दाङ । प्रहरीले दाङमा बिहीबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थल नियन्त्रणमा लिई २१ नेताहरु पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका ४ मुग्रेठा खोलास्थित जंगलको बीचमा मध्यपश्चिम कमाण्डको बैठक बसिरहेको अवस्थामा राति १ बजे बैठकस्थल घेरा हालेर केन्द्रीय सदस्यहरुसहित २१ नेताहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।
पक्राउ परेका नेताहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको उनले बताए । मुग्रेठा नेपाल भारत सीमा क्षेत्रमा पर्छ । त्यहाँ पुग्न ५ घण्टा बढी पैदल हिँड्नुपर्ने भएकाले रातभर हिँडेर पक्राउ गरेको र अहिले पनि बाटोमै रहेको डिएसपी शाहले जानकारी दिए ।
उनीहरु जंगलको बीचमा रहेको एक घरमा बैठक बसिरहेका थिए । पक्राउ परेका नेताहरुको नाम र विवरण आउन बाँकी रहेको उनले बताए । प्रहरीले यसलाई ठूलो सफलताका रुपमा लिएको छ ।






