको छोटो समयको वर्णन हो तर यसमा तत्कालीन सामाजिक, राजनैतिक र सांस्कृतिक अवस्थाको सुन्दर चित्रण छ । यो नयाँ पुस्ताले पढ्नै पर्ने कृति हो ।‘

यसपछि ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरिएको थियो । मञ्चमा रहेका कवि तथा गायक मञ्जुलले दर्शकमा रहेका आफ्ना पुराना सहयात्री तथा गीतकार निरनलाई पुस्तक उपहार दिएपछि पुस्तक विमोचन भएको घोषणा गरिएको थियो । सोही क्रममा निरनले राल्फाकालमा लेखेको गीत ‘के पाटीमा लेखिएका, हामी खरी अक्षर हौं ?’ को पनि प्रसंग उठेको थियो ।

पुस्तक विमोचनपछि कार्यक्रम फेरि गीत गायन र कविता वाचनतर्फ मोडिएको थियो । ‘सम्झनाका पाइलाहरू’मा कोसीको निकै ठाउँमा चर्चा आउँछ । उनीहरूको यात्रा पनि त्यही नदीको निकटबाट गुज्रेको हुन्छ । मीनाको स्वरमा प्रस्तुत गीत ‘कोसी छेउ, उभेको सिमल जत्ति नी बाँच्दिन म’ले त्यही परिवेशलाई सम्झाएको थियो । गीत प्रस्तुतिका क्रममा मञ्जुलले रामेशले सिजर्ना गरेको धुनमा पछि शब्द लेखेको समझ्ना गरेका थिए । त्यसलगत्तै गाइएको ‘मर्छु र म डुंगा बन्छु, आउँदा नदी तार्न सकूँ, मर्छु र म सम्झना हुन्छु, आउँदा आँसु झार्न सकूँ’ले पनि नदी र डुंगाकै बिम्बमार्फत् जीवनपरक भावना व्यक्त गरेको थियो । संगीतकार आभासले यो गीत मञ्जुलको पुरानो गीतसँग्रहबाट आफूले छानेर धुन भरेको जानकारी गराएका थिए ।

कार्यक्रमको अन्तिम चरणमा मञ्जुलले केही नयाँ कविता वाचन गरेका थिए । पछिल्लो चरणमा मञ्जुलले लेखेका कविता प्रकृतिसँग जनजीवनलाई जोड्दै कलात्मक धारमा हिँडेका पाइन्छन् । कार्यक्रमको अन्तिम चरणका गीत प्रस्तुत गर्नु पहिले मञ्जुल आफ्नो पुरानै शैलीमा भन्दै हुन्छन्, ‘अब गाइने गीत तपाईंहरू धेरैले सुनेका गीतहरू हुन् हामी सँगै गाउँ है !’ त्यसपछि सबैको आवाजसँगै ‘आर’ शाला क्रमशः गुञ्जन्छन् ‘गाइ त बाँध्यो ढुंग्रोमा मोई छैन, गरीबको चमेली बोल्दिने कोही छैन’ । कार्यक्रमको समापन ‘कोही त भने जहाज हरर’बाट भएको थियो ।

मञ्जुलको पलेँटीमा गायनतर्फ मीना निरौला, योगेन्द्र उपाध्याय र आभास तथा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, प्रकाशनमा सुन्दरकुमार महर्जन र गीटारमा सुरज प्रधान रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!