सुधा गुरुङ
‘छेक्यो छेक्यो देउरालीडाँडा हुस्सु र कुहिरोले’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘आँखैमा झलझली हितैको दाँैतरी’, ‘भाइटीकामा भेट्न आउला’ जस्ता कालजयी गीतहरुका सर्जक गीतकारर/संगीतकार स्व. सुक गुरुङको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली गीत, संगीत मञ्च, पोखराद्वारा गत पुस १९ गते हिमालयन्स रिडर्स कर्नरमा शोकसभा आयोजना गरेको थियो । कार्यक्रमको अघिल्लो दिन साँझतिर मधु गुरुङ बहिनीले कार्यक्रमबारे जानकारी दिएकीले म पनि निर्धारित समय बिहानको ८ बजे रिडर्स कर्नर, न्यूरोडमा पुगेँ । तर म त्यहाँ पुग्दा आयोजक मञ्चका अध्यक्ष नवराज बराल र एक दुई अन्य व्यक्तिको मात्रै उपस्थिति थियो ।

एक घण्टाको कार्यक्रम त हो भन्ने मनसायले पुगेकी म… निर्धारित समयभन्दा ट्याक्कै ४५ मिनट ढिलो गरी पौने नौमा सुक दाइकी धर्मपत्नी जुना भाउजू र अन्य अतिथिहरुको आगमनपश्चात् मात्रै कार्यक्रम सुरु भयो । तर, आश्चर्य पटक्कै लागेन कारण बेलायतमा त बेल्पालीले आयोजना गर्ने कुनै पनि कार्यक्रम निर्धारित समयमा सुरु भएको रेकर्ड छैन भने नेपालमा त नेपाली समय भन्ने थेगो वा चलनै छ तर पनि के हो, के हो ? कार्यक्रम समयमै सुरु पो हुन्छ कि भन्ने आशले समयमै पुगेकी थिएँ…
जे होस्, कार्यक्रम ढिलो सुरु भए पनि संगीत प्रशिक्षक लाक्पा लामाज्यूको प्रमुख आतिथ्य र नवराज बरालजीको अध्यक्षतामा सञ्चालक एवम् मञ्चका महासचिव सुमन श्रापितजीले बडो कुशलतापूर्वक कार्यक्रम सञ्चालन गर्नुभो । कार्यक्रममा सुक दाइको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण अनि श्रद्धाञ्जली अर्पण गरियो । साथै उहाँलाई नजिकबाट चिन्ने केही व्यक्तित्वहरुबाट छोटो मिठो मन्तव्य ब्यक्त गरिएपश्चात् बिनित जोजिजू, रामभक्त जोजिजू, सुनिल बराल आदिले सुक दाइका कालजयी गीतहरु गाएर हार्दिक श्रद्धासुमन अर्पण गरे ।
नेपथ्यका पूर्वगायक रबिन श्रेष्ठले बेलायतबाट पठाएका भावपूर्ण श्रद्धाञ्जली सन्देश सुमनजीले पढी सुनाउँदा शोकसभा थप शोकमय र सहभागी सबै द्रवित भएका थिए । रबिनले सुक दाइको छेक्यो छेक्यो देउरालीडाँडा र आँखैमा झलझलीले आफूलाई गायकका रुपमा स्थापित र लोकप्रिय बनाएको कुरो अक्सर सम्झिरहन्छन्, जुन एउटा सर्जकप्रति साँचो श्रद्धा र सम्मान हो भन्दा फरक नपर्ला ।
अक्सर गीतकारको गीतबाट गायक वा सांगीतिक दल हिट हुने तर गीतका वास्तविक सर्जक ओझेलमै पर्ने तितो यथार्थलाई नकार्न सकिँदैन । थुप्रै उदाहरणमध्ये सुक दाइ पनि एक हुनुहुन्छ । अर्को कुरो हाम्रोमा रोयल्टीको उचित ब्यवस्था नहुनु पनि दुखद् पक्ष हो । त्यसैले ११ वटा गीति एल्बम निकालेका सुक दाइका थुप्रै गीत हिट भए पनि उहाँको जीवन हमेशा अभावमै बित्यो । भेट्का क्रममा उहाँले मसँग “के गर्नु बहिनी ? बेलामा होस पुर्याइएन, अहिले दुःख पाइयो !’’ भन्नुभएको संझिन्छु ।
हुन पनि हाम्रोमा अलि दुःखको कुरो अक्सर प्रतिभाशाली होनाहार सर्जक र कलाकारहरुलाई यस्तै, बेलामा आफ्नो स्वास्थ्यको ख्याल नराख्दा हामीले असमयमै गुमाउनु परेको थुप्रै उदाहरणहरु छन् । तीमध्ये सुक दाइ पनि एक हुन भन्ने उहाँले नै स्वीकार्नुभएको कुरो हो !
मधुमेहका कारण दुबै आँखाको दृष्टि गुमाउनुका साथै दुबै मृर्गौला काम नलाग्ने भएका सुक दाइको स्वास्थ्योपचारका लागि २ वर्षअघि तमु प्रतिष्ठान नेपालका तत्कालीन अध्यक्ष चिजकाजी गुरुङ दाइले मलाई बेलायतमा केही सहयोग जुराइदिन आग्रह गर्नुभएको थियो । दाइकै अनुरोधमा हामीले सुक गुरुङ बचाऔं अभियानमार्फत केवल २ हप्ताको छोटो समयमा रु १६ लाख संकलन गरी सुक सहयोग समितिका संयोजक जगन गुरुङ र उहाँको कार्यसमितिलाई हस्तान्तरण गर्न सफल भएका थियांै । बेलायतभरिका उहाँका फ्यानहरुले मन खोलेर सहयोग पुर्याएका थिए । सबैलाई पुनः म एकमुष्ट आभार प्रकट गर्न चाहन्छु ।
बेलायतका अलावा संसारभरका उहाँका फ्यानहरुबाट लगभग ५४ लाख सहयोग संकलन गरी समितिलाई हस्तान्तरण गरिएको थियो । तर, अपसोच उहाँलाई बचाउन सकिएन, कारण उहाँको बिग्रँदो स्वास्थ्य स्थितिका कारण मृर्गाैला प्रत्यारोपण गर्न सम्भव नभएको र गरिहालेमा पनि सफलताको ग्यारेन्टी नभएको जानकारी डाक्टरहरुले दिएकाले दाइले सो रिस्क नलिने विचार गर्नुभो । तर सो रकमको ब्याजबाट सुक दाइ बाचुञ्जेल उहाँको उपचार र जीविकोपार्जनका लागि सहज भने पक्कै भएको थियो । साथै सुक दाइको इच्छाअनुरुप डाँडाको नाकस्थित उहाँको सानो घडेरीमा सानो चारकोठे घर समितिले निर्माण गरिदिएकोले जीवनभर डेरामा बिताउनुभएका सुक दाइका जीवनका अन्तिम दिनहरु आफ्नै निवासमा शान्ति र सन्तोषका साथ बिताउन पाउनुभयो । यसका लागि समितिका अध्यक्ष जगनजी लगायतका सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
उहाँले आफू बाचुञ्जेल आफ्नो परिवारका लागि केही गर्न नसकेकोमा बडो पछुतो पनि मान्नुहुन्थ्यो त्यसैले सोही रकमबाट उहाँको घर निर्माण गर्न पाउँदा हामीलाई औधीं खुसी लागेको छ । यसभन्दा अघिको नेपाल आगमनका बेला सुक दाइलाई भेट्न उहाँको डेरामा हामी दुई दम्पती नै गएका थियौं । यी यस्तै छ, बहिनी दाइको हालत, आँखा देख्दिनँ तै पनि केही रचनाहरु रेकर्ड गराउने विचारमा छु भन्नुभाथ्यो । उहाँको सो इच्या पनि अधुरै रह्यो ।
उहाँको घर निर्माण सम्पन्न भएपछि आफ्नो नयाँ घरमा आउनका लागि पटक पटक मलाई आग्रह गर्नुभएको थियो, कहिले फोनमा त कहिले मेसेन्जरमा । यसपटक पोखरा बसाइँ लामै भए पनि पारिवारिक कारणले चाहेका सबै ठाउँहरुमा पुग्न सकिरहेकी थिइन्, त्यसैले काठमाडौं फर्किने बेला डाँडाको नाकस्थित उहाँको नयाँ घरमा दाइलाई पक्कै भेटेर जाने विचार गरेकी थिए, जुन अधुरै रह्यो । सुक दाइले यति छिटो यो संसारमा बिदा लिने पूर्वाभास भएको भए अवश्यै पहिले भेट्न जाने थिए । तर विधिको बिडम्बना ! टारेर टर्दैन ! जे होस दाइले दुःखबाट मुक्ति पाउनुभो भनेर चित्त बुझाएकी छु ।
सुक दाइको सेवामा दिनरात खट्ने जुना भाउजू र दुई छोराहरुप्रति हार्दिक समवेदना साथै भाउजूप्रति हार्दिक नमन ! उहाँजस्तो जीवन संगिनी पाउनु पक्कै सुक दाइको सौभाग्य हो ! जीवनका २५ बसन्तसँगै बिताएपछि मझधारमा जूना भाउजूलाई एक्लै छाडी सुक दाइ अनन्तको सुखी यात्रामा निक्लनुभयो ! शोक सभामा भाउजुका उदास अनि रुझेका परेलीहरु आँखाअघि नाचिरहेका छन् यति खेर यी हरफहरु कोरिरहँदा पनि ! उहाँलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् !
जेहोस् सुक गुरुङ दाइको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँका कालजयी सिर्जनाहरुमार्फत चीरकालसम्म हामीमाझ जीवित रहिरहनुहुनेछ । सुक दाइप्रति हार्दिक श्रद्धासुमन अनि आयोजकप्रति पुनः हार्दिक आभार ! कसैले त पोखरामा सम्झियो सर्जक सुक गुरुङलाई ! खुसी यसैमा लागेको छ…अलबिदा सुक दाइ…तपार्इंको बैकुन्ठबास आरामदायी रहोस ! अस्तू !






