काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालापानीबाट आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

काठमाडौमा भएको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन युवा संघ प्रथम राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उनले नेपालको एक इन्च भूमी पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अहिले आएर सिमाना मिचिएको नभई यसअघिका शासकको कमजोरीका कारण मिचिएको जिकिर गरे ।
वर्तमान सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको उनको दावी थियो ।
प्रधानमन्त्री ओलीले सीमाका विषयमा राष्ट्रिय एकता कायम भएको भन्दै नेपाली भूमिबाट विदेशी फौज फिर्ता पठाउने दृढता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सीमा विवादबारे केहि व्यक्ति राष्ट्रवादी बन्न खोजेको आरोप लगाउँदै उछृङ्खल गतिविधिले समस्या समाधान नहुने टिप्पणी गरे ।
कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको उल्लेख गर्दै उनले संवादबाटै समस्या समाधान हुने पनि बताए ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गरिरहेको भएपनि वैचारिक पूर्वाग्रह राखेर सरकारको आलोचना भईरहेको टिप्पणी गरे ।






