एटा संवाददाता
अल्डरसट । रस्मुर बरो काउन्सिल र गोर्खा नगरपालिकाबीच औपचारिक कार्यक्रमका साथ भगिनी सम्बन्ध गाँसिएको छ ।

गत ३० जनवरीका साँझ साढे ६ बजे रस्मुर बरो काउन्सिलको कार्यालयमा बरो काउन्सिलकी मेयर सु कार्टर र गोरखा नगरपालिकाका मेयर राजनबाबु पन्तले सम्बन्ध पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्धलाई औपचारिक रुप दिएका हुन् । ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेको विशेष पहलमा दुवै स्थानीय निकायबीच मितेरी सम्बन्ध गाँसिएको हो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले गोरखा नगरपालिका र रस्मुर बरो काउन्सिलबीचको सम्बन्धले दुवै देशको जनताबीचको सम्बन्ध अझ निकट र गाढा हुने विश्वास व्यक्त गरे । उनले भिजिट नेपाल २०२० को सन्दर्भलाई कोट्याउँदै पर्यटकीय हिसाबले नेपाल अत्यन्त सुन्दर र शान्त भएको जिकिर गर्दै नेपाल भ्रमण गर्न स्थानीय ब्रिटिसहरुलाई अनुरोध गरे ।
कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख पन्तले नेपाल सगरमाथाको देश, वीर गोर्खाजहरुको देश भएको बताउँदै गोरखा नगरपालिकाको अवस्थाबारे चर्चा गरे । उनले गोरखा तत्कालीन शाह राजाको दरबार, भिक्टोरिया क्रस (भीसी) पदक बिजेता लगायत गोर्खाजहरुका जन्मस्थल भएको जनाए । उनले गोरखा नगरपालिका सांस्कृतिक, धार्मिक, भाषिक र भौगोलिक रुपमा साँच्चैको सुन्दर भएकोले गोरखा भ्रमण गर्न अनुरोध गरे ।
त्यस्तै, रस्मुर बरो काउन्सिलकी मेयर कार्टरले सो सम्बन्धबाट आफू अत्यन्त खुसी भएकी बताइन् । काउन्सिल डिलर डेविड क्लिफोर्डले दुवै निकायको सम्बन्धको प्रशंसा गरे ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर पन्तले रस्मुर बरो काउन्सिलकी मेयर कार्टर, उपमेयर, काउन्सिल लिडर क्लिफोर्ड, ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई, निवर्तमान अध्यक्ष जीव बेल्वासे लगायतलाई मायाको चिनो प्रदान गरे । त्यस्तै, रस्मुर बरो काउन्सिलकी मेयर कार्टरले गोरखा नगरपालिकाका मेयर पन्तलाई मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरन, मिलिटरी एटाची कर्णेल कुमार थापा, थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी, ब्रिगेड अफ गोर्खाजका मेजर रुद्र खड्का, क्याप्टेन गणेश गुरुङ, ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेका अध्यक्ष रामधन राई, निवर्तमान अध्यक्ष जीव बेल्वासे, पूर्वअध्यक्षहरु मधुकर गुरुङ, ओम थापा, रोहित गुरुङ, उपाध्यक्षहरु रन्जिता मल्ल, नेम थापा, माया केसी डंगोल र मान गुरुङ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, मुछेत्र गुरुङ, निवर्तमान अध्यक्ष योगकुमार फगामी, पूर्वआईसीसी सदस्य कुमारी गुरुङ, हन्स्लो बरो काउन्सिलका मेयर टोनी लौकी, काउन्सिलर बिष्णु गुरुङ, रस्मुर बोरो काउन्सिलका काउन्सिलर प्रवेश केसी, गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगर, गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजीत गुरुङ, स्थानीय नेपाली उद्यमी सूर्यप्रकाश गुरुङ, पुरन गिरी, शेर सुनार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सल्लाहकार लगायत सहभागी थिए ।
त्यस्तै, ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूके र गोर्खाली समाज यूकेले सोही ३० जनवरीको दिउँसो २ बजे गोर्खा नगरपालिकाका मेयर पन्त सहितको टोलीलाई अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको थियो ।
कार्यक्रममा गोर्खाली समाज यूके र ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेका पदाधिकारी तथा सल्लाहकारहरुको विशेष उपस्थिति रहेको थियो । ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेका अध्यक्ष रामधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष एवं कार्यक्रम संयोजक मान गुरुङले सञ्चालन गरेका थिए । रस्मुर बरो काउन्सिलअन्र्तगत रहेको अल्डरसट र फार्नबरो टाउन भूतपूर्व गोर्खाजहरुको बाक्लो बसोबास रहेको टाउनको रुपमा परिचित छ । साथै, मेलिटरी टाउनको रुपमा परिचित अल्डरसटमा अहिले क्युओजिएलआर गोर्खाली पल्टनसमेत रहेको छ । त्यस्तै, नेपालीहरुले पनि आफ्नो व्यापार तथा व्यवसाय गर्ने थलोको रुपमा अल्डरसटलाई रोजेका छन् ।
रस्मुर बरो काउन्सिल र गोर्खा नगरपालिकाबीच गाँसिएको भगिनी सम्बन्धले दुवै स्थानीय निकायको मात्र होइन नेपाल तथा बेलायतको सम्बन्धसमेत अझै गाढा हुँदै जाने र भिजिट नेपाल २०२० लाई समेत सफल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धेरैको विश्वास रहेको छ ।
भगिनी सम्बन्धमा हस्ताक्षर गर्नका लागि गोर्खा नगरपालिकाका प्रमुख राजनबाबु पन्त, नगरपालिकाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको टोली २९ जनवरी बुधबार लन्डन आएका थिए ।
त्यस्तै, आफ्नो व्यक्तिगत भ्रमणको क्रममा रहेकी सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा समेतको कार्यक्रममा सहभागिता थियो ।






