म आफ्नै गानामार्फत चिनिन चाहन्छु : राम लिम्बु वनेम फागो

SHARE:

भ्वाइस अफ नेपाल सिजन २ का उपाधि विजेता
झापाली राम लिम्बु वनेम फागो (२३) ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका उपाधि विजेता हुन् । करिब महिना दिनअघि काठमाडौंमा भएको ग्रान्ड फिनालेमा सर्बाधिक भोट ल्याउ द भ्वाइस जितेयता उनको व्यस्तता बढेको छ । उपाधिमा डाटसन रेडी गो कार र १२ लाख रुपैयाँ राशिसहित १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका थिए । त्यसैको सिलसिलामा विदेश जाने कागजातमा सही गर्ने, विभिन्न मिडियामा अन्तर्वार्ता दिने र सम्मान थाप्नमा रामको दैनिकी चलिरहेको छ अचेल ।

पप एन्ड रक विधाका गायनमा पोख्त राम पुष्पा फागो शेर्पा र प्रेमकुमार फागोबाट जुम्ल्याहा सन्तानका रुपमा जन्मिएका हुन् । पुर्ख्यौली पाँचथर बताउने रामको सन्तति झापाको बिर्तामोड ३ बिर्ताबजार बस्छन् स्थायी रुपमा । उनीसँग जन्मिएका भाइ लक्ष्मण बिर्ताबजारमै फर्निचर व्यवसाय गरेर बसेका छन् । आमा गृहेणी, बुवा निर्माण व्यवसायमा संलग्न छन् भने दाइ सुजन र दिदी कोपिला परिवारमा सदस्यहरु ।

कामविशेषले ललितपुरको थसिखेल बस्दै आएका रामको परिवारको आर्थिक अवस्था मध्यम छ । आर्थिक अबस्था अलि मजबुत नभएकाले उनले संगीत यात्रामा लागेको ५ वर्षको अवधिमा एउटा मात्रै एल्बम निकाले । तीन वर्षअघि ‘रेल गाडी’ गीत निकालेर सांगीतिक क्षेत्रमा उदाउन खोजेका राम त्यत्ति सफल भएन । त्यसबाट निराश होइन उनमा थप उत्साह मिल्यो । संगीतमा केही गर्नुपर्छ भन्ने भावना जागृत भएपछि उनले मार्केटिङ विषयमा प्लस टु गर्नेवित्तिकै संगीतलाई प्राथमिकता दिए । तैपनि पकेट खर्च धान्न गाह्रो भए पछि भाइ लक्ष्मणले थापेको फर्निचरमा बेला बेलामा सघाउने गर्थे र पकेट मनि जोहो गर्थे । त्यत्तिमात्रै होइन, उनी फर्निचर शोरुममा पनि बसे ।

‘प्लस टु गरिसकेपछि भाइले आर्थिक समस्याका कारण केही व्यवसाय गर्नुपर्छ भनेर फर्निचर व्यवसाय गर्न थाले सिकेर । म चाहिँ पकेट खर्चका लागि भाइसँग काम गर्थे । भाइको सो रुममा पनि बस्थेँ म’ उनले आइतबार एभरेस्ट टाइम्ससँगको अन्तरंग वार्तामा भने, ‘त्यही सोरुम दिनभरी बस्ने र बेल्काबेल्का दाइहरुसँग बारहरुमा गाउन, बजाउन जान्थेँ ।’

झापाको ग्लोरी इंलिस बोर्डिङ स्कुल र वाल्मीकि प्रोभिडेन्स कलेजमा प्लसटु पढेका राम केही वर्षअघि देखि काठमाडौंमा छ्यामाहरुकोमा आउने/जाने गर्थे । तर, द भ्वाइस अफ नेपालमा जोडिएपछि भने यताको बसोबासलाई लम्ब्याउँदै लगेका छन् ।
०००
कक्षा ९ पढ्नेताका राम अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीमा दुई वर्ष बसे । सानैदेखि फुटबल खेल्न रुचाउने उनी अन्डर टुभेलका फुटबल प्लेयर । एन्फाबाट निस्की घर गए, पढाइलाई निरन्तरता दिए । ०६९ सालमा प्रवेशिका (एसएलसी) थिए । त्यसपछि ११ र १२ पढे निरन्तर ।

नानीदेखि लागेको बानी भनेंझे खेलकुदबाट अलग होला होला झैं भएका राम फेरि संगीततिर झ्याम्मिए । अरु तीन साथीहरुसँग मिलेर करिब ३ वर्षअघि नेपालीसियन ब्यान्ड खोले विर्ता बजारमा । उनको व्यान्डमा आशिष बुढाथोकी, विजय पाँचकोटी र हिलिहाङ लिम्बु छन् । त्यही व्यान्डमार्फत सांगीतिक रन्को दिँदै आएका राम पकेट खर्चका लागि भाइको फर्निचरमा काम गरेँ । व्यान्डमार्फत म्युजिकमा केही गर्ने सोचसहित अघि बढे । तर, आर्थिक समस्या चर्किँदै गएपछि विदेश जाने निधोमा पुगे । सेल्समा बराइनको भिसा पनि झरेको थियो । त्यही बेला द भ्वाइस अफ नेपालको अडिसन आयो । त्यतातिर लागेपछि बहराइन जाने प्लेन चढ्न पाइनन् । गत असारमा भएको अडिसनमा भाग लिए रामले । ‘मलाई म्युजिकमै केही गर्छु भन्ने थियो । म्युजिकमै काम गर्दै हिँड्थे । त्यत्ति गर्दागर्दै भ्वाइस अफ नेपालमा आइयो,’ उनले दिनहरु सम्झे, ‘ब्ल्याङ्क अडिसन दिएँ । विदेश जान क्यान्सिल गरेँ ।’ प्रस्तुत छ, द भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुसँग गरिएको कुराकानीको सम्पादित अंश ।

उपाधि हात पार्न कत्तिको मिहेनत गर्नुभयो ?
मिहेनत नगरी फल नै पाइँदैन । सबै जना आ–आफ्नो ड्रिम बोकेर आएका हुन्छन् । खत्रा–खत्रा गाउनेहरु पनि हुनुहुन्थ्यो त्यहाँ । दिएको गानामा एकदमै मिहेनत गर्नुपथ्र्यो । संगीत क्षेत्रमा आफ्नो दु:ख सम्झेर पनि मिहेनत गर्नुपथ्र्यो । त्यत्रो वर्षसम्म पनि म्युजिक गर्दा केही भएन । भ्वाइस एउटा प्लेट फर्म हो । त्यसमा आइसकेपछि आफूले जति सकिन्छ, हन्ड्रेड पर्सेन्ट दिएँ ।

यो सफलतामा क–कसको सहयोग पाउनुभयो ?
आफ्ना व्यान्ड र फ्यामिलीले साथ दिनुभयो । अडिसन दिँदा कसैलाई थाहा दिइनँ । भाइ लक्ष्मणलाई मात्र थाहा थियो । सफल हुन्छु, हुँदिनँ भन्ने मनमा दोधार थियो । पछि परिवारले थाहा पाइसकेपछि सपोर्ट गर्नुभयो । जब ब्ल्याङ्क अडिसनको रिजल्ट निस्कियो । जति जनाले देख्नुभयो, सबैले सहयोग गर्नुभयो । चिन्दैचिन्दै जानुभयो । धेरैले माया गर्दै जानुभयो । देश, विदेशमा नेपालीले देख्नुभयो र मलाई मनपराउनुभयो । र, सपोर्ट गर्नुभयो । त्यसपछि हौसला बढ्दै गयो, बढ्दै गयो । अन्तिममा उपाधिसम्म पुगियो ।

भनेपछि उपाधि जित्छु भन्ने लागेको थिएन ?
उपाधि जित्छु भन्ने कल्पनामै थिएन । ब्ल्याङ्क अडिसनमा एकदमै राम्रो राम्रो गाउनेहरु हुनुहुन्थ्यो । हाइलेभलका सिंगरहरु पनि हुनुुहुन्थ्यो । जित्छु भन्न सकिने अवस्था थिएन त्यतिखेर । सोचेको पनि थिएन जित्छु भनेर । एट्लिस केही स्टेपसम्म चाहिँ पुग्छु भन्ने थियो ।

जितिसकेपछि कस्तो फिल गर्नुभयो ?
उपाधि हात पार्दा सबै जनताको माया पाएजस्तो लाग्यो ।

यो सफलता जोगाउन सक्छु कि सक्तिनँ भन्ने डरले कत्तिको लखेट्छ ?
एकदम धेरै लखेट्छ । म पहिलाको जस्तो अब रहिनँ । अब मेरा हरेक कुरा दर्शक तथा स्रोताले हेर्नुुहुन्छ । धेरै प्रतिस्पर्धीबाट मलाई उहाँहरुले छान्नुभएको छ । त्यसैले मलाई बजारले हेरिरहेको छ । त्यसकारण पनि मैले अब गर्ने काममा निकै धेरै विचार पुर्‍याउनुपर्ने छ । पहिला मैले गीत निकाल्दा कसैले पत्याउँदैनथ्यो । अहिले धेरैले चिन्नुहुन्छ । यसको प्रेसर भने हुँदोरहेछ । मैले पाउने त पाइसकेँ अब यसलाई जोगाउनुपर्छ । र, यो नै कठिन कार्य हो ।

सिङ्गिङ रियालिटी सो जितेका अधिकांश प्रतिभा गुमनामजस्तै छन्, समीक्षा गर्नुभएको छ ?
मुख्य पक्ष हामीले सांगीतिक उद्योगलाई समय दिन सक्नुपर्छ । विजेता भएको पहिलो वर्ष हामी व्यस्त हुन्छौं । आयोजकसँग सम्झौता नै त्यस्तै हुन्छ । कार्यक्रममा कुद्दाकुद्दा आफ्नो गीत दर्शक तथा स्रोतालाई दिन नसकेपछि उहाँहरुले त्यसैलाई मूल्याङ्कन गरेर केही पनि गर्न सकेन भन्नुहुन्छ । आफूलाई माया गर्ने दर्शक तथा स्रोतालाई आफ्नो गीत दिन सक्यो भने हराइँदैन जस्तो लाग्छ ।

सन्देशचाहि के गयो होला ?
आफूले गरेको मिहेनत, साथ पनि चाहिनेरहेछ । मान्छेले राम्रोसँग गर्‍यो भने सबैले मनपराउनुहुँदोरहेछ ।

उपाधि जितेपछिको दैनिकी ?
कुदाकुद । विदेश टुरहरुका लागि काम हुँदैछ । त्यसका लागि पेपरहरु साइन गर्‍यो, यताउता भिसाका लागि दौड्यौ । कतै सम्मानका लागि बोलाउनुहुन्छ, त्यसमा जाने र केही मिडियाकर्मीहरु आउनुहुन्छ समय दिने गरेको छ । यसैमा दिनहरु बितिरहेको छ ।

कुदाकुदले नियमित अभ्यासमा प्रभाव परेको होला नि !
हैन, सबै कुरालाई टाइम मिलाउन सक्नुपर्छ । भागदौड गरेरमात्रै हुँदैन । जनतालाई केही नयाँ दिनुछ । त्यसका लागि गानाहरु पनि गर्दैछु । सकेसम्म राम्रो निकाल्ने प्रयास गर्छु ।

गीतका लागि अफर कत्तिको आउँछ अचेल ?
विजेता भइसकेपछि धेरैले माया गरेर मेरा गीत गाइदिनुपर्‍यो भनेर अनुरोध गरिरहनुभएको छ । तर मलाई अहिले धेरै संगीतप्रेमीले नोटिस गरिरहेकाले मैले गीत राम्रो छ अथवा छैन छान्नुपर्छ । मलाई राम्रो लाग्यो भने म त्यो गीत कस्तो छ, गाउँदा हुन्छ र हुँदैन भनेर प्रमोद सरलाई देखाउँछु । अनि मात्रै गाउने र नगाउने निर्णयमा पुग्छु ।

गीत आझैं लेख्नुहुन्छ ?
शब्द पनि कोर्छु । त्यस्तो खत्रा त कोर्दिनँ । तर, पनि केही केही ।

आर्थिक समस्याको कुरा पनि गर्नुभयो, अहिलेको कुदाइको खर्च पुरस्कारको राशिबाट मिलाउँदै हुनुहुन्छ ?
पुरस्कारको नगद खासै धेरै होइन । टुभेल लाख क्यास हो । त्यसले घरै बनाउँछु भने पनि सकिँदैन । केही गर्न पनि सकिँदैन । किनकि अहिले एकदमै महँगो छ । आफूले इन्डस्ट्रीमै केही मिहिनेत गर्नुछ अझै पनि । सबैजनाको माया र सपोर्टलाई त्यही लेभलमा राखिरहनुछ । यदि राम्रो गर्न सकियो भने अभियस्ली पछि आर्थिक त कमाइन्छ होला ।

पुरस्कार थापिसक्नुभयो ?
छैन । उहाँहरुले महिना–महिनामा इन्स्ट्रलमेन्टका आधारमा दिनुहुँदोरहेछ ।

कत्ति नि लिनु भा छैन ?
लिएको छैन ।

उसोभए १२ लाख लिन एक वर्ष लाग्ने भयो त ?
त्यत्रो त लाग्दैन होला । हामी जति प्रोग्राम गर्दै जान्छौं होल टुर । गर्दै गर्दै गएपछि मन्थ्लीमन्थ्ली दिनुहुँदोरहेछ ।

टुरको प्रोग्रामबाट थप इन्कम हुन्छ कि ?
मेरो प्राइज १२ लाख र गाडी हो । अरु ३ जना जो हुनुहुन्थ्यो, उहाँहरुले पर्सन पर्सन पाउनु हुँदोरहेछ ।

पुरस्कारको गाडी चढ्नु भा छैन ?
घरमै राखेको छु ।

निरन्तरता दिने सोचमै हुनुहुन्छ ?
यसलाई नै सबै कुरा सोचेर, सम्झेर लाग्नेछु । किनभने यसमै छान्नु भएको छ जनताले मलाई । यसमै अघि बढ्छु ।

अहिले गुरुहरु क–कसले मद्दत दिइरहनुभएको छ ?
सबै जनासँग सल्लाह हुन्छ । मेरो कोच पनि हुनुहुन्छ प्रमोद सर (खरेल) । करन सरले गाना बनाइदिँदै हुनुहुन्छ । अरु त म आफैं व्यान्डसँग गर्दैछु । उहाँहरुसँगै कुरा गरेर कम्पोजिसन गर्दैछु ।

संगीतमा पूरा समयजस्तै लाग्नुभएको कति समय भयो ?
प्लस टु सकेदेखि नै हो । लगभग ५ वर्ष भयो ।

यसबीचमा संगीतमा ठूलै दु:ख गर्नुभयो होला नि ?
एकदमै दु:ख गरेँ । रातदिन म्युजिक नै बजाइन्थ्यो । गानै सुनिन्थ्यो । गाएरै हिँडिन्थ्यो ।

अब संगीत क्षेत्रलाई अगाडि बढाउने सबालमा केही अभाव र अप्ठ्यारा महसुस गर्नुभएको छ ?
अभाव त छैन । सबैले चिन्नुभएको छ । पहिला नचिन्दाचाहिँ गाह्रो हुन्थ्यो । अहिले मान्छेहरुले चिन्नुुहुन्छ । सपोर्ट पनि गर्नुहुन्छ । ठाउँ ठाउँमा सपोर्ट पाइरहेको छु । हेदौं जाउँ, कहिलेसम्म सहयोग पाइन्छ ।

समस्या बढी भाग्नुभएको कस्तो खालको हो तपाईंले ?
आर्थिक पनि हुन्छ । किनभने आर्थिकबिना केही पनि हुँदैहुँदैन । हिँडिसकेपछि पैसा चाहिन्छ, चाहिन्छ । जे कुरामा पनि । सबैको आ–आफ्नै विजिनेस हुन्छ । सबैले फ्रिमा काम गर्न सकिँदैन । केही दिनैपर्ने हुन्छ । हेरौं मैले पनि कति सक्छु ।

भ्वाइस नेपालमा आउनुअघि पैसा नहुँदा संगीत यात्रामा कत्तिको अवरोध झेल्नुभयो ?
आर्थिक नभएपछि धेरै अप्ठ्यारा व्यहोरेँ (हाँस्दै…) ।

एउटा एल्बम त निकालिसक्नु भयो होइन ?
तीन वर्ष अघि रेल गाडी गीत निकालेँ । त्यो बेला पनि मलाई भाइले पैसा दिएको थियो केही गर भनेर । दाइले पनि केही पठाइदिनुभएको थियो । आफूसँग नहुँदा दाइ, भाइसहित परिवारले नै सपोर्ट गर्नुभएको थियो अलिअलि । पहिलो एल्बम एकजना चिनेका दाइसँग गरेँ ।

पढाई रोकिएको पनि पैसाले हो ?
त्यो त होइन । नेपालमा कति धेरै पढे पनि केही नहुने । १२ सकेर भाइले बिजनेस नै गर्छु भने खर्च जुटाउनका लागि । भाइले त्यही गरे । मचाहिँ म्युजिकतिर लागेँ । भाइलाई पनि सघाउँथेँ ।

फुटबलचाहिँ चट्टै छोड्नुभएको हो ?
फुटबल खेल्न त कसरी छोड्नु ? टाइमटाइममा साथीहरुसँग खेल्छु । त्यो भनेको फिजिकल एक्सरसाइज पनि हो ।

राष्ट्रिय खेलाडी भन्ने सोच छैन ?
त्यताचाहिँ नलाग्ने । किनभने मेरो खुट्टामा प्रबलम पनि छ । दुइटा क्षेत्रलाई टाइम पनि दिन सकिँदैन । जनताले मलाई एउटा ठाउँमा छानिसक्नुभएको छ । म म्युजिक लाइनमै अगाडि बढ्छु ।

म्युजिक विकासका लागि राज्यले के गरिदिनुपर्छ जस्तो लाग्छ ?
राज्यले भन्दा पनि हामीलाई सपोर्ट गर्नुभएका मान्छेले नै सहयोगलाई निरन्तरता दिनुपर्छ । पहिले त त्यति स्टेज थिएन भने अहिले त हरेक ठाउँमा स्टेज छन् । देश, विदेशमा यत्रो माया गरेर नेपालीहरुले बोलाउनुहुन्छ । राज्यले के गरेको छ र । गर्ने नागरिकले नै हो, नेपालीले नै हो । सबैलाई एउटा एउटा शो हरु मिलाइदिनुहुन्छ विदेशहरुमा । कलाकारहरुले नि माया दिइराख्नुपर्‍यो । अनिमात्र जनताहरुले हामीलाई प्रोग्रामहरुमा बोलाउनुहुन्छ । सबैसँग राम्रो रिलेसन पनि राख्न सक्नुपर्‍यो इन्ड्रस्टीमा ।

संगीत क्षेत्रको जुन विकास र गति र प्रकृति छ ? यसमा सन्तुष्ट हुनुहुन्छ ?
सबै किसिमका संगीत राम्रै हुन्छ । आ–आफ्नो विचारले सिर्जना गर्नुभएको हुन्छ । कसैकोलाई नराम्रो भन्न मिल्दैन । संगीत भनेको इन्टरटेन्टमेन्ट हो । मान्छेले सुनेर झुुम्मिनु पर्‍यो । संगीतबाट राम्रो दिन सक्नुपर्‍यो । मनमा पुग्ने खालका राम्रा शब्दहरु । मार्केटमा भिन्दभिन्दै ट्रेन छ । सुधार्नुपर्ने केही नै छैन । आ–आफ्नो क्षेत्र हुन्छ । एउटा लोक, पप, रक, र्‍याप आ–आफ्नो ठाउँमा हुन्छ । म सबै प्रयास गर्छु । कति गाउन सक्छु ।

अबको योजना केही छ ?
प्रोपर प्लान बनिसकेको छैन । अहिले म्युजिकमै केन्द्रित हुने हो । उपाधि वर्षौवर्षैं चलिराख्यो भने वर्षौंवर्षौं पाइराखेजस्तै हुनेछ । आफ्नो गाना स्रोता, दर्शकले गुनगुनाइरहेको देख्न र सुन्न पाउँ । बजिराखोस् । नहराओस् । मान्छेले चिनोस् । राम लिम्बु पनि हराएन । राम लिम्बुको पनि गाना छ ।
पुराना पुराना व्यान्डहरु अझै जस्तै नेपथ्य, सविन राई । उहाँहरु जसरी टिकिरहुँ । आफ्नै गानामार्फत चिनिन चाहन्छु । अरुको गाना त सबैले गाउँछन् ।

तपाईं आफू व्यान्डमार्फत् चिन्न, चिनाउन चाहनुहुन्छ कि व्यक्तिगत रुपमा ?
व्यक्तिगत रुपमा चिनिनै हुन्छ अभियस्ली । तर, व्यान्डलाई नै चिन्नुहुन्छ । जस्तै नेपथ्य भनेर नै चिन्नुहुन्छ । अमृत गुरुङमात्रै होइन । म पनि व्यान्डमार्फत् जान चाहन्छु । किनभने एक्लै गरेको भन्दा चार/पाँच जना मिलेर गरेको राम्रो हुन्छ । सपोर्ट पाइन्छ ।

परदेश कहाँ कहाँ जानु भा छ ?
म इन्डिया मात्र गाको छु । फुपूको ट्रिटमेन्टका लागि चेन्नाइ गएको थिएँ ।

अब कुन कुन जाँदै हुनुहुन्छ ?
थुप्रै कन्ट्रीहरु जाँदैछु । कोरियाबाट सुरु हुँदैछ वल्र्ड टुर । कोरिया, हङकङ, यूरोप, क्यानाडा, यूएसए (अमेरिका), यूके, अस्टे«लिया, जापान लगायत देशमा जाने तयारीमा छु । नेपालीहरु जति देशमा हुनुहुन्छ, प्राय: सबैतिर बोलाउनुभएको छ, मैले सुनेअनुसार । भ्याइसले नै लान्छ । हामी एक वर्षको कन्ट्रयाकमा छौं ।

संगीतबाहेका रुचि छ ?
व्यापार व्यवसायमा रुचि छ । अरु संगीतमा लाग्नुभएकाहरुले पनि साइड बिजिनेस गरिरहनुभएको छ । भाइसँगै फर्निचर व्यवसायलाई अपग्रेट गर्ने सोच छ । घुम्न एकदमै मन पराउँछु । नयाँ नयाँ ठाउँ हेर्न मन पर्छ । सुरुमा त आफ्नै नेपाल हेर्न मन पर्छ । त्यसपछि विदेश ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!