काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए ।

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित भएका उपाध्याय दुईपटक कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बनेका थिए ।
लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहेका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उनको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताए ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभाको शुक्रबारको बैठकले नेपाली काँग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेका उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले दिवङ्गत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । नेता उपाध्याय सरल एवं भद्र व्यक्तित्वको रूपमा परिचित, सामाजिककार्य एवं लोकतन्त्रका स्थापनाका आन्दोलनमा सदैव अग्रपंक्तिमा सक्रिय थिए ।
क्यान्सर रोगका कारण नेता उपाध्यायको ५१ वर्षको उमेरमा शुक्रबार बिहान उपचारका क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३ गते ११ बजे बस्नेछ ।






