
बागलुङ । कुलपूजाका लागि हिँडेका यात्रुले खचाखच जिप घुम्तीमा मोड्न नसकी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
गुल्मीको इस्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकाको देवीस्थानतर्फ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भीमगिठेबाट मंगलबार बिहान साढे ९ बजे खोलामा खसेको थियो । दुर्घटनामा ३ जना घाइते भएका छन् भने एक जनालाई बडिगाड खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ।
कार्की परिवारका सदस्य जिपमा सवार रहेको जिल्ला प्रहरीका नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए । १८ जना यात्रु रहेको जिप बढी भार, तीव्र गति र स्टेयरिङको खराबीका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ। सडक छेउमा गाडिएका ४ पिल्लर भाँचेर जिप दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भीमगिठेका प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए।
बडिगाड–४ स्थित खार प्रहरी चौकीले २४ जना चढेर आएको देखेपछि जिप रोकेको थियो। प्रहरीले ८ जनालाई झारेर अर्को जिपमा पठाएको थियो। ‘उनीहरू हिँडेको १० मिनेटमै जिप खोलामा खसेको खबर आयो,’ स्थानीय कमल पौडेलले भने, ‘प्रहरीको सक्रियताले थप ८ को जनाको ज्यान बच्यो।’ मृतकमध्ये ९ महिला, ४ पुरुष र एक बालिका छन्।
मृत्यु हुनेमा इस्मा गाउँपालिका–४ की ३० वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, उनकी २ वर्षीया छोरी अनुशा, ६५ वर्षीय झवि कार्की, २५ वर्षीया मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की छन्। बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसी, इस्मा–५ की वसुन्धरा कार्की, इस्मा–३ की २३ वर्षीया माया थापा, पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुमा कार्की र सीता कार्कीको पनि मृत्यु भएको छ। कञ्चनपुरका ५५ वर्षीय धनबहादुर कार्की, इस्मा–४ का २५ वर्षीय चालक रेशम थापा र इस्मा–४ कै ४० वर्षीय महेन्द्र कार्कीको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, इस्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की घाइते भएका छन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ। बडिगाडमै उनीहरूको प्राथमिक उपचार गराइएको थियो। बडिगाड खोलाले बगाएर १५ वर्षीय धनबहादुर कार्की बेपत्ता भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए। मृतक सबैको पोस्टमार्टम गरेर परिवारले मंगलबारै शव बुझिसकेका छन्।
दुर्घटनालगत्तै उद्धारका लागि घटनास्थलमा पुगे पनि अधिकांशको मृत्यु भइसकेको प्रत्यक्षदर्शीले बताए। जिप उल्टो परेको थियो। ‘भीर र खोलाको खोंचमा जिप फसेकाले शव निकाल्न धेरै गाह्रो भयो,’ उद्धारमा खटिएका स्थानीय दिनेश शर्माले भने, ‘शव क्षतविक्षत थिए।’ साँघुरो सडकमा धेरै घुम्ती भएकाले चालकले नियन्त्रणमा लिन नसकेको स्थानीयको भनाइ छ। घटनास्थल सदरमुकामदेखि ८० किमि पश्चिममा पर्छ।






