काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कानुन विज्ञ तथा शान्ति प्रक्रियाका जानकार नेताहरु सुवासचन्द्र नेम्वाङ, रमेश लेखक, मिनेन्द्र रिजाल र खिमलाल देवकोटा सहभागी थिए । छलफलमा सहभागी कांग्रेस नेता लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोग बारेको विधेयकको मस्यौदामा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग भएको परामर्श ब्रिफिङ गरिएको बताए ।
उनका अनुसार कानुन मन्त्रालयको नेतृत्वमा सातवटै प्रदेशमा द्वन्द्वपीडितसँग परामर्शका लागि बनेको टोलीले तीन जना नेतालाई रिपोर्ट पनि बुझाएको छ । उक्त टोलीमा नेकपा र काँग्रेस नेताहरु पनि संयुक्त रूपमा सातवटै प्रदेशमा गएका थिए । यो विधेयक संसदबाट पास गराउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ । नेताहरुबीच टिआरसीबारे कानुन बनाउने कुरा कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको उनले बताए ।
लेखकका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नेबारे पनि छलफल भएको थियो । सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिले दरखास्त आहृवान गरेका ५७ मध्ये ५४ र त्यसमा थप ७ गरी ६१ उम्मेदवारको सूची मङ्सिर पहिलो साता प्रकाशन गरेको थियो । सिफारिस समितिको शुक्रबार बसेको बैठकले पदाधिकारीमा पुरानाहरू नदोर्होयाउने सहमति गरेको छ । सोही अनुसार शनिबार सिफारिस समितिको बैठक बसेर निर्णय लिने तयारमा छ ।