तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १९औं वार्षिकोत्सव

SHARE:

हुम तमु
पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्यका साथ २०५८ सालमा स्थापित तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १९ औं वार्षिकोत्सव, स्रष्टा सम्मान एवम छात्रवृत्ति वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

 

प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले कार्यक्रम उद्घाटन गर्दै तमुहरुले राष्ट्रिय विकासमा पनि योगदान दिनुपर्ने बताए । सामाजिक क्षेत्रमा धेरै योगदान रहे पनि अन्य क्षेत्रमा तमुहरुको खासै प्रभाव नरहेकाले शैक्षिक लगायत राष्ट्रिय विकासमा ध्यान दिनुपर्ने आग्रह गरे ।
जसका लागि उनले संविधानले दिएको हक अधिकारको तमुहरुको पूर्ण उपयोग गर्नुपर्ने बताएका छन् । शैक्षिक क्षेत्रमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले संविधानले भाषिक, कला, संस्कृति लगायतको सामुदायिक अधिकार प्राप्त गर्न गुरुङहरु सक्षम बन्नुपर्ने बताए ।
भाषा आयोगको व्यवस्था संविधानले गरेको छ, भाषाको विकासका बारेमा तमुहरुले त्यसप्रति चासो दिनुपर्दछ उनको सुझाव थियो । यसरी नै उनले गुरुङ समुदायले अब सुरु हुने जनगणनाका बारेमा सचेत बन्नुपर्ने आग्रह गरे । जनगणनामा विभिन्न तथ्यांकहरुसँग सम्बन्धित भएकाले सचेत रहन उनको विशेष जोड थियो ।

प्रमुख अतिथि गुरुङले प्रतिष्ठानका बारेमा विगतमा केही जानकारी भए पनि शैक्षिकमात्रै नभएर सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको र तमुधिं यूकेको विशेष साथ सहयोगका लागि समेत धन्यवाद व्यक्त गर्दै सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा तमुधिं यूकेका उपाध्यक्ष हरि गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानले शैक्षिक, सामाजिक, कला, संस्कृति क्षेत्रमा प्रशंसनीय कार्य गर्दै आइरहेकाले तमुधिं यूकेको निरन्तर साथ सहयोग रहने बताए । हाल वितरण गरिरहेको छात्रवृत्तिमध्ये करिब ९० जना विद्यार्थीलाई तमुधिं यूकेको पहलमा छात्रवृत्ति प्रदान गर्न आपूmहरु सफल भएको उनको भनाइ थियो ।

कार्यक्रममा घनबहादुर लामिछाने स्मृति पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्लीलाई २० हजारसहित सम्मानपत्रले सम्मान गरिएको थियो । पुरस्कारका लागि स्वर्गीय घनबहादुर लामिछानेको परिवारबाट स्मृतिकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।
यसरी नै क्या.मिनबहादुर गुरुङ (डाँफे बाजे) स्मृति पुरस्कारबाट लोकगीत संगीतमा लामो योगदान दिएका गायक, संगीतकार, नृत्य निर्देशक धनबहादुर गुरुङ १० हजार रुपैयाँसहित सम्मान पत्रबाट सम्मानित भए । पुरस्कारका लागि प्रतिष्ठानले क्या.मिनबहादुर गुरुङको स्मृतिमा छ्याँडु प्रतियोगिता आयोजना गरी कोष स्थापना गरिएको कोषाध्यक्ष कौशिला गुरुङले जानकारी दिए ।

यस्तैगरी कार्यक्रममा पार्वता स्मृति समाजसेवी सम्मान पुरस्कारबाट वरिष्ठ समाजसेवी मनबीर गुरुङ ढासा सम्मानित भए । प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार गिरीप्रसाद गुरुङ स्वर्गीय आमाको स्मृतिमा अध्यक्षकोष स्थापना गरी समाजसेवी, पत्रकार, चलचित्रकर्मीलाई पालैपालो सम्मान गर्दै आएका वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले बताए ।

यसरी नै लालशोभा उत्कृष्ठ आमा सम्मानबाट यस वर्ष तमु विद्यार्थीहरुमध्येबाट नेपालमै उत्कृष्ठ अंक प्राप्त गरी एसईई उत्तीर्ण गरेकी अन्नपूर्ण मावि सिक्लेसकी स्नेह गुरुङको आमा बेलसुवा गुरुङलाई सम्मान गरिएको थियो भने उत्कृष्ठ विद्यार्थी छात्रवृत्ति पवन गुरुङलाई २० हजार रुपैयाँ र दाता ज्ञाम गुरुङको तर्फबाट ४० हजार रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित तथा पुरस्कृतहरुलाई प्रमुख अतिथि महेन्द्रमान गुरुङ, कोषका दाताहरु र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रममा सम्मानितहरुको तर्फबाट तेजबहादुर चाक्ली र पवन गुरुङले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठान र अक्षय कोष दाताहरुप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममा गायक धनबहादुुर गुरुङ, निशा गुरुङ र नवगायिका एलिना गुरुङले गीत प्रस्तुत, विद्यार्थी समिति, सिक्लेस सभाथर दिदीबहिनी समूह र स्नेह गुरुङले नृत्य प्रस्तुत गरेका थिए भने स्नेह गुरुङले कविता वाचनसमेत गरेका थिए । तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!