डिलबहादुर गुरुङ र भीमकुमारी गुरुङका एक्लो छोरा सविन गुरुङको जन्म ३५ वर्ष पहिले साविक भदौरे तामागी गाविस, सिधाने गाउँमा भएको हो । सानैदेखि केही नौलो र आँटिलो काम गर्न मन पराउने बानी रहेछ उनको । गाउँले परिवेश र आफन्तको चाहना हाईस्कुलसम्म पढ्ने अनि पैसा कमाउन विदेश लाग्ने थियो । सविनलाई त्यही कुराले छोएन रहेछ । स्वदेशमै केही गर्छु भन्ने हिक्मत गरेर पोखरामा भरखरै मात्र सुरुआत भएको पाराग्लाइडिङ पाईलट ट्रेनिङमा जाने मनसाय गरेछन् तर परिवार कसैबाट पनि मद्दत नपाएपछि केही समय अल्मलिए छन् । मामा डमरकाजी गुरूङले जवान भान्जाको ईच्छा पूरा गरिदिएपछि सविन अहिले पोखराको एक पुरानो र अनुभवी पाईलटमध्येमा गनिन्छ । प्रस्तुत छ, पाराग्लाइडिङ पाईलट सविन गुरुङसँग एभरेष्ट टाइम्सका लागि प्रकाश गुरुङले गरेको कुराकानी :

पाराग्लाइडिङ भनेको के हो ?
साधारणतया बिनाइन्जिन चिलजस्तै अकाशमा उड्ने एउटा खेल हो । यो खेल डेभिट बरिस भन्ने अमेरिकन नागरिकले पहिलो पटक सुरुआत गरेको भनिन्छ । केही उचाई भएको डाँडाको स्लोपमा हावाको मद्दतले दौडिने र क्यानोपी पूरा फुकेपछि अकाशमा उड्ने प्रक्रिया हो ।
यो क्षेत्रमा प्रवेश गर्ने चाहना कसरी भयो ?
म बच्चैदेखि अलि फरकपनको थिएँ । केही नौलो कुरा गर्नैपर्ने । पोखरामा भरखरै मात्र देखिएको थियो पाराग्लाइडिङ । मलाई अचम्म लाग्यो । बिनाइन्जिन आकाशमा खुला उडिरहेछ । मलाई सिक्ने उत्सुकता जाग्यो र बुझ्ने प्रयास गरेँ । सिक्ने फि निकै महँगो र मेरो परिवारको औकातभन्दा बाहिराको विषय बन्न पुग्यो । मैले मामा जो ब्रिटिस गोर्खा सेनामा हुनुहुन्थ्यो । उहाँलाई पाईलट सिक्ने तीव्र इच्छा भएको कुरा जाहेर गरेँ, स्वीकार गर्नुभयो । र, मामाकै मद्दतले आज एक व्यावसायिक पाईलट भएको छु ।
कति समय तालिम लिएपछि व्यावसायिक पाईलट हुन सकिन्छ ?
सुरुमा १५ दिनको बेसिक कोर्स गर्नुपर्छ । त्यसपछि आफ्नो कन्फिडेन्स अनुसार सोलो सुरु हुन्छ । एक जना उड्नेलाई सोलो र दुईजना उड्नेलाई टेनडेम भनिन्छ । ३ वर्ष सोलो गरिसकेपछि मात्र व्यावसायिक पाइलट बन्न सकिन्छ । म अहिले यो पेसामा लागेको पनि आठ वर्ष भइसक्यो ।
डर लाग्दैन ?
सुरु सुरुमा केही अप्ठ्यारो भयो तर मलाई उचाईमा डर लाग्दैन ।
सिक्दा वा पेसेन्जरसँग हुँदा केही घटना भयो ?
सिक्नेक्रममै एक पटक घरमाथि खसेँ । केही चोटपटक लागेको थियो । २ महिना अराम गरेँ र पुनः ट्रेनिङमा लागेँ । बाबाआमाबाट ठूलो दबाब आएको थियो । एक्लो छोरो, भाग्यले बाँचिस् । अब भयो, छोड्दे । तर, मैले पाइलट हुने ऐम पूरा नगरी नछाड्ने अडिग लिएँ । त्यतिबेला बाबाआमा धेरै चिन्तामा हुनुहुन्थ्यो ।
आठ वर्षको अवधिमा एक पटकमात्र पेसेन्जरसँग हुँदा सानो घटना भयो । ल्यान्डिङ गर्दा मेरो खुट्टा मक्र्याे तर पेसेन्जर त सेफनै थिए । मलाई लाग्छ, यो खेल सुरक्षित छ । ऐडभान्चर हो । त्यसैले साधारण रुपमै लिन्छु । सानोतिनो घटना त घरमा बसिरहँदा पनि हुन्छ नि !
पोखरामा किन प्रख्यात छ यो खेल ?
धेरै कारणले । पहिलो त सुन्दर पोखरा भुइँबाट हेर्दा त कति सुन्दर देखिन्छ । त्यसैलाई खुला आकाशबाट उडेर हेर्दा कल्पना गर्नुस् न ! पाराग्लाइडिङका लागि पोखरा संसारकै उत्तम ठाउँमध्येमा पर्दछ । हाम्रो देशमा कुनै खेलको पनि वर्ल्ड कप हुने सम्भावना न्यून छ । तर, यो खेलको लागि भने प्रशस्त मौका छ । भरखरै मात्र पाराग्लाइडिङ प्रि वर्ल्ड कप पोखरामा सम्पन्न भएको छ ।
हामी आशा गर्छौ निकट भविष्यमा वर्ल्ड कप पनि पोखरामा नै हुनेछ । टेक अफ पोइन्ट सराङकोटबाट गरिन्छ । जुन ठाउँ लेकसाइडबाट २.४ किमि दूरीमा पर्दछ । १५९२ मिटर छ उचाई सराङकोटको । पोखरा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरुको मन पर्ने ठाउँ हो । नेपाल आएका पर्यटकहरुमध्ये पोखरा नआई, पाराग्लाइडिङ नगरी कोहि पनि फर्किन्न जस्तो लाग्छ ।
निकै लामो समय पाइलट गरिसक्नु भएछ । कुनै सेलेब्रेटीहरुलाई पनि उडाउनु भयो ?
खोइ खासै लेखाजोखा नै हुँदैन । मेरो काम उडाउने हो । भन्दैमा अनमोल केसीलाई उडाएको छु जेरी भन्ने नेपाली फिल्ममा र लुट फिल्मकी सिर्जना सुब्बालाई पनि । तर, एक जना मन्त्रालयका सचिव रहेछ । उहालाई मेरो पाईलटिङ अति मन परेकाले काठमाडौंबाट बिहानको फ्लाईटमा आएर उडेर सीधैं काठमाडौं फर्किनु भयो ।
यस कामले घर परिवार पाल्न सकिन्छ ?
गज्जबले । पोखरामा धेरै कम्पनीहरु छन् तर ग्राहकको कमी छैन । त्यसैले राम्रै छ । सिजनमा दिनको तीन फ्लाइटसम्म गरिन्छ ।
कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
कामले मलाई धेरै आनन्द मिलेको छ । कारण ऐडभान्चर मेरो हबि र साथैमा कमाई पनि हुने, त्यसैले प्रत्येक दिन इन्जोए गरिरहेको छु ।
विशेष सधैं होइन । कुनै बेला उडान गर्दा पोखरामाथिबाट बेगनास ताल पनि देखिन्छ । त्यो समयमा धेरै आन्नदित हुन्छु । एक जना अमेरिकन टुरिस्टले भनेको सम्झिन्छु । तपाईंको जस्तो काम त संसारमा थोरै मान्छेले मात्र गर्न पाउँछन् । दिस इज वर्ल्ड टप जब । यूआर लक्की म्यान । इन्जोइङ्ग एण्ड अर्निङ द सेम टाइम । एक छिन मख्ख परेँ । हो जस्तो पनि लाग्यो । बाबा आमा र परिवार पनि खुसी हुनुहुन्छ । र, काममा थप उर्जा मिलेको छ ।
हिजो र आजको सविन गुरूङमा के फरक छ ?
मान्छे त एकै किसिमका हुन्छन् । तर, कामको अनुभवले केही फरक सोच आउँछ । सुरुका दिनहरु कठिन थिए । परिवारबाट पनि सहयोगको बाटो साँघुरो थियो । पाइलटिङ सिक्नलाई तिर्ने पैसा थिएन । आफन्त जान्ने बुझ्नेले पनि उडेर कहीं पैसा कमाउन सकिन्छ । त्यो त धनी गोराहरुको सौखको खेल हो भन्दिने । घरको एक्लै छोरा कमाई गर्नुपर्ने उमेर भइसक्दा पनि यो खेलको पछि लाग्दा बाबाआमा अति चिन्तित आवस्थामा हुनुहुन्थ्यो । ठूलो फरक आजभोलि त्यही अनुहारमा खुसी देख्छु । यहीमार्फत धेरै साथीभाईसँग चिनापर्ची भएको छ ।
तपाईंजस्तै युवाहरुलाई के भन्नु हुन्छ ?
हामी युवाहरु धेरै विदेशमुखी छौं । नेपालमा केही मौका नै छैन भन्छन् । गलत हो । काम, पेसालाई हामी अवहेलना गर्छौं । एकै पटक मेनेजर लेभलको, प्रतिष्ठित जागीर खोज्छौं । आफ्नो खुबी अनुसार काम, व्यावसय गरे नेपालमा प्रशस्तै मौका छन् । धैर्य गर्नुपर्छ । अर्काले गरेको जस्तै काम, व्यवसाय होइन अलि फरक खालको सोचमा अगाडि बढ्नु पर्छ । आफैंमा विश्वास हुनुपर्छ कि म गर्न सक्छु । उद्देश्य लिएर काम गर्दा मात्र सफल हुन्छ ।
बिदेश पनि जानुभएको छ उड्नलाई ?
इच्छा त छ । भिसाकै समस्या अनि महँगो पर्छ हामीलाई । एक पटक सिक्किममा उडेको छु र नेपालभित्रै धरान, बन्दीपुर र स्याङ्जाको शिरकोटमा उडेँ । मैले पारामोटरको पनि कोर्स गरेको छु । लाइसेन्स छ । तर, अलि महँगो पर्ने र केही बिग्रेमा मर्मत गर्न थाइल्यान्ड नै लानु पर्ने हुँदा कमर्सियल क्षेत्रमा त्यति चलेको छैन ।
फुर्सदमा के गर्नु हुन्छ ?
सके सम्म परिवारलाई समय दिन्छु । छोरी र श्रीमती छन् साथमा । जर्मन सेफर्ड छ । कछुवा र केही चराचुरुङ्गी पनि पालेको छु । मलाई जनवारसँग माया छ । केही गीत पनि कोर्ने गर्छु । एउटा गीत गाएको पनि छु ।
अन्तमा युकेवासी नेपालीलाई केही भन्नुहुन्छ ?
पोखरा आउनुस्, पाराग्लाइडिङ गर्नुस् । यो खेल सेफ छ । तपाईं आफंै उडेपछि मात्र आनन्दको अनुभूति गर्नुहुन्छ । म “माउन्टेन हक ऐरो स्पोटर्स क्लब’’ सँग अबद्ध छु । हाम्रो अफिस लेकसाईड, पोखरामा छ । तपाईहरु आउनुहुँदा विदेशी साथीहरु पनि लिएर आउनुहोस् । जसले गर्दा हाम्रो देशको पर्यटन व्यवसायलाई टेवा पुग्दछ । मेरो अनुभवलाई युकेका नेपाली दिदीबहिनी, बाबाआमा र दाज्युभाइसम्म पु¥याइदिनुहुने एभरेष्ट टाइम्स र तपाईंलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु ।






