
काठमाडौं । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र प्रदेश ३ की उपसभामुख राधिका तामाङले लप्सेफेदी बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
सत्तारुढ नेकपाका नेता, कार्यकर्तासहित काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेलाई भेटेर सांसद र उपसभामुख तामाङद्वयले स्वास्थ्यलाभको कामना गरेका हुन् । नुवाकोटको गोल्फुभञ्ज्याङबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै काठमाडौं आउँदै गर्दा बा५ख ५०७० नम्बरको बस बिहीबार काठमाडौंको शंकरापुर नगरपालिकाको लप्सेफेदीमा दुर्घटना भएको थियो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५६ जना घाइते भएका थिए ।
नुवाकोटबाट निर्वाचित जनप्रतिनिधिद्वयले घाइतेको उपचारमा कुनै कसर बाँकी नराखी यथाशक्य छिटो उपचारमा जुट्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन् ।
घाइतेहरुको नारायणटारस्थित अर्थोपेडिक हस्पिटल, मेडिकल कलेज जोरपाटी, ओम हस्पिटल, मेडिकेयर हस्पिटल चाबहिल र शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत भइरहेको छ । जहरसिंह पौवाको ओरालो सकिएर पुल तरेलगत्तै बस सडकमै पल्टिएको थियो । दुर्घटनामा घाइते हुनेमा २६ महिला र २५ जना पुरुष छन् ।
‘२०७६/०७/१५ हिजो नुवाकोटको गोल्फु भञ्ज्याङबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै काठमाडौं आउँदै गरेको यात्रुबाहक बस काठमा दुर्घटना हुँदा घाइते हुनुभएका बिमारीहरु नारायणटारस्थित अर्थोपेडिक हस्पिटल ,मेडिकल कलेज जोरपाटी, ओम हस्पिटल र मेडिकियर हस्पिटल चाबहिल र शिक्षण हस्पिटल महाराजगन्ज लगायतका ठाउँहरुमा उपचाररत हुनुहुन्छ,’ घाइतेलाई भेटेपछि सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्’, ‘उहाँहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना ब्यक्त गर्दछु । ३ जना घटनास्थलमै निधन हुनुभएको छ उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना । सम्बन्धित सबैलाई यथाशक्य छिटो उपचारमा जुट्न हार्दिक अनुरोध छ ।’







