काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक रुपान्तरणका लागि बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् ।

प्रदेश नं २ का सरकारले शनिबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘प्रदेश समन्वयन परिषद्को बैठक’ मा उनले भने, “ विशेषगरी महिला सशक्तीकरणमा प्रदेश सरकारसँग सङ्घीय सरकारले सहयोग र सहकार्य गर्छ ।” अर्थमन्त्री डा खतिवडाले महिला सशक्तीकरणका लागि उनीहरुलाई प्राविधिक शिक्षातर्फ जोडदिनुपर्ने उल्लेख गर्दै महिला शिक्षित भए समाजबाट दाइजो प्रथा आफैं अन्त्य हुने हुँदा सङ्घीय सरकारले छोरी शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
राष्टिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले जनतालाई प्रत्यक्ष लाभान्वित हुने किसिमको पञ्चवर्षीय योजना ल्याई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्नमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे । उनले राष्ट्रिय योजना आयोगको निर्देशनानुसार समयमै योजना बनाउन प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम राख्न आफूले स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताउँदै प्रदेशको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।






