लिम्बुवान प्राप्तिका लागि योगदान दिनेलाई काङ्सोरे पुरस्कार

SHARE:

आसफोर्ड (लन्डन) । लिम्बुवान पुनः प्राप्तिमा उल्लखेनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानस्वरूप लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार दिने निर्णय गरेको छ ।

लिम्बुवानको मुद्दालाई जीवित राख्न पुरस्कार स्थापना गर्न लागिएको समाजले जनाएको छ । शनिबार आसफोर्डमा सम्पन्न सातौँ साधारणसभाले काङ्सोरे पुरस्कारका लागि १० लाखको अक्षयकोष खडा गर्ने निर्णय गरेको अध्यक्ष छत्र वनेमले बताए । ‘लिम्बुवान प्राप्तिको आन्दोलनमा विभिन्न क्षेत्रबाट उल्लेख्य भूमिका खेल्ने व्यक्तित्वलाई सम्मानार्थ काङ्सोरे पुरस्कार दिने निर्णय गरेका छौँ,’ उनले भने, ‘पुरस्कार एक लाख रूपैयाँसहित सम्मानपत्र रहनेछ ।’

पुरस्कारका योग्य व्यक्तित्व राजनीति, साहित्य, कला, संस्कृति, प्राज्ञिक, सामाजिक आन्दोलन जुनसुकै विधाबाट पनि छनोट गरिने अध्यक्ष वनेमले प्रस्ट्याए । लिम्बुवानको ऐतिहासिक पात्र काङ्सोरेको स्मृतिमा स्थापना गर्न लागिएको पुरस्कार प्रत्येक तीन, तीन वर्षमा वितरण गरिने छ । काङ्सोरे वि.सं. १८३१ ताका भएको लिम्बुवान–गोर्खाली युद्धमा सहादत प्राप्त गरेका लिम्बुवानी सेनापति मानिन्छ ।

काङ्सोरे पुरस्कार स्थापनाको विनियम र विधि निर्माण गर्न लेखक विजय लुम्फुङवाको संयोजकत्वमा पाँच सदस्यीय नियमावली निर्माण समिति बनाइएको छ । समितिका सदस्यहरूमा उपाध्यक्ष दिल इङ्वारम, महासचिव लाहाङ चेम्जोङ, सल्लाहकार देव हुक्प्पा चोङवाङ र शरण पङ्धाक रहेका छन् । समाजले आगामी अप्रिल महिनाभित्र काङ्सोरे पुरस्कारकको सहयोगार्थ एक च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउन विधानमा देखिएका कठिनाइहरूलाई समाधान गर्न महासचिव चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन मस्यौदा समिति निर्माण गरेको छ । समितिका सदस्यहरूमा पूर्वअध्यक्ष दिल सम्बाहाङ्फे र विजय लुम्फुङ्वा रहेका छन् ।

साधारणसभाले आगामी सन् २०२२ सम्ममा सदस्य सङ्ख्या दुई सयभन्दा बढी पुर्‍याउने लक्ष्य राखेको महासचिव चेम्जोङले बताए । यसैगरी, भेलाले थप कार्य समिति सदस्यहरू समेत चयन गरेको छ । मनोनीत सदस्यहरूमा शिशिर सम्बाहाङ्फे, मञ्जु लिङ्दम, विजय पयाङ्गु र शुभ नेम्वाङ छन् ।
लिम्बुवान नागरिक समाज यूकेले लिम्बुवान भूगोलमा जनजागरण अभियानलाई टेवा दिनुपर्ने निर्णय गर्दै प्राज्ञिक लेख रचना समेटिएको जर्नल पनि प्रकाशित गर्ने निर्णय पारित गरेको छ । समाजले लिम्बुवान नागरिक बहस श्रृङ्खलासमेत आयोजना गर्दै आइरहेको छ । यस्तै, मिडिया सचिव अमित थेवेले सम्पादन गर्दै आइरहेका विभिन्न स्रष्टाहरूको लिम्बुवानी कवितासङ्ग्रह यथाशीघ्र प्रकाशन गर्ने निर्णय गरेको छ । यसअघि, स्थापना भएको दशक पुगेको उपलक्ष्यमा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो । सोही अवसरमा समाजको मुखपत्र उपस्थित अतिथिहरूबाट अनावरण गरिएको थियो ।

साधारणसभाले महासचिव लाहाङ चेम्जोङको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विकास हेल्लोकको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको थियो ।

मिडिया सचिव अमित थेवेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिल इङ्वारमले स्वागत मन्तव्य दिएका थिए । साधारणसभामा सल्लाहकारहरू डम्मर सिङ्गक, नरेन्द्र माबोहाङ, दिल सम्बाहाङ्फे, देव हुक्पा चोङवाङ लगायत उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!