प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम वाग्मती

SHARE:

काठमाडौं । प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती राखिएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकले दुईवर्षदेखि पेचिलोरुपमा रहेको प्रदेशको स्थायी राजधानी र नामकरण मतविभाजन प्रक्रियाद्वारा टुंग्याइएको हो । नेकपा र कांग्रेसमा आन्तरिकरुपमा राजधानीका विषयमा मकवानपुर र काभ्रेको पक्षमा व्यापक मतभेद भएपछि केन्द्रीय निर्देशन र ह्विपबाट राजधानी टुंगो लगाइएको हो ।

प्रदेशसभामा प्रदेशको स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरको हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुई तिहाईभन्दा बढी मतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरेका थिए । दुई तिहाइभन्दा बढी मतले काभ्रेको धुलिखेलको प्रस्ताव अस्वीकृत भएको थियो ।

मुख्यमन्त्री पौडेलले गरेको प्रस्तावको पक्षमा एकसय पाँच र विपक्षमा तीन मत परेको थियो । १ सय १० सदस्य रहेको प्रदेशसभामा मतदानका लागि १ सय ८ जना मात्रै सहभागी थिए । यसअघि हेटौंडा प्रदेश ३ को अस्थायी राजधानी रहेको थियो ।

प्रदेश ३ को राजधानी धुलिखेल राख्ने सांसद् रमेश पौडेलको प्रस्ताव दुई तिहाइभन्दा बढी मतले अस्वीकृत भएको थियो । विवेकशील नेपाली दलका सांसद रमेश पौडेलले प्रदेश राजधानी काभ्रेपलान्चोकको धुलिखेल तोक्न गरेको प्रस्ताव प्रदेशसभाको बैठकबाट बहुमतले अस्वीकृत भएको थियो ।

धुलिखेलको पक्षमा ३ मत र विपक्षमा १ सय १ मत परेको घोषणा सभामुख श्रेष्ठले गरेका थिए । काभ्रेबाट निर्वाचित सांसद्हरु काभ्रे कायम गरियोस् भन्ने विवेकशील नेपाल दलको प्रस्तावको मत विभाजन प्रक्रियामा तटस्थ रहे । यस प्रस्तावमा प्रदेशसभामा रहेको १ सय १० मतमध्ये १ सय ४ मत मात्रै काभ्रेको धुलिखेल राजधानी कायम गरियोस् भन्ने प्रस्तावको मतदानमा प्रक्रियामा खसेको थियो ।

हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवम् नेकपा नेता पौडेलले शनिबार प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए । उक्त प्रस्तावका समर्थकहरुमा कांग्रेस सांसद इन्द्र बानियाँ, राप्रपा नेपालकी रिता माझी, राप्रपा (संयुक्त) की रिना गुरुङले समर्थन जनाएका थिए । नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम वाग्मती राख्ने प्रदेशसभालाई निर्देशनात्मक सुझाव दिएको थियो ।

प्रदेशसभाको आइतबारकै बैठकमा भएको मतदानमा दुइतिहाई बढी सांसदले प्रदेशको नाम वाग्मती राख्ने पक्षमा मत दर्ता गराएका थिए । प्रदेशको नाम वाग्मती राख्ने नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ प्रस्तावको पक्षमा १०८ मत परेको थियो । प्रस्तावमा नेकपा, राप्रपा नेपाल, राप्रपा संयुक्त, विवेकशील नेपाली दल, साझा पार्टीले समर्थन गरेका थिए । प्रदेशको राजधानीको नामकरणका लागि वाग्मती मात्र नाम प्रदेशसभामा दर्ता भएको थियो । प्रदेशको राजधानी हेटौंडा र नाम वाग्मती राख्ने प्रस्ताबको पक्षमा नेपाल मजदुर किसान पार्टीले समेत मतदान गरेको थियो । प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ दुवै विषयको मतदान प्रक्रियामा सहभागी भएनन् ।

स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा प्रदेशको स्थायी राजधानीको स्थान र नामको प्रस्ताव दर्ता भएको थियो । सदनमा राजधानीको स्थानमाथि उठेको प्रश्नको जवाफ मुख्यमन्त्री पौडेल र सांसद् रमेश पौडेलले दिएपछि मतविभाजन प्रक्रिया अगाडि बढेको थियो । नामकरणमाथि सदनमा उठेको प्रश्नको जवाफ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!