लन्डन । अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गर्ने भएको छ । सो पुरस्कारका निम्ति योग्य प्रतिभाको छनौटका लागि गत सेप्टेम्बर ९ मा बसेको बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय सर्वोत्कृष्ट प्रतिभा छनौट समिति गठन गरी जिम्मा दिएको थियो । समितिले पुरस्कारका लागि यही अक्टोबर ९ मा प्रा.डा.लुइँटेलको नाम सिफारिस गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषासाहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एक जनालाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आएको छ । नेपाली भाषासाहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषासाहित्यको विस्तार, संवद्र्धन र संरक्षणमा विशेष योगदान दिनाका साथै नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र मानकीकरण गर्न उनले गरिरहेका विशेष सक्रिय भूमिका एवं विशिष्ट योगदान तथा अनेसासको संस्थागत उन्नयन र विकासमा उनले विभिन्न रूपमा गरेको विशिष्ट भूमिका र योगदानको उच्च मूल्याङ्कन गरी उनलाई यसपटक यस पुरस्कारबाट पुरस्कृत गर्न सिफारिस गरेको कुरा सिफारिस समितिले उल्लेख गरेको छ ।
अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनाशीले प्रायोजन गरेको सो पुरस्कारको राशि हाल २५०० अमेरिकी डलर रहेको छ । यसअघि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशि २००० अमेरिकी डलर थियो ।
आगामी नोभेम्बर १० तारिखमा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइँटेललाई पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।






