
काठमाडौं । नेपाल टेलिकमले फोरजी र एलटीई सेवाको नेटवर्क सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख शहरहरूमा विस्तार गरेको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत फोरजीको औपचारिक शुरुवात गरेका हुन् ।
फोरजी इन्टरनेटको यसको प्रयोगपश्चात उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियोलगायतका नवीनतम सेवाको प्रवाह पनि सहज हुनेछ। मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जनलगायत विविध सेवा प्रवाहमा बृहत् सुधार हुनेछ।
विस्तारित फोरजी/ एलटीई सेवा एलटीई एड्भान्स प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिनेछ। फोरजी सेवा विस्तार भएपछि सेवाग्राहीले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ। यसअघि नै मोबाइलका उपभोक्तालाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शतप्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिने टेलिकमले जनाएको छ। अब टेलिकमका ग्राहकले २५ रुपियाँमा ४०० एमबी डाटा पाउने छन्।
यसअघि टेलिकमले २५ रुपियाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो। यो प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ। यसैगरी जम्मा सय रुपियाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ। यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ। साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपियाँमा उपलब्ध डेढ जीबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ। यी तीनवटै डाटा प्याकेज एनटी फोरजी एलटीई अफरका रुपमा कम्पनीका फोरजी ग्राहकले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहने टेलिकमले जनाएको छ।






