
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले र्यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको बचाउ गरेका छन् ।
‘यस्तै त हो नि ब्रो’ बोलको गीतलाई लिएर प्रहरीले भिटेन नामले परिचित र्यापर समीर घिसिङलाई बिहीबार विहान ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ । यसअघि ‘तिहार’ बोलको गीतलाई लिएर गायक दुर्गेश थापालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटालाई थापा र भिटेन पक्राउबारे प्रश्न सोधिएको थिए । जवाफमा उनले नेपाली समाजको मूल्य पद्धती रहेको र स्वतन्त्रताका नाममा त्यसलाई भत्काउने गल्ती नगर्न आग्रह गरे । कलाकारिता समाजको ऐन भएको भन्दै उनले अघि भने, ‘दिदी, भाइ, बहिनी, आमा र परिवारसँग बसेर तीनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपिरो हुन्छ कि ?’
सरकारले बस भने बस, उठ भने उठ नचाहेको तर अराजकता स्वीकार्य नहुने उनले बताए ।






