एटा संवाददाता
लन्डन । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले एक कार्यक्रमको आयोजना गरी आप्mना मतदाता, शुभचिन्तक, अग्रज लगायतलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

गत शुक्रबार १ नोभेम्बर बेलुकी अल्डरसटस्थित एम्पायर हलमा पुनम गुरुङ जिताऔं अभियानले आयोजना गरेको कार्यक्रममा उनले धन्यवाद दिएकी हुन् । उनी गत १४ सेप्टेम्बरका दिन सम्पन्न एनआरएनए यूकेको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् ।
कार्यक्रममा अभियानका प्रमुख संयोजक ह.ले.रि. चन्द्रबहादुर गुरुङले अभियानलाई सहयोग गर्ने युवा, महिला लगायत सबै महानुभावहरुलाई हृदयदेखि नै धन्यवाद दिए । उनले निर्वाचनको क्रममा भिन्नभिन्न समूह भएको भए तापनि अबको कार्यसमिति एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अभियानका सचिव कृष्णप्रसाद गुरुङले सञ्चालन गरेको कार्यक्रममा एनआरएन अभियन्ता रामशरण सिम्खडाले चुनावी कुरालाई छाडेर सबैलाई समेटेर एनआरएनए युकेलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले पुनमलाई जिताउन ह्यारो बुथले खेलेको भूमिकाको स्मरण गर्दै कसैले के भन्यो, के लेख्योतर्फ ध्यान नदिई अगाडि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालबाट आएका लोक तथा दोहोरी गायक भिम पौडेल र गायिका सिर्जु अधिकारीले विभिन्न गीतहरु प्रस्तुत गरी भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
अभियानका प्रमुख संयोजक ह.ले.रि. चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमुधिं यूके संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।






