काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बुधबार टेलिफोन संवाद भई उनीहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् ।
दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०२० सफल रहने विश्वास उनीहरुले व्यक्त गरेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा बुधबार प्रधानमन्त्री तहमा संवाद भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान १०:३० ले टेलिफोन संवाद गरेका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
उनीहरूले आपसमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गरेका र त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राखेका चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि पुनःआग्रह गरेका थिए ।






