छहरे-टोखा सुरुङमार्ग निर्माण समझदारीले ज्यादै खुसी लागेको सांसद् तामाङको प्रतिक्रिया [बजेट मागको पत्रसहित]

SHARE:

नुवाकोट । काठमाडौं–रसुवा–केरुङ सडकमार्गसँगै दुई खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने समझदारीपछि नुवाकोटका जनप्रतिनिधिहरुले अत्यन्तै खुसी लागेको प्रतिक्रिया जनाएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा छहरे-टोखा र बेत्रावतीदेखि रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–२, घट्टेखाला सुरुङमार्ग बनाउने समझदारीप्रति सांसदहरुले खुसी प्रकट गरेका हुन् । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हितबहादुर तामाङले आर्थिक वर्ष ०७५/७६-०७६/७७ मा बजेट विनियोजनका लागि पहिलो नम्बरमै छहरे-टोखा टनेल बनाउन राखिएको माग कार्यान्वयनतर्फ अघि बढेको बताए । उनले आफ्नै पहलका कारण चालु आवमा छहरे-टोखा सुरुङ मार्गको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नका लागि ४० लाख बजेट छुट्याइसकेको पनि उल्लेख गरे ।

‘मैले निर्वाचित भएर आएकै वर्षमा ०७५/७६ को वार्षिक कार्यक्रममा पार्नको लागि मागहरु पेस गर्दा पहिलो नम्बरमै राखेर पेस गरेको थिएँ,’ सांसद तामाङले भने, ‘त्यही साल वार्षिक कार्यक्रममा शीर्षक उल्लेख भएर आयो । ०७६/०७७को वार्षिक कार्यक्रमको लागि पनि फेरि १ नम्बरमै राखेर माग गरेको थिएँ । डिपिआरको लागि भनेर ४०लाख बजेट छुट्टिएर आएको छ ।’ उनले थपे, ‘मागपत्र पेस गर्दा यसको महत्त्वबारे जति सोचेका थियौं अहिले यसको महत्त्व धेरै गुणा बढेको महसुस भएको छ।’ शनिबार र आइतबार चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा टोखा-छहरे सुरुङ मार्ग निर्माण लगायत दुई देशबीच डेढ दर्जन बढी समझदारी भएका थिए ।

छहरे-टोखा सुरुङ मार्ग नेपाल र चीनकै प्राथमिकतामा परेकोले समझदारी हुन पुगेको भन्दै पूर्व युवा तथा खेलकुद मन्त्री रहेका तामाङले राष्ट्रप्रमुख, मन्त्री र पार्टी नेतृत्वलगायत जिल्लावासीको तर्फबाट धन्यवादसमेत दिए । ‘अहिले चिनका राष्ट्रपति सि चिनफिङको भ्रमणमा दुई राष्ट्र बीचको प्राथमिकतामा परेकोले होला सम्झौता पनि भइनै हाल्यो । त्यस क्रममा चीनका सी र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड, मन्त्री रघुवीर महासेठ लगायतका भूमिकामा रहनुहुने सबै नेता तथा मन्त्रीज्यूहरुलाई नुवाकोट जिल्लावासीको तर्फबाट विशेष धन्यवाद !’

सडक विभागका अनुसार काठमाडौंको टोखा–नुवाकोटको छहरे–गुर्जे सुरुङमार्गको ३.५५ किमिदेखि ५.२० किमि छ । अर्को खण्ड रसुवाको उत्तरगया गाउँपालिका–५ को बेत्रावतीदेखि रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–२, घट्टेखाला (रसुवागढी नाकाभन्दा करिब २ किमि वर) २४ किमि सुरुङमार्ग बनाउन अध्ययन गरिनेछ । विभागले पूर्वसम्भाव्यता अध्ययन गरेका यी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुन बाँकी छ ।

सुरुङ मार्गको प्रवेशद्वार टोखा नगरपालिका वडा नं १, झोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले केरुङ राजमार्गका लागि यो छोटो दूरी र ऐतिहासिक बाटो भएकाले पनि टोखा–छहरे सुरुङ मार्गको ठाउँ उपयुक्त भएको बताए ।

प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वार टोखास्थित झोर–काठमाडौं चक्रपथको सामाखुसी चोकबाट करिब साढे ७ किमि उत्तरमा छ । चीनको रेसुओपोर्ट र नेपालको रसुवाको सीमानाका रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, नुवाकोट त्रिशूली, विदुर, गंगटे, ढिकुरे, छहरे, गुर्जेभन्ज्याङ, काठमाडौंको टोखासम्मको दूरी १ सय किमि छ । छहरेदेखि टोखा २७ किमि छ । उक्त सडक साँघुरो छ । सडक वर्षात्को समयमा भारवहन गाडीले गुड्दा बाटो भत्किएको छ । घुम्ती धेरै छन् । सडक डिभिजनका अनुसार रसुवागढी–बेत्रावती, छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमि सडक छोटिनेछ ।

विभागले विगतमा प्रारम्भिक अध्ययन गरेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा सम्भाब्यता अध्ययन गर्न कार्यक्रम र बजेट छुट्याएको जनाएको छ । छहरे–टोखा सुरुङ मार्गको निर्माण हुने विन्दु नुवाकोटको छहरेदेखि साढे ३ किमि दक्षिण पूर्व घट्टेखोलामा पर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!