एनआरएनए आईसीसी अध्यक्षमा आचार्य र पन्तले उम्मेदवारी दिने

SHARE:

एटा संवाददाता
लन्डन । अहिले काठमाडौं गैरआवासीय नेपालीमय बनेको छ । अक्टोबर १५–१७ सम्म काठमाडौंमा सम्पन्न हुन लागेको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिनका लागि करिब ३५०० जना प्रतिनिधि काठमाडौं पुगिसकेका छन् ।

८३ वटा देशमा फैलिएका गैरआवासीय नेपाली संघको केन्द्रीय नेतृत्व चयन गर्नका लागि प्रतिनिधिहरु नेपाल पुगेका हुन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । संघको नेतृत्वका लागि बेलायतका कुल आचार्य र जर्मनका कुमार पन्तले उम्मेदवारी दिने भएका छन् ।

यसअघि डा. उपेन्द्र महतोले (२००३–२००९) देवमान हिराचन (२००९–२०११), जिवा लामिछाने (२०११–२०१३) र शेष घले (२०१३–२०१७) ले अध्यक्षता गरिसकेका छन् भने वर्तमान अध्यक्ष भवन भट्ट (२०१७–२०१९) को यसै महाधिवेशनमा कार्यकाल सकिँदैछ ।

संसारभर छरिएर रहेका नेपालीहरुलाई एउटै छातामुनी आबद्ध गराई नेपालको समृद्धिमा हातेमालो गर्ने उद्देश्यअनुरुप स्थापना भएको गैरआवासीय नेपाली संघको केन्द्रीय नेतृत्वलाई निकै महत्वका साथ हेरिन्छ । सोही कुरालाई मध्यनजर गर्दै विभिन्न देशबाट प्रतिनिधिहरु छनोट भई महाधिवेशनमा भाग लिन आउने गर्दछ ।

हालसम्म रसिया, जापान र अस्ट्रेलियाका सफल व्यवसायीहरुले मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षता गरेका छन् भने यसपटक बेलायतका सफल व्यवसायी कुल आचार्य र जर्मनका सफल व्यवसायी कुमार पन्तले अध्यक्षमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरेका हुन् ।

यसअघि गोरखाका पन्तले दुई कार्यकाल र पर्वतका आचार्यले एक कार्यकाल उपाध्यक्षको भूमिकामा रहेर विभिन्न महत्वपूर्ण कामहरु गरिसकेका छन् ।
सन् २००३ साल अक्टोबर ११ तारिखका दिन बेलायतबाटै जन्म भएको गैरआवासीय नेपाली संघको नेतृत्वका लागि एनआरएनए यूकेका पूर्वअध्यक्ष रहेका कुल आचार्यले उम्मेदवारी दिने घोषणाले अहिले विश्व सम्मेलनमा बेलायतले निकै चर्चा पाएको छ ।

सन् १९९९ सालदेखि बेलायतमा स्थायी रुपमा बस्दै आएका आचार्य एनआरएनए यूकेको पूर्वअध्यक्ष, एनआरएनए युरोप संयोजक हुँदै सन् २०१७ मा एनआरएनए आईसीसी उपाध्यक्षको भूमिकामा पुगेका थिए । बेलायतमा होलिकाउ नामक रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका आचार्य गैरआवासीय नेपालीहरुको हकअधिकारबारे निकै जानकार छन् । उनले हालसम्म प्राप्त गरेको अनुभवको आधारमा एनआरएनएलाई अझ थप उचाईमा लैजाने उद्देश्यका साथ उनले उम्मेदवारी दिन लागेका हुन् ।

अध्यक्षका प्रत्यासी आचार्यले मातृभूमिको समृद्धि तथा लगानीको प्रत्याभूति गर्ने, मर्यादित तथा व्यवस्थित वैदेशिक रोजगारलाई देश निर्माणको आधार बनाउने, झन्झटमुक्त गैरआवासीय नेपाली नागरिकता, अहिलेको आवश्यकता भएको यस नागरिकता निरन्तरताको मागलाई निरन्तरता दिने, नेपालमा लागनी गरी उन्नतिको बिहानी ल्याउने, ‘ब्रेन ड्रेन’ बाट ‘ब्रेन गेन’ तर्फ ल्याउन नेपाल सरकारले ल्याएको ‘ब्रेन गेन सेन्टर’ सँग सहकार्य गर्ने, संस्थागत सुधारका भिजन २०२० एण्ड वियोन्ड अवधारणापत्रलाई अनुशरण गर्दै चरणबद्ध रूपमा कार्यान्वयन गर्ने, एनआरएनएका सबै आयोजनमा युवा तथा महिलालाई आबद्ध गराउने, दुर्घटनालाई न्यूनिकरणका लागि सडक सुरक्षा बनाउन नेपाल सरकार सँगको सहकार्यलाई निरन्तरता दिने, सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन पर्यटन प्रवद्र्धनलाई मिसन बनाउने, मातृभूमिमा समृद्धि ल्याउनका लागि कर्मभूमिमा नेपाली भाषा, भेष, साहित्य, संस्कृति, कला हाम्रा पहिचानलाई संरक्षणका आवश्यक पहल गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।

एनआरएनए आईसीसी अध्यक्षका प्रत्यासी जर्मनका कुमार पन्त सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भए । सन् २००९–२०११ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी वहन गर्न पुगे । सन् २०१३–२०१५ मा महासचिव भए र २०१५ यता आईसीसी उपाध्यक्षको जिम्मेवारीमा छन् । उनले ‘एनआरएनएसँग हरेक प्रवासी नेपालीको स्वाभिमान र मर्यादा जोडिएको छ, यसलाई थप सुदृढ बनाउने प्रयत्नमै हर तरहले जुट्नेछु’ भन्दै लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिता गराउने ५ मन्त्रसहित आप्mनो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष (१ महिलासहित) ५, महासचिव १, सचिव २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १, युवा संयोजक १, क्षेत्रीय संयोजक ६, क्षेत्रीय महिला संयोजक ६, क्षेत्रीय युवा संयोजक ६ गरी कम्तीमा ३७ जनाको कार्यसमिति छनोट गर्ने छ । त्यस्तै, आईसीसी सदस्यहरु भने यसअघि नै ८३ वटै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ले सदस्य संख्याको आधारमा चयन गरिसकेको छ । ५ हजार सदस्य संख्या भएको एनसीसीबाट ५ जना, ७ हजार सदस्य भएकोबाट ६ जना, १० हजार सदस्य भएकोबाट ७ जना, १४ हजार सदस्य भएकोबाट ८ जना, १९ हजार सदस्य भएकोबाट ९ जना र २५ हजार सदस्य संख्या भएको एनसीसीबाट १० जना आईसीसी सदस्य चयन गर्ने एनआरएनएको निर्वाचन सम्बन्धी नियमावलीमा उल्लेख छ । सोही अनुरुप बेलायतबाट ललित न्यौपाने, सुशीला राई, योगकुमार फगामी, लिलादेवी गुरुङ, दयानिधि सापकोटा, अर्कराज तिम्सिना र सुरज मास्के आईसीसी सदस्यमा निर्वाचित भइसकेका छन् ।
९ औं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिनका लागि एनआरएनए यूकेबाट अध्यक्ष पुनम गुरुङसहित १७१ जना प्रतिनिधिहरु काठमाडौं पुगिसकेका छन् ।
अध्यक्षका प्रत्यासी बेलायतकै भएकाले पनि बेलायतवासी नेपालीहरुले सो महाधिवेशनलाई विशेष चासोका साथ हेरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!