मोरङ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कामले गति लिन नसकेको बताएका छन् । ‘सरकारको कामले गति लिनुपर्ने हो तर लिन सकेको छैन,’ नेपालले शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा भने, ‘विगतमा भएका कमी–कमजोरी र त्रुटि सच्याएर अघि बढ्नुपर्छ ।’
जनताका समस्या र गुनासालाई सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व भएको उनको भनाइ थियो । ‘जनताको भावनाअनुसार कामलाई गति दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि नियम–कानुन परिवर्तन गरेर वा राम्रो गर्नेलाई प्रोत्साहित गरेर, जे गरेर भए पनि कामलाई गति दिनुपर्छ ।’
द्वन्द्वकालका मुद्दालाई छिट्टै टुंग्याउनुपर्ने उनले बताए । ‘द्वन्द्वकालको मुद्दा टुंग्याउन ढिलाइ गर्नु हुँदैन,’ उनले भने, ‘यो विषयको छिनोफानो भएपछि सबैलाई मनको सन्तुष्टि हुन्छ, चित्त बुझ्छ ।’






