विश्वभरि छरिएर रहेका गुरुङ समुदायले हरेक वर्ष पुस १५ मा ल्होछार मनाउँछन् । ल्होछार÷ल्होसारको मिति एकीन भए पनि विभिन्न मुलुकमा रहेका गुरुङ नेपालीहरुले आ–आफ्नो अनुकूल कार्यक्रम आयोजना गर्छन् । तमुधिं यूकेले पनि यस वर्ष च्यु ल्हो (मुसा वर्ग) को अवसरमा २८ डिसेम्बर (पुस १२) मा रेडिङमा कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा नेपालबाट झिकाएका कलाकार, स्थानीय विभिन्न समाजमार्फत नाचगान हुनेछन् । १९ औं तमु ल्होछार कार्यक्रमको तयारी र आकर्षणबारे तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार कार्यक्रमका संयोजक हित काजी गुरुङसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी :

ल्होछार कार्यक्रम तयारी कसरी चलिरहेको छ ?
पूर्ण तयारी भइसकेको छ । ल्होछार कार्यक्रमबारे गत डिसेम्बर १ तारिखमा पहिलो बैठक भएको थियो । त्यस बैठकले वर्किङ कमिटी ग्रुप गठन गर्यो । विभिन्न समितिले काम अन्तिम चरणमा पुर्याइसकेका छन् । हामीले यही शनिबार पनि अर्को बैठक गरायौं ।
कहाँ, कसरी मनाउँदै हुनुहुन्छ त ल्होछार ?
सदाको कार्यक्रम हुने ठाउँ रेडिङको रिभरमेड लेजर सेन्टरमा डिसेम्बर २८ अर्थात् पुस १२ गते ल्होछार सेलिब्रेसन मनाउँदै छौं । तमुहरुले हरेक वर्ष पुस १५ गतेलाई नयाँ वर्ष (ल्होछार) को रुपमा मनाउने गर्छन् । यूकेमा विकेन्डको छुट्टी पारेर त्यसअगावै १२ गते मनाउन लागेका हौं । २८ तारिखको बेलुका साढे ५ बजेबाट गेट ओपन हुन्छ । कार्यक्रम मध्यरातिसम्म चल्नेछ ।
विगतमा सांस्कृतिक, धार्मिक कार्यक्रमसहित मनाइन्थ्यो, यसपटक कार्यक्रममा के के समेट्नु भएको छ त ?
गत वर्षहरुमा ल्होछार कार्यक्रमको बिहान धार्मिक पूजा हुन्थ्यो । तर, यो वर्ष धार्मिक पूजा हुँदैन । बेलुकी ५ बजे गेट ओपन हुन्छ र ६ बजेबाट ट्वाक्कै कार्यक्रम सुरु हुन्छ । सांस्कृतिक प्रोग्राम हुन्छ । जसका लागि नेपालबाट कलाकारहरु राजन गुरुङ, तिलकबहादुर गुरुङ र तारा श्रीस आउँदै हुनुहुन्छ । बेलायत आउनका लागि उहाँहरु तीनै जनाले भिसा पाइसक्नुभयो । उहाँहरु डिसेम्बर २३ तारिखमा लन्डन आउनुहुनेछ ।
नेपालबाट आउने कलाकारहरुको विशेष प्रस्तुति के हुने ?
उहाँहरु (नेपालका कलाकार) ले गाउनु हुन्छ । यहाँ बेलायतमा रहेका विभिन्न संघसंस्थाबाट एक/एक वटा नाच मागेको छु । त्यसैले ल्होछार कार्यक्रममा नाच्ने र गाउनेमात्रै हुनेछ । औपचारिक रुपमा हेल्थ एन्ड सेफ्टी र दुई/चार जना वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहन्छ । कार्यक्रमको प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदूत महामहिम दुर्गाबहादुर सुवेदी हुनुहुनेछ । धेरै बोल्ने कार्यक्रम हुँदैन ।
बेला बेलामा ल्होछारको अवसरमा नेपालबाट पनि उच्चपदस्थ व्यक्तिहरु बोलाउने गर्नुहुन्थ्यो, यसपटक छैन ?
त्यस्तो कोही छैन अहिले । पहिले पहिले त्यस्तो नभएको होइन, बोलाउने काम भएको हो । ल्होछारमा सहभागीलाई नाचगानमात्रै गराएर भरपूर मनोरञ्जन दिने यो वर्षको हाम्रो लक्ष्य हो ।
ल्होछार कार्यक्रमको बिहान पूजा नगर्ने, भाषणको समय कम छुट्याउने कुरा गर्नुभयो, त्यसो भएपछि विगत भन्दा कार्यक्रम फरक गर्न खोज्नुभएको हो ?
सधैं पहिलेदेखि गरिरहेको यही हो भनेरमात्रै हुँदैन । बाहिर पब्लिकले के भनिरहेका छन्, के चाहिरहेका छन्, त्यो पनि सुन्न पर्छ । उहाँहरुले सुझावको रुपमा भाषण धेरै भयो, पूजापाठ धेरै भयो भन्ने आयो । त्यसैले ल्होछारका दिन टोटल्ली ल्होछार सेलिब्रेसनका लागि यसपटक पब्लिकको सुझावअनुसार मनोरञ्जनलाई प्राथमिकता दिने योजना बनाएका छौं ।
यसपटकको कार्यक्रममा कति दर्शक उपस्थितिको अपेक्षा गर्नुभएको छ ?
कार्यक्रमस्थल १८ सयदेखि २ हजार जनासम्मको क्षमता छ । ल्होछार कार्यक्रम सबै नेपालीको राष्ट्रिय चाड हो । बेलायतमा रहेका नेपाल दाजुभाइ, दिदीबहिनीलाई कार्यक्रममा सहभागी हुन म अनुरोध गर्छु । तमुधिं यूके जातीय संस्था हो भने प्ये ल्हु संघ धार्मिक संस्था हो । तमुधिंको २८ तारिखमा कार्यक्रम छ । प्ये ल्हु संघको ३१ मा छ । दुवै संस्थामा रहेका मान्छेले २८ र ३१ मा सँगै रहेर ल्होछार सेलिब्रेसन मनाउन सक्छौं । त्यसैले दुवै कार्यक्रममा पहिलेभन्दा बढी मान्छे सहभागी हुन्छ होला ।
कार्यक्रममा सहभागी हुन चाहनेले के के प्रक्रिया पूरा गर्नुपर्छ ?
अग्रिम टिकट लिन चाहनुहुन्छ भने मलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ । नत्र भने कार्यक्रमको दिन गेटमा टिकट हुनेछ । टिकट दर १५ पाउन्ड हो । ५ पाउन्डको राफल ड्र हुने भएकोले आखिर १० पाउन्ड पर्छ । एक तोला सुन उपहार छ राफल ड्रका लागि । जेष्ठ नागरिकका लागि १५ पाउन्ड र बालबालिकालाई १० पाउन्ड टिकट दर तोकेका छौं ।
बेलायतमा धेरैजसो भूतपूर्व गोर्खाहरु हुनुहुन्छ । जो जेष्ठ नागरिक पनि हुनुहुन्छ । जेष्ठ नागरिक, महिलाहरुका लागि कार्यक्रमसम्म जान के व्यवस्था गर्नुभएको यातायाततर्फ ?
सबै सहरमा यातायातको व्यवस्था गर्न सम्भव रहेन । विशेषगरी सिनियर सिटिजन्स अल्डरसट, फार्नबरो, क्याम्बर्ली बस्ने भएको हुँदा लन्डन, प्लमस्टिड र अल्डरसट, फार्नबोरो एरियाबाट बस व्यवस्था मिलाएका छौं । हामीले ५० प्रतिशत तिरिदिने र ५० प्रतिशत चढेकाहरुले तिर्ने व्यवस्था गरेका छौं ।
त्यसका लागि कसलाई सम्पर्क गर्न सकिन्छ त ?
प्लमस्टिडबाट आउनुहुन्छ भने त्यहीं तमुधिं शाखाका अध्यक्ष हिरा गुरुङलाई सम्पर्क गर्नुहोस् । लन्डनबाट आउन चाहनुहुनेले त्यहाँका चियरमेन चन्द्रबहादुर गुरुङसँग सम्पर्क गर्नुहोस् । अल्डरसटबाट जाने हो भने हमसायरका अध्यक्ष उत्तरबहादुर गुरुङलाई सम्पर्क गर्नुहोस् ।
केन्टतिरबाट नि ?
त्यतातिरबाट कसैले माग गर्नुभएको छैन । माग भयो भने हामी व्यवस्था गर्छौं ।
कार्यक्रम तालिका कसरी सेट गर्नुभएको छ ?
बेलुकी ६ देखि ८ बजेसम्ममा औपचारिक लगायत कार्यक्रम सिध्याउने । ८ बजेदेखि नेपालबाट आउने कलाकारलाई समय दिने अनि साढे १०÷११ बाट खुसीको डान्स गर्ने तालिका मिलाउँदै छौं ।
टाढाटाढाबाट आउने दर्शकहरुलाई खानपानको व्यवस्था के छ ?
खानाका लागि कार्यक्रमस्थलमा क्याटरिङ हुन्छ । जो आउनुहुन्छ, उहाँहरुले आपैंm किनेर खान सक्नुहुन्छ । पिउनका लागि त्यहीं बार ओपन हुन्छ । खाना, पिउन, मनोरञ्जन गर्न चिन्ता नगरी तपाईंहरु आइदिनुहोस्, हामीले सबै कुरा पाउने व्यवस्था मिलाउँछौं ।
ल्होछार समारोहमा डा. हर्क अवार्ड पनि वितरण गर्ने भन्नुभएको, यसबारे केही बुझाइदिनोस् न ?
डा.हर्क गुरुङ नेपाली प्रख्यात व्यक्ति हुनुहुन्थ्यो । उहाँकै खुसीमा हामीले तमुधिं यूकेको संरक्षक राखेका थियौं । पछि उहाँ हेलिकप्टर दुर्घटनामा बित्नुभयो । उहाँकै स्मृतिमा ए–लेभल, जेसीसीमा राम्रो पढेका विद्यार्थीलाई डा.हर्क अवार्ड भनेर प्रोत्साहन गरौं भनेर यो अवार्ड राखेका हौं । त्यो अवार्ड जेसीसी र ए–लेभलमा राम्रो पढिरहेका विद्यार्थीलाई प्रदान गर्ने गर्छौं ।
तमुका सन्तानलाई मात्र होकि अरु जातिलाई पनि ?
अन्य जातिले कृपया अप्ठ्यारो नमानिदिनुहोस् । हर्क अवार्डचाहिँ पूरापूर गुरुङ जातिका विद्यार्थीले मात्रै पाउँछन् । यो अवार्ड पाउन गुरुङ हुनुपर्यो र जेसीसीमा यूकेभरि गुरुङहरुमा टप गरेको हुनुपर्छ ।
त्यस्तै ए–लेभलमा यूकेभरि गुरुङमा टप भएकालाई डा. हर्क अवार्ड दिन्छौं । जसमा एउटा ट्रफी र पाँच सय पाउन्ड क्यास छ ।
अवार्ड वितरणको कसरी म्यानेज गर्नुहुन्छ ?
डा.हर्क अवार्डका लागि तीन सदस्यीय कमिटी गठन गरेका छौं । संयोजक एकेन्द्र गुरुङ, सदस्यहरुमा उपाध्यक्ष हरि गुरुङ र निवर्तमान लमजुङ समाजका अध्यक्ष बोहत गुरुङ हुनुहुन्छ । उहाँहरुलाई सम्पर्क गरेका छौं । उहाँहरुको नम्बर एभरेस्ट टाइम्समा पनि राखेका छौं । सकेसम्म तपाईंहरुले जतिसक्दो छिटो नाम दिनुभयो भने हामीलाई काम गर्न सजिलो हुनेछ । मापदण्ड पुग्ने विद्यार्थी र अभिभावकले उहाँहरुलाई सम्पर्क गर्नुहोला ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
तमुधिं एउटा आयोजक हो, ल्होछार चाड सबैको हो । कुनै पनि कार्यक्रम गर्नका लागि आयोजक जरुरी पर्ने भएकोले तमुधिं यूके खडा भएको हो । तपाईं सबै सहभागी भएर हामीलाई हौसला बढाइदिनुहोला । सँगै नाचौं, गाऔं । हाम्रो चाडलाई राम्रो गराऔं ।






