जनकपुर । नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन् ।
एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी शुक्रबार बिहान १०:४५ बजे जनकपुर विमानस्थलमा आइपुगेका हन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गरे ।
प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो ।
भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट जानकी मन्दिरमा हुने पुजाअर्चना तथा अन्य कार्यक्रमका लागि प्रस्थान गरेका थिए । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी मोदीले शुक्रबार संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गर्नेछन्, त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन गरिनेछ ।
प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा चुस्त
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका सन्दर्भमा उहाँको कार्यक्रम हुने स्थलमा सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि, २०७० अनुसार अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि चारवटै सुरक्षा निकायलाई एकीकृत रुपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा योजना बनाइएको र सोही अनुसार सुरक्षा फौज परिचालन गरिएको छ । ती जिल्लामा सुरक्षाकर्मी अपुग भएमा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी तत्कालै पठाइने व्यवस्था मिलाइएको पनि प्रवक्ता सुवेदीले बताए । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पर्याप्त मात्रामा परिचालित भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए ।
ट्राफिक व्यवस्थापन
भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुने मार्गहरुमा आवश्यक ट्राफिक व्यवस्थापन भइरहेको छ । सकेसम्म छोटो मार्गबाट उहाँको यात्रा हुने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताउनुभयो । उहाँ सवार हुने मार्गमा १० मिनेटअघि मात्र सडक खाली गरिनेछ । अत्यावश्यक सवारीसाधन र एम्बुलेन्सहरुलाई भने जुनसकै समयमा आवागमन गर्न दिइनेछ ।
काठमाडौँमा शुक्रबार बिहानैदेखि सडकमा सवारी आवागमन पातलो देखिएको छ । मुख्य स्थानहरुमा सरसफाइका साथै विभिन्न तुल, ब्यानर सजाइएको छ भने चोकचोकमा नेपाल भारतका झण्डाहरु फहराइएका छन् । धनुषाको जनकपुरका कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदी काठमाडौँ आई उच्चस्तरीय भेटघाटमा व्यस्त रहनेछन् भने शनिबार मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ ।


