नेपाली सङ्गीतको भविष्य कतातिर जाँदैछ ?

SHARE:

खुसी थुलुङ राई, गायिका
प्राकृतिक सुन्दरताले भरिपूर्ण सहर इलाममा जन्मिएकी खुसी थुलुङ राई नवगायिका हुन् । उनी यस क्षेत्रमा ७ वर्षअघि औपचारिक रुपमा लागेकी हुन् । सुन्दरी गायिकाको रुपमा समेत चिनिने खुसी यतिबेला नयाँ गीति एल्बम (अडियो सीडी) को तयारीमा रहेको बताउँछिन् । प्रस्तुत छ, गायिका थुलुङ राईसँग जानु काम्बाङ्ग लिम्बूले एभरेस्ट टाइम्सका लागि गरेको सांगीतिक कुरोकानी ।


नयाँ काम के गर्दै हुनुहुन्छ ?
हिजोआज म आफ्नै एकल आवाजमा रहेको नयाँ गीति एल्बम (अडियो सीडी) को तयारीमा जुटिरहेकी छु ।

सांगीतिक कार्यक्रमहरुमा कतिको हिँड्नु हुन्छ ?
साङ्गीतिक कार्यक्रमका साथै विभिन्न वर्कसपहरूमा सहभागी भइरहेकी छु ।

गीत, संगीत क्षेत्रमा लागेको कति भयो ?
गीत, सङ्गीत क्षेत्रमा रूचि वा झुकाव त सानैदेखि भए पनि औपचारिक रूपले लागेको ७ वर्ष भयो ।

संगीत शिक्षा कोसँग लिँदै हुनुहुन्छ
यही वर्ष सङ्गीत विषयमै मैले आफ्नो स्नातक तह पूरा गरेकी छु ।

तपाईंलाई कस्ता खाले गीतहरू गाउँदा बढी सन्तुष्टि मिल्छ ?
संगीत आत्मरञ्जन विधा हो । यसले आफू, आफ्नो समाज र आफ्नो देशको अनेकौं पक्षलाई उजागर गर्ने क्षमता राख्छ, त्यसैले मलाई यसैको केन्द्रमा रहेर रचिएको गीत, सङ्गीत प्रस्तुत गर्न पाउँदा बढी मन रमाउँछ । सङ्गीतको भाषामा भन्नुपर्दा सुन्दर र सार्थक रचनालाई अर्धशास्त्रीय र लोक धुनहरूमा समेटिएका गीतहरू नै मेरो रोजाइ हो ।

गीत, संगीत रहर गरेजस्तै सजिलो छ ?
गीत, सङ्गीतको अर्थ र मर्मलाई बुझ्ने आआफ्नै स्तर र दृष्टिकोण हुन्छ । गीत सङ्गीत विधा कुनै पनि हिसाबले सहज छ भन्ने मलाई लाग्दैन ।

तपाईंलाई चिनाउने गीत कुन हो ?
अहिलेसम्म गाएका गीतहरूमा ‘आऊ न आऊ’ र ‘काली काली’ बोलको गीतले मलाई केही हदसम्म चिनाउने काम गरेको छ जस्तो लाग्छ । तर, खुसी थुलुङ भनेर सर्वत्र चिनाउने गीतको खोजीमा लागिपरेकी एक अथक् यात्री जो हुँ म । आशा गरौं कि त्यस्तो गीत छिट्टै नै म मेरा आदरणीय स्रोता र दर्शकसामु ल्याउन सकूँ ।

हिजोआज गायक र गायिकाहरु आफैँ मोडलिङ गर्न थालेका छन् । तपाइँलाई ईच्छा छैन मोडलिङमा ?
पेसागत रूपमै मोडलिङ गर्ने भनेर चाँहि अहिलेसम्म सोचेकी छुइनँ । तर, आफूले गाएका गीतहरूमा आफूलाई सुहाउने भूमिका वा गीतभित्रका कथाले मागे म आफैं नै आफ्नो गीतमा अभिनय भने अवश्य नै गर्ने छु ।

आफ्नो सपना पूरा गर्न कत्तिको सजिलो छ ?
सबैभन्दा कठिन कार्य नै आफ्नो सपना पूरा गर्नु रहेछ । म मात्र होइन हरेक मानिस सपनाकै खोजीमा भौतारिरहेका छन् जस्तो लाग्छ ।

यहाँसम्म आइपुग्दा गीतसंगीत क्षेत्र कस्तो र के हो जस्तो लाग्छ ?
मन पराएर लागेको क्षेत्र प्रिय त लाग्ने नै भयो । अनि क्षेत्र जुनसुकै होस्, प्रियवस्तु प्राप्त गर्न धेरैभन्दा धेरै मेहनत, निरन्तरता, परिश्रम, धैर्यता आदिको उत्तिकै आवश्यकता हुने गर्छ, जुन कामहरू म निरन्तर गरिरहेकी छु । र संगीत मानिसको जीवन हो, बाँच्ने आधार हो ।

राजधानीमा आएर संघर्ष गर्न कत्तिको सहज छ ?
राजधानीमा मात्र होइन संघर्ष त जुनसुकै ठाउँमा पनि गर्ने पर्छ । तर, राजाधानीमा आएर केही गर्छु भन्ने सोच्नुचाँहि ठूलै आँट र गाँठ चाहिन्छ ।

अहिलेसम्म कति गीत गाइसक्नु भो ?
हालसम्म मैले आफ्ना र अरूको गरी करिब ३ दर्जन जति गीतहरू गाइसकेकी छु ।

तपाईंले यही क्षेत्रलाई किन रोज्नु भो ?
गीत, सङ्गीत क्षेत्र आफैंमा सम्मानित क्षेत्र हो । यसबाट हुने आर्थिक लाभ बेग्लै पाटो हो । तर, कलाकारिताप्रतिको मोह र सम्मानका कारण यो क्षेत्रतिर मेरो झुकाव बढेको हो ।

तपाईं कसलाई आईडल मान्नु हुन्छ ?
मेरो साङ्गीतिक आइडल आफ्नै दाजु प्रकाश थुलुङलाई मान्दछु । जो राम्रो गीतकार पनि हुनुहुन्छ । साथै मेरो सम्पूर्ण घरपरिवार र मेरो साङ्गीतिक गुरूआमा सङ्गीता राना प्रधान मेरो आइडल हुनुहुन्छ ।

हेर्दा राम्री हुनुहुन्छ, प्रेम प्रस्ताव कतिको आउँछ ?
हे हे थ्याङ्क यु ! त्यस्ती राम्री त छुइनँ होला तर ठीकै छु जस्तो चाहिँ लाग्छ । मनको चाहिँ एकदमै सफा छु । स्वाभाविक रूपले यो उमेर पनि होला प्रेम प्रस्ताव नआउने त कुरै भएन ।

उहिल्यै हेरी अहिले गीत, संगीत क्षेत्रमा काम गर्न धेरै सजिलो भएर हो कि ! धेरै गायक गायिका जन्मिरहेका छन् नि ?
सङ्गीत सिक्नका लागि अहिले निकै सहज छ । किनकि, हिजोआज समाजको सोच निकै फराकिलो भएको छ । जमाना प्राविधिक भइसकेको छ । बुझेर लागे यो क्षेत्रको पनि भविश्य नराम्रो छैन । कति मान्छे यै संगीतलाई ब्यावसाय बनाएर बाँचेका छन् । फेरि गीत, सङ्गीत, नृत्य, अभिनयहरू त अचेल स्कुल र कलेजहरूमा अनिवार्य विषयजस्तै भइसकेका छन् । तर, यसलाई संख्यात्मकभन्दा पनि गुणात्मक रूपले अघि बढाउने वातावरण भने निर्माण भइसकेको छैन जस्तो लाग्छ ।

कति वर्षको उमेरदेखि गाउन थाल्नु भो ?
मैले सम्झिएसम्म करिब १०र१२ वर्षको उमेरदेखि नै गुनगुनाउन थालेकी हुँ ।

कतिपय गायक गायिका परालको आगो झैं, झ्याप्पै चर्चा बटुल्छन् अनि झ्याप्पै निभ्छ्न् नि ? तपाईं निभ्नेमा पर्नुहुन्छ कि दिगो बलिरहनेमा ?
गीत, सङ्गीतमै लागेर बाँच्ने कुरोलाई दुईप्रकारले हेर्नुपर्ने हुन्छ । पहिलो कुरो समर्पित सच्चा कलाकार भएर लामो आयु बाँच्न सकिने एउटा पाटो छ । जो सम्भव छ । दोस्रो कुरो मनोरञ्जन मात्र प्रदान गरेर साथै आर्थिक पाटो मात्र सुधारेर बाँच्न सकिने पाटो पनि छ । जो पनि सम्भव छ । अब कुन हिसाबले बाँच्ने यो पनि इच्छाधिन र समयको कुरो नै हो ।

मैले सोध्न भुलेको र तपाईंलाई भनौ लागेको केही कुरो भए छोटकरीमा भान्नु सक्नुहुन्छ
हजुरले सबै कुरो समेटी सक्नु भएको छ धेरै धन्यवाद ! मेरो एउटै जिज्ञासा भनौं या गुनासो ? संख्यात्मक रुपले मात्र गीतहरू आएको देखिन्छ, गुणात्मकतामा भने अझै उन्नति हुन सकिरहेको छैन । यसको अर्थ हामीसित स्तरीय सर्जक छैनन् भन्न खोजेकी चाँहि पटक्कै होइन । तर, सस्तो लोकप्रियताको पछाडि लाग्दा हामीले राम्राराम्रा सर्जकलाई पनि अन्यायमा पारिरहेका छौं कि । यस्तो वातावरणले हाम्रो साङ्गीतिक व्यवसाय त माथि उठ्ला तर साङ्गीतिक स्तरीयता कतातिर जाँदैछ ? यो बडो गम्भीर बिषय हो । ३/४ वर्ष अगाडि एउटा गीत रेकर्ड गर्न ३०/४० हजारले सकिन्थ्यो भने अहिले १ लाखसम्म लाग्न थाल्यो । अझै त्यो गीतको छायाङ्कन त डेढदेखि ३ लाखसम्म खर्च हुन थाल्यो । यतिका खर्च गरेर हाम्रो सिर्जना खपत हुने क्षेत्र वा बजार खोइ ? यसको नियमन कसले गर्ने ? यतिका खर्च गरेर बल्लबल्ल सिर्जना तयारी गर्‍यो । प्रचार प्रसारमा उत्तिकै कठिन । जहाँ पनि चिनजान, खर्च र पहुँचकै कुरो आउँछ । यस्तो भयावह अवस्थामा नेपाली सङ्गीतको भविष्य कतातिर जाँदैछ ? यो हामी सबैले गम्भीर भएर सोच्नैपर्ने कुरो लाग्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!