बाँसुरी समूह यूके दूतावाससम्म

SHARE:

सेमन्त राई
२२ फेब्रुअरी, सन् २०१७ मा ‘बाँसुरी चौतारी बेलायत’ खडा भएयता लगातार हामी समूहमा रमाइरहेका छौं । साथीहरुको अनवरत साथ र सहयोगले ७ जुलाई, सन् २०१८ का दिन अल्डरसटको एम्पायर हलमा ‘बाँसुरी समुह यूके’ संशोधित नामले सार्वजनिक भयो । त्यो बेलादेखि नियमित रुपमा हामीले जाने, सिकेका धुनहरु एक आपसमा सुन्ने र सुनाउने प्रक्रिया लगातार हुँदै गइरहेको छ ।

विशेष गरेर हामी भरत लोहोरुंग, खडक क्षेत्री, सुरेन्द्र इङ्गनाम, दीपक चाम्लिङ र म सेमन्त राई आफ्नो सिकारु धुनहरु यो समूहमा शेयर गर्ने गर्दछौं । बेलायतको व्यस्तता र भौगोलिक दूरीका कारण चाहेर पनि हामी सबै समूहका साथीहरु एक ठाउँमा जम्मा भएर बाँसुरी बजाउन असम्भव छ । सबैले आआफ्नै कथाव्यथा बोकेर हिँडे पनि समय समयमा जम्मा भएर आफूले सिकेका धुनहरु प्रत्यक्ष रुपमा सुनाउने क्रम भने जारी नै छ । नियमित नभए पनि सालमा दुई पटक भेला भएर आफूभन्दा जान्नेहरुबाट सिक्ने प्रक्रिया नियमित नै छ । व्यक्तिगत तवरमा अनेक कार्यक्रमहरु जस्तै दसैं पार्टी, च्यारिटी पार्टी अथवा कुनै नेपाली कार्यक्रममा समय मिल्दा बाँसुरी बजाउने गरिन्छ ।

बाँसुरीको मोह साथै परदेशमा बस्दा स्वदेशी बाजाको माया मनमा रहेकाले गर्दा साथीहरुसँग भेटघाट भएर बाँसुरी बजाउँदाको मज्जै बेग्लै हुने गर्दछ ।
गाउँघरमा मलबाँसको टुप्पालाई नहर्नीले खोपेर बाँसुरी बनाएर बजाउने रहर पूरा गरेको मान्छे आज यसरी भारतको आसामबाट ल्याएको बाँसबाट बनेको विभिन्न स्केलको बाँसुरी बजाउन सिक्नु त्यति सजिलो त छैन । अझ फेरि आफैं गुरु आफैं चेला हुँदा झन् मुस्किल हुँदोरहेछ । भनेजस्तो नबज्दा बजाउँदिन जस्तो पनि लाग्छ अनि फेरि बजाउँबजाउँ लागेपछि कसरी नबजाउँ । सबैभन्दा महत्वपूर्ण कुरा आफूमा लगनशीलता र इच्छा भए थोरबहुत् रुपमा कला बढ्ने कुराको पुष्टि आजभन्दा केही साल पहिलेको भिडियो हेर्दा हुन्छ । समय पाउनासाथ घरमा बाँसुरी समातेर बजाउन पनि उपयुक्त समय मिल्नु पर्ने हुन्छ । घरपरिवारको काम, बच्चाको पढाई, छिमेकीलाई हल्ला हुने डर सबै कुरालाई विचार गरेरमात्र बाँसुरीको अभ्यास घरमा गर्नु पर्छ । नेपालमा भए यस्ता कुराहरुको कुनै पर्वाह हुने थिएन तर यो देशमा नोईज पोलुसनको पनि डर मान्नु पर्दछ । दिनभर थाकेर घर फर्कंदा शारीरिक र मानसिक तनावले ग्रस्त भएको बेला बाँसुरी बजाउँदा परिवारले नबुझी दिने हो भने कुनै हालतमा पनि बाँसुरीको धुन यसरी साथीहरुमाझ सुनाउन सम्भव हुँदैन । आफूले बजाएको धुन सुनाएर मिले नमिलेको प्रतिक्रिया लिने पहिलो ठाउँ नै परिवार हो । बाँसुरी सिक्नको लागि उपयुक्त समय र साथको उत्तिकै महत्व हुन्छ । म भने आफूलाई बाँसुरी बजाउन मन लागेपछि सुरुमा मधुरो बजाउँछु अनि विस्तारै स्वर बढाउँदै लाने गर्छु । त्यसो गर्दा एक्कासी तिखो आवाजले घरका सदस्यलाई झिजो नलाग्न सक्छ । हिजोआज त लाग्छ कतै बाँसुरीको आवाज र मेरो उपस्थिति उस्तै उस्तै हो कि ? अर्थात् म नै बाँसुरीको पर्याय । बाँसुरीको धुन सुन्न नपाउँदा घरका परिवारलाई समेत शुन्यताबोध लाग्न थालीसके जस्तो लाग्छ ।

म थोरै साहित्यमा पनि रुची राख्ने व्यक्ति भएकाले प्राय: सबै साहित्यिक कार्यक्रममा सहभागी हुने गर्दछु । आफू सहभागी भएको कार्यक्रममा सकेसम्म एउटा बाँसुरीको धुन सुनाउने प्रयत्न गर्छु । त्यो मेरो आफ्नै सोख पनि हो र त्यसलाई मैले सिकेको धुन प्राक्टिस गर्ने एउटा मौकाको रुपमा पनि लिने गर्दछु । सिकारु भएका नाताले बिग्रे पनि आजसम्म मैले माफी पाउँदै आइरहेको पनि छु । बेल्पाली साहित्यकारहरुको भेटघाटको क्रममा धेरै जना महानुभावहरुसँग चिनजान हुँदै गयो । मैले पनि कार्यक्रममा सहभागिता राख्दै बाँसुरीको सिकारु धुन सुनाउनेक्रम जारी राखें । सुन्ने महानुभावहरु सबैले राम्रो छ भनी दिनुहुन्छ अनि हौसिएर अझ सिक्ने उर्जा मिल्छ । यस्तो क्रम भएको झन्डै २ वर्ष भइसकेछ । गत अक्टोबर १३, सन् २०१९ का दिन अनेसास बेलायत च्याप्टरले आयोजना गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटा १११ औंं जन्मजयन्ती कार्यक्रममा मेरा परममित्र भरत लोहोरुंग र म सहभागी हुने मौका मिल्यो । सदाझैं एक ढुंगाले दुइवटा चरा मार्ने सोचले एक एकवटा कविता र बाँसुरीको धुन बजाउने सल्लाह भरतजीसँग भयो । मैले त्यो दिन कार्यक्रम सान्दर्भिक यात्री कविताको धुन ‘कुन मन्दिरमा जान्छौ यात्री’ बजाएको थिएँ । सो दिनको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी हुनुहुन्थ्यो ।

मैले बजाएको धुनको उहाँले प्रशंसा गर्दै वक्तव्यमा बाँसुरी समूह यूकेलाई दूतावासमा सम्मानपूर्वक बोलाउने कुराको घोषणा सार्वजनिक गर्नुभयो । हुन त, उहाँले विभिन्न साहित्यिक कार्यक्रममा मेरो बाँसुरी बादन सुरुका दिनदेखि नै सुन्दै आउनुभएको थियो । उहाँको घोषणापश्चात् बल्ल आफूलाई लाग्यो कतै मेरो बाँसुरी बादन अलि सुन्नलायक भएछ कि ? उहाँले दूतावासमा बोलाउने कुरा त भयो तर कहिले र कुन कार्यक्रममा बोलाइने भन्ने कुराको जानकारीपछि प्राप्त हुने सर्तमा मेरो नम्बर लिनुभयो । त्यसपछि लगत्तै यस कुराको जानकारी हाम्रो भाईबर समूहमा राखेर सबैलाई तयारी हुन आग्रह गरें । क्रमश:

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!