एनआरएनएको मुभमेन्टप्रति जनतालाई पोजेटिभ बनाउने काम गर्नेछुु : रामकुमार गुरुङ प्रवक्ता, एनआरएनए यूके

SHARE:

रामकुमार गुरुङ गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायतका प्रवक्ता हुन् । इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने र विषयवस्तुलाई सालिन ढंगले प्रस्तुत गर्नसक्ने क्षमताका गुरुङ एनआरएनए यूकेको प्रवक्ता भएको यो दोस्रो पटक हो । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय गुुरुङ सन् २००८ को कार्यसमितिमा पनि प्रवक्ता थिए । जुन समयमा उनले १८ महिना कार्यकाल बिताएका थिए ।
रामकुमार मेजर डमर घले र राजन कँडेलबीच एनआरएनएको नेतृत्वका लागि चुनावी भिडन्त हुँदा सदस्यमा लडेका थिएँ । त्यसबेला उनले सबैभन्दा धेरै लोकप्रिय मत पाएर जित हासिल गरे । विभिन्न संस्थामार्फत् सामाजिक काममा अहोरात्र हेलिरहेका प्रवक्ता रामकुमार गुरुङसँग नेपालले दिने एनआरएनए नागरिकता, आगामी योजना लगायत विषयमा एभरेस्ट टाइम्सका लागि मधुकर गुरुङले गरेको कुराकानी ।

यही जनवरी ५ तारिखमा एनआरएनए यूकेको इंग्ल्यान्ड राज्य परिषद्ले नेपाली नागरिकता निरन्तरतासम्बन्धी अन्तक्रिया गरेको थियो । कार्यक्रम राष्ट्रिय समन्वय परिषद्ले गर्नुपर्ने होइन र ?
यस्ता भनाइ मैले पनि धेरै सुनेको छु । एनआरएनएको सांगठनिक ढाँचा केन्द्रबाट सुरु भएको हो । विभिन्न देशहरुमा पनि कतै त्यहाँको सामाजिक, भौगोलिक लगायत सबै संरचनालाई हेरेर शाखा, उपशाखा बनेका छन् । बेलायत चार वटा राज्यबाट बनेको एउटा देश हो । यहाँ इंग्ल्यान्ड राज्य, वेल्स राज्य, स्कटल्यान्ड र नर्दनआयरल्यान्ड छन् । हामी एनआरएनएको अभियानलाई प्रत्येक एनआरएनसम्म पुर्‍याउनका लागि संगठनलाई विस्तार गर्नुपर्छ भन्ने मान्यतामा छौं । गएको कमिटीले प्रत्येक चार राज्यमा राज्य समिति गठन गर्ने भनेबमोजिम र विधानमा उल्लेख गरिए अनुसार हामीले निर्वाचन गरेर नेतृत्व निर्वाचिन गराएका छौं । त्यसकारण हामीले गरेको नागरिकता सबाल कार्यक्रममा गैरआवासी नेपालीहरुले कुन नागरिकता पाउँदैछौं ?
एनआरएनए नागरिकता हो कि ?, दोहोरो नागरिकता हो कि ? नागरिकताको निरन्तरता हो कि ? भन्ने विषय प्रस्ट पार्ने कोसिस गर्‍यौं । कुन नागरिकता लिँदाखेरी नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित हुन्छ भन्ने विषय पनि प्रत्येक नागरिकलाई बुझाउनु आवश्यक छ ।
जहाँसम्म नेपाल सरकारसँग डाइरेक्ट कनेक्सन हुने प्रोग्राम राष्ट्रिय समन्वय समितिले गर्नुपर्नेमा किन इंग्ल्यान्ड राज्य समितिले गर्‍यो ? भन्ने सवाल आएको छ । हामीले प्रत्येक राज्यमा नागरिकता बारे प्रस्ट्याउने कार्यक्रम पुर्‍याउनुपर्छ । राज्यमा मात्रै होइन कि प्रत्येक घरघरमा पुर्‍याउनुपर्छ । त्यसकारणले इंग्ल्यान्ड कार्यसमितिले यो कार्यक्रम गरेको हो । जुन एकदम राम्रो हो । यसको फलो वेल्सले पनि गर्नुपर्छ । स्कटल्यान्डले पनि गर्नुपर्छ ।

कार्यक्रममा प्रवक्ताको भूमिका देखिएन नि ?
कमिटीमा आ–आफ्नो भूमिका हुन्छ । एनआरएनए यूकेमा म प्रवक्ता छु । मेरो भूमिका भनेको कार्यसमितिलाई पूर्ण रुपमा सहयोग गर्ने हो । सामाजिक सञ्जालमा वा बाहिर मञ्चमा गएर माइक समातेको मान्छेले मात्रै काम गर्‍यो, पर्दा पछाडि रहेर गरिएका कामलाई, काम गरेको होइन भन्ने हो भने छुट्टै कुरा । अगाडि महासचिव, सचिवहरु सक्रिय हुनुहुन्थ्यो, मैले पछाडि बसेर काम गरेँ ।

पछिल्लो समय एनआरएनएको औचित्यमाथि नै प्रश्न उठाइएको छ नि ?
नेतृत्वमा केही कमीकमजोरी होलान्, छ । सुधार्नुपर्छ । र, प्रत्येक एनआरएनएको ढोकाढोकामा पुर्‍याउनुपर्छ । मेरो नितान्त व्यक्तिगत धारणा हो, पुग्नुपर्छ होइन, पुर्‍याउनुपर्छ । एनआरएनएको सांगठनिक ढाँचा माथिबाट सुरु भएर हामी तल जाँदैछौं । यो अ पनि जाने क्रममा छ ।
हामीले इंग्ल्यान्ड चारवटा राज्य स्थापना गर्न सकेका छौं । स्टेटहरु पनि स्थापना गर्ने । भएन भने टोलटोलमा पनि एनआरएनएका कमिटीहरु निर्माण गर्ने पक्षमा हामी छौं । त्यसरी गयौं भने एनआरएनएका प्रत्येक कार्यक्रमहरु, एनआरएनएले गरेका उपलब्धिहरु र एनआरएनएले गर्नुपर्ने कुराहरुबारे आवाज आउनेछ । र, त्यहाँबाट अगाडि बढ्न र बढाउन सजिलो हुनेछ ।

जहाँसम्म एनआरएनएको औचित्य छैन, यो समाप्त भयो भन्ने सबाल छ । एनआरएनए बुझ्ने मान्छेहरुलाई एनआरएनए आवश्यक छ भन्ने थाह छ । जसले बुझ्न बाँकी छ र केही साथीहरुले गलत प्रचारबाजी गरिरहेका छन् । हाम्रा मान्छेहरुको मनस्थिति के भइसक्यो भने गलत विचार, गलत समाचारहरु आउँछ बाहिर, त्यसलाई विश्वास गर्ने । सजिलो वातावरणका रुपमा नलिइकन असहज बनाउने र असहयोग गर्ने परिपाटीले गर्दा बाहिर जति पनि एनआरएनएहरु छन्, जनमानस छन्, जनता छन् । उहाँहरुमा एनआरएनए नचाहिने पो हो कि, आवश्यक नभएको हो कि भन्ने महसुस भएको छ । हामीले त्यसलाई चिरेर जानुपर्नेछ ।
हाम्रा कार्यक्रम प्रत्येक दैलोदैलोमा पुर्‍याउनुपर्छ । हामीले पोजेटिभ म्यासेज लिएर जानुपर्छ । सबैले सकेको काम गर्नुपर्छ र एनआरएनएलाई राम्रो बनाउनुपर्छ ।

म्यासेज दैलोदैलोमा पुर्‍याउने कुरा गर्नुभयो तर तपाईंहरुले एनआरएनएको परिचय पत्र ‘आइडी कार्ड’समेत वितरण गर्न सक्नु भएको छैन ?
आईडी कार्ड पुर्‍याउने हाम्रो कार्यक्रम छ । अहिले इंग्लाइन्ड राज्य समितिले जिम्मेवारी पनि लिएको छ । त्यो काम एकदमै छिट्टो हुनेछ ।
छिटो भन्नाले कहिले ? हप्तामा, १५ दिनमा वा महिनामा ?
ठ्याक्कै टाइम तोक्न नसके पनि सक्दो चाँडो, सुविधायुक्त तरिकाले तपाईंहरुको घरघरमा आइडी पुर्‍याउन आउनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु । तपाईहरु एनआरएनएको मेम्बर बन्नुभयो भने घरघरमा आइडी कार्ड आउँछ ।

अहिलेको एनआरएनए आईसीसीको नेतृत्वमा कम्युनिस्ट व्याकग्राउन्डका हुनुहुन्छ हैन ?
नेतृत्वमा कम्युनिस्ट मात्रै भए, अरुको छैनन् भन्नु एकदमै गलत हो । अध्यक्ष कुमार पन्तज्यू विचारको हिसाबले कम्युनिस्ट नजिक हुनुहोला । तर, अध्यक्ष कम्युनिस्ट भयो भन्दैमा सबै कार्यसमितिमा कम्युनिस्टले जितेका छैन जस्तो मलाई लाग्दैन । विचार, आस्था आ–आफ्नो हुन्छन् ।

एनआरएनएमा कम्युनिस्ट आस्थावान अध्यक्ष हुनु र नेपालमा कम्युनिस्ट नेतृत्वमा सरकार बन्नु संयोग मिलेको छ । यसरी हेर्दा गैर आवासीय नेपालीले उठाउँदै आएको नागरिकता लगायत माग पूरा गराउन सहज होला हैन ?
एनआरएनएले जहिले पनि अभियान लिएर अगाडि जाने हो । अधिकारहरु खोज्दै जाने हो । कतिपय कुराहरुमा हामीले माग राख्नुपर्छ भने कतिपय मागका लागि लडाइँ लड्नु पर्ने हुन्छ । आईसीसी अध्यक्ष पनि कम्युनिस्ट भयो । नेपालमा दुइतिहाईको कम्युनिस्ट सरकार छ भनेर सबै माग पूरा भइहाल्ने होइन ।
ठूलो होस्, सानो होस्, राज्यको होस् वा सामाजिक, गाउँले संस्था होस् । हरेक संस्थाको सामाजिक मूल्यमान्यता हुन्छ । बहुमतमा छौं, हामीले जे भन्यौं त्यही हुन्छ । जे सोच्यौं त्यही गर्न पाउनुपर्छ भन्नु एउटा अधिनायकवाद हो । त्यो लाद्नु हुँदैन । हामी प्रजातान्त्रिक पद्धतिमा चल्ने भएकोले त्यही तरिकामा चल्नुपर्छ ।
२०७२ सालमा जारी भएको नेपालको संविधानमा प्रस्ट लेखिएको छ कि अब विदेशमा बसेका एनआरएनएहरुलाई एनआरएनए नागरिकता उपलब्ध गराउने । कि हामीले त्यो नागरिकता चाहिएन भनेर जानु सक्नु पर्‍यो । हैन, हामी हरेक किसिमले जसरी पनि नेपालसँग जोडिने हो । हामीमात्रै होइन हाम्रा पुस्ता, झन् अर्को पुस्ता जोडिन हो भने हामी समाजमा रहेर सकारात्मक तरिकाले काम गर्दै जानुपर्छ ।
दुई तिहाइ मतको सरकार छ । हाम्रो माग अहिले नै पूरा गर्नुपर्छ भन्ने हुँदैन । हामी त प्रजातान्त्रिक पद्धतिमा छौं । भोलि फेरि अरु कुनै पार्टीले दुई तिहाइ ल्याउला । त्यसले यो भएन भनेर क्यान्सिल गर्‍यो भने त हामी सामाजिक रुपमा अगाडि बढ्न सक्दैनौं । एनआरएनएलाई एनआरएनए नागरिकता दिने नेपाल सरकारले संविधानमा तोकिसकेको छ । उनीहरुले विधेयक पनि ल्याउँदै छ । अहिले संसद्को हिउँदे अधिवेशनले विधेयक पास गर्ला । विधेयकमा गैर आवासीय नेपालीलाई कतिसम्म अधिकार दिने, कुन हद्सम्म अधिकार दिने भन्ने कुरामा संसारभरि छरिएका एनआरएनहरु सजक हुनुपर्छ । उहाँहरुले गरिरहेको कार्यमा अवलोकन गरेर राम्रो र हाम्रो पक्षमा विधेयक पारित गराउन दबाब दिनुपर्छ ।

विधेयकको मस्यौदा बन्दा एनआरएनए नेतृत्वले ध्यान दिएको छ कि छैन त ?
एनआरएनए आईसीसीको पहिलो कमिटीले नेपाल सरकारसँग, हरेक विभाग, तहतप्कासँग अन्तत्र्रिmया गरेको थियो । हाम्रो माग यो हो भनेर राखिसक्नुभएको छ । ५ जनवरीमा भएको अन्तत्र्रिmया कार्यक्रममा अधिवक्ता सुरेन्द्र श्रेष्ठले डिटेलमा विधेयकको यो दफामा यो छ, यस्तो बनाएको छ भनेर स्पष्ट पार्नुभएको थियो । त्यसैले हामी सबै लाग्नुपर्छ । अहिले राष्ट्रिय किमिटीले गर्नुपर्ने कार्यक्रम, राज्यले गर्‍यो, गर्नै नहुने प्रोग्राम, पहिल्यै आइसकेको प्रोग्राम भनेर जसरी भ्रम पैmलाइरहेको छ, त्यसको पछि लाग्यो भने यो पनि गुम्न सक्छ ।

गैर आवासीय नेपालीको नेपालमा रहेको जग्गाबारे चाहिँ एनआरएनएले के पहल गर्छ ?
एनआरएनएको पहिलेका कमिटीले पनि यी विषयमा नेपाल सरकारसँग कुराकानी गरेको छ । आधिकारिक त होइन तर यो विधेयक पास नहुँदासम्म तपाईंहरुले जग्गा किनबेच गर्ने काम नगर्नु होला । संविधान आउनुभन्दा पहिले जति पनि किनिसकेको छ त्यसमा कुनै असर पर्दैन । त्यो भन्दा पछि किनेको भए हरेक कुराले असर पर्ने हो कि भन्ने नेपाल सरकारको कुरा छ । गैर आवासीय नेपालीलाई म अनुरोध गर्छु, ‘गैरआवासीय नेपाली नागरिकता पाउने भयौं भनेर ढुक्क नहुनु होला ।’ विधेयक आउँदैछ । नियम, नियमावली आउँदैछन् । यो आइसकेपछि संविधान बन्नुभन्दा अगाडिको जग्गाका बारेमा केही कुरा हुनेछ । अहिले किनबेच नगर्नु हुन म अनुरोध गर्दछु ।

एनआरएनए यूकेको निर्वाचन भएको ३ महिना बितिसकेको छ । तर चुनावमा धाँधली भएको भन्ने परकम्पन अहिले पनि आइरहेका छन् । तपाईंले कसरी हेर्नुभएको छ यसलाई ?
धाँधली भएको भन्ने आवाज मैले पनि सुनेको छु । तर, एनआरएनएको विधानतः निर्वाचन कमिटी थियो, प्रमुख निर्वाचन आयुक्त थिए । उहाँले १३ वटै मतदान केन्द्रमा निर्वाचन अधिकृत र कर्मचारी खटाउनुभएको थियो । उहाँहरु सबै एकदम राम्रो तरिकाले लाहा छाप लगाएर अल्डरसटस्थित केन्द्रमा आएका थिए । सबै केन्द्रमा आइसकेपछि मतपेटिकामा लाहा छाप लगाएको छ । त्यसमा हस्ताक्षर छ, लाहा छापा लगाइएको छ भने धाँधली भएको कुनै ठाउँ छैन । रह्यो अहिलेको सामाजिक परिवेश, स्पेसल्ली नेपालीहरुको बुझाइ हो । प्रजातान्त्रिक प्रक्रियामा जित्ने पक्ष खुसी हुन्छन्, हार्ने पक्ष निराश । निराश पक्षले जहिल्यै पनि जितेकालाई धाँधली भयो भन्ने आरोप लगाउँछन् । नेपाली जनमानस वास्तविकता नबुझी जसले जे भन्यो, त्यसको पछाडि लाग्ने गर्छ ।

धाँधली भएको त हो नि ?
बुथ नै लुटिएको, कब्जा गरेको भन्ने छैन । बेजिङस्टोकमा कति भोट झर्‍यो, पाँच सय चानचुन । बुथ कब्जा गरेको स्थितिमा १ हजार आउनु पर्ने हो नि ! अनिमात्र धाँधली गरेको प्रमाणित हुन्थ्यो । ५ सय ९३ जति भोट खसेको थियो । त्यत्ति नै भोट मतपेटिकामा खासेको पाइयो, अनि त्यसलाई कसरी धाँधली भयो भन्न मिल्छ ।
अर्को नर्दनआइल्यान्डको बेलफास्ट बुथमा १ सय ४ भोट खस्यो थियो । जसमा ७ भोट रद्द, ९७ भोट सदर । एकपक्षलाई ९६ भोट गएको छ भने अर्को पक्षलाई २ भोट । त्यसलाई धाँधली भन्ने कि के भन्ने ? त्यसरी हेर्ने हो भने जहाँ पनि धाँधली छ भन्नुपर्‍यो । हैन, आफ्नो पक्षमा राम्रो मत आएन भनेर धाँधली भन्ने हो भने यो त आरोपका लागि आरोप हो ।

एनआरएनएमा एकल जातीयका मानिसलाई प्रायोरिटी दिएको भनेर आरोप छ, यसलाई कसरी लिनुहुन्छ ?
समुदायमा जुन जाति, मान्छेहरुको संख्या धेरै हुन्छ, उनीहरुको संस्थामा सदस्य धेरै हुनु पनि स्वाभाविकै हो । यो प्रश्नअनुसार एनआरएनए नै गुरुङले कब्जा गर्न लाग्यो भन्न खोजिएको होला । म पनि एउटा गुरुङकै छोरा हँु । गुरुङको बचाउ गर्नेभन्दा पनि संस्थामा जो अगाडि बढ्यो, उसकै संख्या धेरै हुने हो । जुन साथीहरुले एनआरएनए तमुधिं संस्थाले सञ्चालन गर्‍यो, तमुधिंकरण गरायो, गुरुङमय बनायो भन्नु नाजायज हो ।

मनोनीत गर्दा पनि समावेशी ढंगले गर्नु पर्ने होइन र ?
बेलायतको एनआरएनए राष्ट्रिय समन्वय परिषद् समितिमा अध्यक्षबाहेक दुई जना सदस्यमात्रै गुरुङ निर्वाचित भएका छन् । हामी तीनजना मनोनीत हुँदा ३७ जनाको एनआरएनएको कार्यसमितिमा ६ जना गुरुङ पुग्यो । ६ जना प्रतिनिधित्व गर्दा सबै गुरुङकै भयो भन्न सुहाउँदैन । सामाजिक संस्थामा जुन जातिको सदस्य धेरै देखिन्छ, उसले जित्ने सम्भावना हुन्छ । यसपालिको निर्वाचनमा पनि एकातिर पुनम गुरुङले लिड गर्नुभएको थियो भने अर्कोतिर शेरबहादुर सुनारजीले लिड गर्नुभएको थियो । सुनारजीको पक्षबाट उठेका लालबहादुर गुरुङ र तारा गुरुङजी विजयी हुनु भएको छ । अर्कातर्पm पुनम मात्रै छिन् । इंग्ल्यान्ड राज्य परिषद्मा लालबहादुरु गुरुङ (एलबीजेड) र चन्दन गुरुङ पनि छन् । यसरी हेर्दा सबै गुरुङले नै कब्जा गर्‍यो भन्ने मिल्दैन । भोलि सल्लाहकार चयन होला । यहाँ कतिवटा गाउँले समाज छन् । कति वटा सामाजिक संस्थाहरु छन् । त्यसमा गुरुङहरुले लिड गरेको छ । लिडरलाई त ल्याउनु पर्‍यो । त्यस बेला फेरि सल्लाहकारमा पनि गुरुङै गुरुङ ल्यायो भन्ने होला ।

सल्लाहकार कमिटी पनि यसअघि ठूलो बनाइएको थियो । अलि चुस्त र सल्लाह दिन सक्नेलाई मात्र १०, १५ जनाको सानो कमिटी बनाउने मापदण्ड लागू गर्न सक्नुहुन्न ?
हामी नेपालीहरु एक प्रकारले भाग्यमानी पनि हौं । सानो देश छ । तर, १ सय २६ जाति, जनजाति छौं । १ सय २३ त भाषा बोल्छौं । नेपालमा बहुदल आएपछि नेपालीहरु विदेश जानेक्रम बढी भयो । इंग्ल्यान्डकै कुरा गर्ने हो भने हामी प्रत्येक जाति, जनजातिका मान्छे छौं । सबैले आ–आफ्नो जातीय संगठनहरु खोलेका छन् । हरेक क्षेत्रीय समाजहरु पनि खोलिराखेका छन् । आफ्नो भेगका गाउँले समाजहरु पनि छ । गाउँले समाजहरु पनि त्यत्ति नै सक्रिय छ । स्थानीय रुपमा पनि नेपाली समाजहरु त्यत्ति नै सक्रिय छन् । ती सबै एनआरएनएको मुभमेन्टमा चाहियो नि त । यो जातिको ठूलो भयो, यो जातिको सानो भयो भन्न हामीले मिल्दैन । सबै आ–आफ्नो ठाउँका संस्थामा अध्यक्ष हुन्छन् । त्यही आधारमा एनआरएनएले सल्लाहकार चयनका लागि क्राइटएरिया बनाएको छ । शैक्षिक विज्ञताबाट, विजनेस सेक्टरबाट, जातीय क्षेत्रबाट सल्लाहकार छानिने हुन्छ । संख्या यत्ति नै भन्न सकिने अवस्था छैन । पहिले ५ सयबाट ३ सयमा झारिएको थियो भने हामी सय जनाभन्दा कम बनाउने पक्षमा छौं ।

एक सय जनाको सल्लाहकार चाहिन्छ त एनआरएनएलाई ?
राम्रो आउँछ भने एक जनाको सल्लाह पनि काफी छ । तर एनआरएनएको मुभमेन्ट र सामाजिक अभियानलाई अगाडि बढाउनलाई सबैजनालाई समेटेर लैजानुपर्ने हुन्छ । समेट्ने क्रममा हामीले चाहेको जस्तो त नबन्ला तर पहिलोको जस्तो जम्बो बन्दैन ।

१३ हजारभन्दा बढी सदस्य बनाएको एनआरएनए अहिले २५ हजार पाउन्ड जति नै लसमा छ भन्छन्, तथ्य के हो ?
यसबारेमा ठ्याक्कै यही हो भन्न म असमर्थ छु । किनभने म भर्खरै मनोनीत भएको हुँ, प्रवक्ता । माइनस, प्लस भन्ने जानकारीमा छैन । जहाँसम्म मैले सुनेअनुसार हामी माइनसमा चाहिँ छैन । गत बैठकमा कोषाध्यक्ष नेपाल जानुभएकोले हामीले आर्थिक गतिविधि पूर्णरुपमा सुन्न पाएनौं । अर्को बैठकबाट थाहा पाउनेछौं सायद ।

एनआरएनएले तपाईंलाई प्रवक्ताको भूमिकामा छान्यो । अबको दुई वर्षे कार्यकाल कसरी जिम्मेवारी निभाउनु हुनेछ ?
प्रवक्ता भनेको नेतृत्वलाई सहयोग गर्नाका लागि मनोनीत गर्ने हो । नेतृत्व पंक्तिको हरेक सकारात्मक पक्षलाई मबाट फुल्ली सपोर्ट हुन्छ । उहाँहरुको केही नकारात्मक पक्षलाई यसरी लानु हुँदैन भनेर सुझावसहित खबरदारी गर्दै अगाडि बढ्नेछु । र, एनआरएनएको अभियानलाई हरेक एनआरएनएको घरघरमा पुर्‍याउनमा दिलो ज्यान दिएर लाग्ने छु । एनआरएनएको मुभमेन्टप्रति जनताको नकारात्मक धारणा बनेको छ । त्यसलाई पोजेटिभ बनाउनलाई म आफ्नो भूमिकामा रहेर पूर्ण काम गर्नेछुु । जति पनि एनआरएनएको अभियानलाई नकारात्मक रुपमा प्रचार गरिरहनुभएका साथीहरुलाई भन्न चाहन्छु, प्लिज तपाईंहरु सकारात्मक भएर आउनुस् । समाज भनेको तपाईं, मेरोमात्रै होइन । हामी सबैको हो । हामी भएर लागौं, हामी भएर गरौं । राम्रो काममा हामी सबै लागौं । यदि कुनै गलत काम भइरहेको छ भने हामी सबैले खबरदारी गरौं । म आफ्नो भूमिका र समाजप्रति सधैं प्रतिबद्ध रहनेछु ।

अन्तमा केही भन्नुछ ?
हामी पक्ष, विपक्षमा बाँडिएर लडाइँमा नलागौं । हाम्रो कार्यकाल दुई वर्षको हो । दुई वर्षपछि अरुको समय आउन सक्छ । समय आउँदा अहिलेको नेतृत्वमा तपाईं पनि हुन सक्नु हुन्छ । त्यसैले यसलाई नकारात्मक पक्षभन्दा पनि सकारात्मक तरिकाले अगाडि बढौं । यसले भोलि नेपालीहरुका लागि राम्रो होस् । हाम्रो समाज राम्रो होस् र एनआरएन राम्रो होस् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!