नेपाल घुम्न जाउँ भनेर व्यक्तिगत रुपमा भनिरहेको छु
तीलविक्रम साम्बाहाङ्फे
अध्यक्ष, किरात याक्थुङ चुम्लुङ यूके
बेलायतमा बस्ने लिम्बुहरुको साझा संगठन हो, किरात याक्थुङ चुम्लुङ यूके । बेलायतमा यसका विभिन्न शाखा समितिहरु पनि छन् । सन् २००३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ यूकेले बेलायतमा के गरिरहेको छ ?, चाँडै आयोजना हुने यलम्बरहाङ कप फुटबल प्रतियोगिता लगायत विषयमा अध्यक्ष एवं पूर्वब्रिटिस आर्मी तीलविक्रम साम्बाहाङ्फेसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।

किरात याक्थुङ चुम्लुङ यूके कस्तो संस्था हो ?
किरात याक्थुङ चुम्लुङ यूकेको ३ अगस्ट २००३ सालमा सल्स्बरी भन्ने ठाउँमा सानो कमिटी गठन भएको थियो । त्यतिबेला २६÷२७ जना सदस्यबाट गठन गरिएको चुम्लुङ यूकेको २०१० मा विभिन्न शाखाहरु खोल्न सुरु गरेका हौं । अहिलेसम्म १५ वटा शाखा पुगिसकेको छ भने त्यसभित्र दुई वटा एरिया कमिटी छन् । कुनै पनि कार्यक्रम केन्द्र र विभिन्न ब्रान्चहरु संगठित भएर सञ्चालन गर्ने गर्दछौं । सबैको सरसल्लाहदेखि हरेक काममा मद्दत लेनदेन गर्छौं ।
संस्था व्यवस्थापनका लागि केन्द्रको त जग्गा खरिद भइसकेको छ, हैन ?
जग्गा खरिदका लागि हामीले २०१० सालमा अभियान सुरु गरेका थियौं । लिम्बुहरुको चाड सिसेक्पा तङनाम (उधौली) को अवसर पारी सन् २०१८ सालमा १३ जुलाईमा हामीले जग्गा खरिदको सपना पूरा गर्यौं । जुन जग्गा २५.३३ एक्कड छ । मेडिस्टोन एल्डीन भन्ने ठाउँमा छ ।
तपाईंहरुले वार्षिक रुपमा कस्ता कार्यक्रमहरुलाई महत्वका साथ मनाउने गर्नुभएको छ ?
विशेषगरी किरात याक्थुङ चुम्लुङ यूकेले दुइटा महत्वपूर्ण चाड मनाउँदै आएको छ, उधौली, उभौली । सिसेक्पा तङनाम, यो साउन महिनामा पर्छ । यो चाडमा भव्य र सभ्य कार्यक्रम हुन्छ । ३ हजारदेखि ५ हजारसम्म मानिसहरु भेला हुने गर्छन् ।
अर्को चासोक तङ्नाम मनाउँछौं । यो चाहिँ मंसिर महिनामा पर्छ । यसलाई न्वागी पनि भनिन्छ ।
खेलकुदमा भने हामीले यलम्बरहाङ कप फुटबल प्रतियोगिता गर्छौं । यो अप्रिल महिनामा पर्छ । बिदाको समयमा पार्ने गरेका छौं यो कार्यक्रम । यलम्बर हाङ नै नाम गरेको व्याटमिन्टन टुर्नामेन्ट पनि गरिन्छ । यसको एकुरेट टाइम राखेका छैनौं । किनभने सानो आयोजक टिम गठन गरेका छौं । त्यसबाट भ्याएको समयमा गरिन्छ । व्याटमिन्टन अगस्टदेखि डिसेम्बरभित्र गरिसक्छौं ।
रिसेन्टली कुन कार्यक्रम छ त ?
अब हामी यलम्बर हाङ टुर्नामेन्ट गर्दैछौं । यो आउँदो अप्रिल १८ तारिखमा हुँदैछ । यसका लागि भर्खरै फेल्थाममा कोअर्डिनरी मिटिङ सम्पन्न भएको छ । यसको संयोजन उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले गर्दै हुनुहुन्छ । कप कसरी गर्ने, कतिवटा टिम सामेल गराउने लगायत टुंगो करिब लागेको छ ।
यलम्बरहाङ कप कहिलेदेखि सुरु गर्नुभएको हो ?
यो सन् २००८ मा हामीले सुरु गरेका हौं । त्यो बेलामा म कोषाध्यक्ष थिएँ । संस्थापक अध्यक्ष हुनुहुन्थ्यो, बमबहादुर लिबाङजी । आउँदो अप्रिलमा हुने यलम्बरहाङ कप १३ औं संस्करण हो । यो फेल्थाममा हुनेछ ।
यलम्बरहाङमा विशुद्ध फुटबलमात्रै प्रतियोगिता हुने हो ?
हो । यसमा तीन किसिमका फुटबल टिम हुन्छन् । जस्तै मेन, वुमन, भेट्रान, उपभेट्रान भन्छ । प्रोत्साहन दिनका लागि गत वर्ष लेडिजलाई पनि सहभागी गरेका थियौं । यसपाला पनि लेडिजलाई सहभागी गराउँछौं ।
प्रसंग बदलौं, बेलायतमा खुलेका धेरै संस्थाहरुले मातृभूमि नेपालमा थुप्रै खालका सहयोग पुर्याउँदै आएका छन् । किरात याक्थुङ चुम्लुङ यूकेको त्यतातर्फ कत्तिको ध्यान पुगेको छ ?
किरात याक्थुङ चुम्लुङले विशेषगरी नेपालमा २०७२ सालमा गएको शक्तिशाली भूकम्पको बेला पनि सहयोग गरेको थियो । लगत्तै ताप्लेजुङमा भीषण बाढी गयो । त्यसका पीडितलाई पनि हामीले संस्थागत सहयोग गर्यौ । त्यस्तै, नेपालमा आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीहरुको सहयोगको लागि अपिल हुँदा हामीले चन्दा उठाएर दिने गरेका छौं । बिरामी लाखौं हुन्छन् । किरात याक्थुङ चुम्लुङ नेपालबाट सिफारिस भएर आएकालाई चन्दा उठाएर सहयोग गर्ने गर्छौं ।
किरात याक्थुङ चुम्लुङ नेपालले अक्षय कोष स्थापना गरेको छ । त्यसका लागि पनि हामीले पहल गरिराखेका छौं । सहयोग राम्रै तरिकाले उठिरहेको छ । हामीले दिनुपर्ने ठाउँमा मद्दत दिइराखेका छौं ।
प्रवासी सामाजिक संगठनहरु युवामैत्री भएन भन्ने आवाज सुनिन्छ । तपाईंहरुको संस्थामा युवा उपस्थिति र उनीहरुलाई समेट्ने योजना के बनिरहेको छ ?
हाम्रोमा अलि ग्याप छ । सबैलाई थाहा छ, पुराना र नयाँको सिद्धान्त, विचार फरक हुन्छ । त्यसकारण अलि ग्याप भएकै हो ।
मलाई लाग्छ, उहाँहरुको विचार र चाहनालाई पनि बुझ्न जरुरी छ । हाम्रो विचार, योजनालाई पनि उहाँहरुले बुझ्न जरुरी छ । सँगै गयौं भने राम्रो हुन्छ । विगतमा पनि हामीले प्रयास गरेका थियौं, सफल भएनौं । अब पनि युथ फोरम खोल्ने योजना छ । यही महिनाभित्र खोल्ने प्लान गरिराखेका छौं । उहाँहरु र हामीबीच विचारलाई छलफल गरी लग्यौं भने राम्रो हुन्छ । हामी सधैंभरि बसिँदैन, उहाँहरु (नयाँपुस्ता) लाई हस्तान्तरण गर्नुछ नेतृत्व । त्यसैले उहाँहरुलाई समेट्नु राम्रो हो, समेट्नु पर्छ ।
किरात लिम्बु भाषा, संस्कार जोगाउने विषयमा चाहिँ संस्थाले केही गरिरहेको छ ?
२०१० सालमा हामीले लिम्बु भाषाको किताब निकालेका थियौं केन्द्रबाट । जुन पुस्तक गैरलिम्बुले पनि पढ्न सक्ने थियो । केन्द्रले भन्दा आसफोर्ड र थरक ब्रान्चले परिचालन गरेको थियो, भाषा लेख्ने, पढ्न सिकाउने । तर, यसमा केही कठिनाइ आयो । गर्छु र सिक्छु भनेर आउनेहरुको कमी । हामीले पनि गर्यौं, सिकाउनेभन्दा सिक्ने मान्छे नआउनुलाई समस्याको रुपमा लिएको छु ।
कक्षा चलाए पनि सिक्ने मान्छे नआउँदा विदेशमा भाषा लोप हुँदै गएको हो कि भन्ने लागिरहेको छ । सायद पढ्ने, कामको व्यस्तताले होला । किरातीहरुमा यस्तो समस्या छ भने अरुकोमा पनि त्यस्तै होला सायद । कसको कमजोरी हो, औंल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
शाखा समितिहरु चाहिँ कुन कुन ठाउँहरुमा छन् ?
कुनै पनि इलाकामा २० घरभन्दा बढी लिम्बु छन् भने त्यहाँ शाखा खोल्न सकिन्छ । यो विधानमै व्यवस्था छ । जहाँ लिम्बुहरुको बसोबास छ, त्यस्ता ठाउँहरुमा शाखा खोलेका छौं । जस्तै वेल्स, स्वीन्डन, अक्सफोर्ड, रिडिङ, बेजिङस्टोक, रस्मुर, गे्रटर लन्डन, वेस्ट केन्ट, केन्टबरी, आसफोर्ड, फोक्सटन, कोलचेस्टर, थोरकलगायत गरी १५ वटा ब्रान्च छन् ।
बेलायत आइ बसोबास गरिरहेका सबै लिम्बुहरुलाई समेट्न सक्नु भएको छ कि बाँकी ?
अहिलेको स्थितिमा हेर्दा सबै ब्रान्चहरुमा लिम्बुहरुको उपस्थिति राम्रै छ । तर हातका सबै औंला बराबर नभएजस्तै सबै ठाउँमा एउटै छैन । बहुसंख्यक लिम्बुहरु संगठित भइसक्नुभएको छ ।
बेलायतमा लिम्बुहरुको संख्या कति रहेको अनुमान छ ?
मेरो अनुमान र २०११ को बेलायती तथ्यांकअनुसार २० हजार लिम्बुहरु छन् । चुम्लुङ यूकेमा २१ सय नाघीसकेको छ सदस्यहरु । लगभग साढे २ हजार जति लिम्बु परिवारहरुका घर छन् ।
तपाईं पूर्वब्रिटिस आर्मीको हुनुहुन्छ । कति वर्ष काम गर्नुभयो ?
म १९८१ मा भर्ती भएको थिएँ । जम्मा १९ वर्ष सेवा गरेर २००० लाग्दोमा अवकाश भएको हुँ ।
सेवाकालमा कुन कुन देशमा समय बिताउनु भयो र बेलायतमा कहिलेदेखि हुनुहुन्छ ?
अवकाशपछि बोसनियाको कोसोभो गएको थिए । त्यहाँ तीन सालजस्तो बिताएँ । त्यसपछि अफगानिस्तान गएर केही समय बिताएँ । र, क्रोजिङमा गएँ । सन् २००६ देखि भने बेलायतमा छु ।
यो तपाईंको जीवनको तेस्रो करियर । बेलायतमा १४ वर्षको अवधि कसरी बिताइरहनुभएको छ ?
सन् २००६ पछि म अल्डरसटमै आएर केही समय बिताएँ । त्यसपछि बेजिङस्टोक सरेँ । संघसंस्थामा २००६ सालमै आबद्ध भएँ । एकैचोटि ६÷७ वटा संस्थामा पनि बसियो । त्यतापट्टि निकै बिजी भएँ । त्यसपछि आफ्नो काम, रुचिको विषय व्याटमिन्टन, रनिङ गरेर बस्थेँ । अहिले पनि व्यस्त समय नै बिताइरहेको छु ।
खेलकुदमा आबद्ध पल्टनदेखि नै कि ?
म पल्टनदेखि नै खेलकुदमा थिएँ ।
कस्तो खालको रनिङमा सहभागी हुनु भयो ?
रनिङ एकदमै राम्रो खालको एक्सरसाइज हो । यसले स्वास्थ्यका लागि के बेनिफिट पाउँछ भन्ने कुरा इन्टरनेटमा खोजेर पनि पाउन सकिन्छ । पहिले पनि रनिङ गर्थें । यूके आएपछि त निरन्तररुपमा गर्दै आएको छु । जस्तो, हाफ म्याराथन ३०, ३५ वटा गरिसकेँ । १० किलोमिटरको २५, ३० वटा गरिसकेँ । ५ किलोमिटर त भन्नै परेन । त्यो त गनेरै साध्यै छैन । फुलम्याराथनचाहिँ ५ वटा कम्प्लिट गरेँ । छैटौंको तयारीमा छु । मेरो अविष्मरणीय म्याराथनचाहिँ चाइना ग्रेटवालमा भयो ।
भनेपछि म्याराथनमा पनि समय बितिरहेको हुन्छ ?
हेल्थ इज वेल्थ भन्छ । हेल्थ राम्रो भएन भने काम गर्न, खाना सकिँदैन । जीवन राम्ररी अगाडि बढ्न सक्दैन । त्यो भएर व्यायाम गरौं । म आपैंm हेल्थमा ध्यान दिएर फुर्सदको समय दौडिने गरेको छु ।
बेलायतमा एनआरएनए छ । अहिले प्रवासी नेपालीहरुको नागरिकता निरन्तरताको विषय उठिरहेको बेला किरात याक्थुङ चुम्लुङ यूकेले यसबारेमा के पहल गरिरहेको छ ?
किरात याक्थुङ चुम्लुङ यूकेले संस्थागत रुपमा यस विषयमा पहल गरेको छैन । तर, एनआरएनएलाई सहयोग गरेका छौं । अभियानचाहिँ चलाएको छैन ।
नेपाली दूतावास लन्डनले भिजिट नेपाल २०२० मा एक लाख बेलायती पर्यटक नेपाल पठाउने उद्घोष गरेको छ, तपाईंहरुको संस्थाले के योगदान दिन्छ यसमा ?
हाम्रा सूचना सर्कुलर गर्ने ग्रुपमा यसबारे जानकारी गराइरहेका छौं । संस्थाले गरेको छैन । त्यत्ति धेरै ज्ञान नभएर हुन सक्छ । व्यक्तिगत रुपमा म्यासेज आदानप्रदान भइरहेको छ । नेपाल घुम्न जाउँ भनेर व्यक्तिगत रुपमा भनिरहेको छु । गर्नुपर्छ ।
संस्थाको अब के कुरामा प्राथमिकता हुन्छ ?
संस्थाले धेरै काम गर्नुपर्ने छ । चुम्लुङ देन (जग्गा) किनेको छ । यस्ता थुप्रै प्रोजेक्टहरु गरिराखेका छौं । सानो प्लान छ । त्यसको मेनटेन, बिजुली पानीको प्रोजेक्ट पूरा गर्नुपर्ने छ । त्यस्तै हाम्रो जातीय रीतिरिवाजका लागि पनि धेरै काम गर्नुपर्ने छ । जुलाईमा मनाइने चाडअगाडिको यलम्बर कपलाई फोकस गरिरहेका छौं । यलम्बर हाङ हाम्रो राजा हो । यो कपलाई सफल बनाउने हाम्रो प्रयास चलिरहेको छ । आशा गरौं, सफल हुनेछ यसपालि । संस्थाको विधान संशोधनको कुरा पनि भइरहेको छ । कसरी राम्रो गरौं भन्नेमै लागिरहेका छौं ।






