
लन्डन । बेलायत ईयू बहिर्गमनसम्बन्धी सम्झौता ‘बेक्जिट वीथड्रल एग्रीमेन्ट’ युरोपेली संसदले भारी मतले अनुमोदन गरेको छ ।
ब्रसेल्सको युरोपेली संसदमा बुधबार भएको मतदानमा ६२१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिए भने ४९ सांसद विरुद्धमा उभिए । १३ जनाले मत दिएनन् । युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीले मत परिणाम घोषणा गरेपछि सांसदहरुले प्राचीन स्कटिस गीत ‘अल्ड लाङ जाइन’ गाएका बीबीसीले जनाएको छ ।
सासोलीले ईयूका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गर्दै बेलायत ईयूबाट अलग्गिए पनि सधैं युरोपको भाग रहिरहने बताए । युरोपियन कमिसन अध्यक्ष युर्सुला भोन डेर लियनले सांसदहरुमाझ ईयू ब्रेक्जिटपछि पनि बेलायतसंग निकट साझेदारका रुपमा रहन चाहेको बताइन् ।
बेलायतबाट प्रतिनिधित्व गर्ने ७३ जना सांसदले भने युनियन झण्डा प्रदर्शन गरेर ईयूसंग बहिगर्मनको हर्षोल्लास गरेका थिए । विगत २१ वर्षदेखि युरोपेली संसदमा प्रतिनिधित्व गरिरहेका बेलायतस्थित ब्रेक्जिट पार्टीका नेता नाइजेल फराजले च्याम्बरमा अन्तिम मन्तव्य दिंदै अब ईयूसंग छुट्टिएपछि कहिल्यै नफर्कने बताए । ईयूका कट्टर विरोधी फराजले बेलायतबाट ईयूको बहिगर्मन आफ्नो जीवनकै उपलब्धि भएको पनि बताएका थिए । ब्रिटेनले ४७ वर्षदेखिको ईयू सदस्यता यही शुक्रबार राती ११ बजे त्याग्ने तयारी गरेको छ । त्यसपछि ११ महिना ‘संक्रमणकाल’ रहनेछ ।
यसअघि ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सले ब्रेक्जिट सम्झौता पारित गरिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट डिल औपचारिक रुपमा यूकेको कानून समेत बनेको छ । ‘वीथड्रल एग्रीमेन्ट एक्ट’ भनिने उक्त कानून गत बिहीबारदेखि लागू भएको हो । ब्रिटेनकी महारानीले संसदद्वारा पारित ब्रेक्जिट सम्बन्धि कानूनमा हस्ताक्षर गरेपछि बेलायतलाई ईयू छाड्न बाटो खुल्ला भएको छ ।






