काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गरेका छन् ।

तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजस्ता क्रियाकलाप भइरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले तिहारले सिंगो नेपाली समाजलाई नै सुमधुर सम्बन्धसहितको सुव्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान दिइरहेको पनि स्मरण गराए ।
‘तिहारले नेपाली समाजलाई सुमधुर सम्बन्धसहितको सुव्यवस्थित, मानवीय तथा सामाजिक भावना भएको समाजको रुपमा स्थापित, व्यवस्थित गराउन ठूलो योगदान गरेको छ,’ मंगलबार आफ्नै सरकारी निवास बालुवाटारमा भाइटीका ग्रहणपछि प्रधानमन्त्री ओलीले भने, ‘तर तिहारमा नराम्रा क्रियाकलाप हुने गरेकाले ती क्रियाकलापहरुलाई हामीले छोडनुपर्छ, ती हाम्रा परम्परा होइनन्, त्यस्ता विकृतिलाई छाडेर सुकीर्तिलाई अघि बढाउन र अपनाउन म सबैलाई आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले त्यस अवसरमा सबै नेपाली जनताको उन्नति र प्रगतिको कामना पनि गरे । ‘तिहारको अवसरमा सबै दिदीबहिनी–दाजुभाईलाई हार्दिक र मंगलमय शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘सबैको स्वास्थ्य राम्रोहोस् सबैको भलोहोस् उन्नति र प्रगतिहोस् ।’






